१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशी लगानीको पहिलो पाँचतारे रिसोर्ट सञ्चालनमा

काठमाडौं – नेपालमा विदेशी लगानी स्थापना भएको पहिलो पाँचतारे स्तरको रिसोर्ट सञ्चालनमा आएको छ । यो रिसोर्ट राजधानी बाहिरकै पहिलो पाँचतारे रिसोर्ट समेत हो। 

मुलुकको पर्यटन उद्योगले विस्तारै गति लिइरहेका बेला ५ करोड २० लाख अमेरिकी डलर (५ अर्ब २० करोड रुपैयाँ) बराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट सञ्चालनमा आएको हो । यो रिसोर्टलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले पाँचतारे स्तरको प्रमाणपत्र प्रदान गरेको छ। 

अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्ट ‘सफ्ट ओपनिङ’ भएको हो । रिसोर्टको नाम ‘टाइगर प्यालेस रिसोर्ट’ राखिएको छ । पहिलो चरणमा १ सय कोठा सञ्चालनमा ल्याइएको छ भने दोस्रो चरणमा थप ३ सय कोठा पाहुनाका लागि तयार हुने तथा सबै कोठा ‘डिलक्स’ हुने रिसोर्ट सञ्चालकले जानकारी दिएका छन्।

‘विनाशकारी भूकम्पपछि पर्यटन उद्योगले ठूलो क्षति बेहो¥यो र विस्तारै अगाडि बढिरहेको छ । पर्यटन उद्योगमार्फत अर्थतन्त्रमा थप योगदान दिनुपर्छ भनेर रिसोर्ट सञ्चालनमा ल्याएका हौं,’ उक्त ग्रुपको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले बुधबार नागरिकसँग भने, ‘आतिथ्य सत्कार उद्योगमा हाम्रो रिसोर्टले भिन्नै पहिचान दिने विश्वास छ।’

बजगाईंका अनुसार रिसोर्टमा तत्काल करिब ३ सयजनाले रोजगारी पाएका छन् । तिनमा अधिकांश स्थानीय र अनुभव नभएकालाई प्राथमिकता दिएर तालिम दिलाएर दक्ष बनाएपछि रोजगारी दिइएको हो । रिसोर्टको म्यानेजर तहमा ५० जना विदेशीले काम गर्नेछन् भने बाँकी सबै नेपाली र त्यसमा पनि स्थानीय हुनेछन्।

उनका अनुसार रिसोर्टमा पूर्णरूपमा तयार भएपछि न्यूनतम १ हजार ५ सयदेखि १ हजार ८ सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यसमध्ये ९५ प्रतिशत जनशक्ति स्थानीय नै हुनेछन् । रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ । रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ।  

रिसोर्टमा ४ सय कोठाबाहेक दुईवटा ‘भिल्ला’ पनि निर्माण गरिनेछन् । प्रत्येक भिल्लामा ३ कोठा, भान्छादेखि सौना, ज्याकुजीलगायत सबै सुविधा उपलब्ध हुनेछन् । रिसोर्टको डिजाइनअनुसार २० वटा कोठा र पौडी पोखरी (स्विमिङ पुल) एकआपसमा जोडिएका छन् । पाहुनाले कोठाबाट सिधै स्विमिङ पुलमा ‘डाइभ’ हान्न सक्छन्। 

‘पाँचतारे होटलमा हुने सबै सुविधा हाम्रो रिसोर्टमा उपलब्ध छन्,’ बजगाईंले भने, ‘सफ्ट ओपनिङमै आशालाग्दो बुकिङ भएका कारण हामी उत्साही छौं । बुद्ध जन्मस्थल लुम्बिनी र त्यस क्षेत्रमात्र नभई मुलुककै पर्यटन उद्योगमा उत्कृष्ट हुने लक्ष्य छ।’

रिसोर्टले बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गरेको छ । प्रतिरात प्रतिकोठा २ सय अमेरिकी डलरमा बिक्री गर्ने योजना रिसोर्ट व्यवस्थापनको छ । यो मूल्य १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक हो । रिसोर्टको पूर्णरूपमा तयार भएपछि कोठाको मूल्य अझ यकिन हुने बजगाईंले बताए।

‘हामीले विगतमै रिसोर्ट सञ्चालनमा ल्याउने गरी काम गरिरहेका थियौं,’ उनले भने, ‘तर, भूकम्प र लगत्तै भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य सुस्त हुन पुग्यो र त्यसमाथि हामीले रिसोर्टको डिजाइन पनि परिवर्तन गरेपछि झन् ढिला हुन पुग्यो।’

रिसोर्टले गर्ने कूल आम्दानीको दुई प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाघ संरक्षणका लागि खर्च गर्ने उद्देश्य लिएको छ । ‘हाम्रो रिसोर्टले वार्षिक जति कमाउँछ त्यसको दुई प्रतिशत हिस्सा संरक्षण सूचीमा रहेको जंगली जनावर बाघको संरक्षणमा खर्च गर्छौं,’ उनले भने, ‘त्यही भएर रिसोर्टको नाम टाइगर प्यालेस राखेका हौं ।’   
रिसोर्टसँगै रहेको सामुदायिक वनसँग सहकार्य गरी केही सामाजिक काम गर्ने योजना पनि रिसोर्टले बनाएको छ। रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फन पार्कलगायत विभिन्न आकर्षण रहनेछन्।

बजगाईंका अनुसार रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ । यो चेनले हाल लाओस, फिलिपिन्स, भियतनाम, कम्बोडिया, गुआम आइल्यान्डलगायत देशमा ३३ वटा रिसोर्ट सञ्चालन गरिरहेको छ । रिसोर्ट निर्माणको काम अमेरिकाको हार्वर्ड बिजनेस स्कुलका स्कलर ह्यु होल्म्सले हेरेका थिए। 

‘यसखालको रिसोर्टले नेपालको पर्यटन उद्योगमा नयाँ विशेषता थप्ने छ भने अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनि छुट्टै सकारात्मक सन्देश जाने छ,’ उनले भने, ‘विदेशी कम्पनीको वृहत लगानीमा निर्माण भएको र उनीहरूकै व्यवस्थापनमा सञ्चालन भएका कारण नेपालमा थप विदेशी लगानी आकर्षित गर्न उल्लेख्य मद्दत पुग्ने विश्वास छ।’

सिल्भर हेरिटेज ग्रुपले यो रिसोर्टसहित राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा क्यासिनो सांग्रिला सञ्चालन गरिरहेको छ । बजगाईंका अनुसार ग्रुपको सञ्चालक समितिले नेपालमा पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ । यसमा क्यासिनो सांग्रिला, भैरहवामा टाइगर प्यालेस रिसोर्ट, विभिन्न ठाउँमा पाँचतारे होटल, जलविद्युत आयोजनासम्म छन् । लगानी वृद्धि गर्दै ३० अर्बसम्म पुर्‍याउने ग्रुपको लक्ष्य छ । सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो। 

प्रकाशित: १४ मंसिर २०७४ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App