स्मार्ट कि सस्टेनेबल सिटी ?

मङ्गलबार, १२ मङि्सर २०७४, ०९ : ०७ डा. उत्तमबाबु श्रेष्ठ

स्थानीय निर्वाचनपछि स्मार्ट सिटी (स्फूर्त सहर) शब्दको प्रयोग व्यापक रूपमा बढ्न थालेको छ । निर्वाचनमा उम्मेदवार र सम्बद्ध राजनीतिक दलहरूले स्मार्ट सिटीको भाष्य (न्यारेटिभ) लाई जनमानसमा भिजाउने र भजाउने काम गरे । स्मार्ट सिटीको अवधारणा र त्यसप्रतिको बुझाइमा भने नेपालका विभिन्न राजनैतिक नेताहरू र विज्ञहरू मात्रै होइन, विश्वभरका विज्ञहरू बीच पनि मतैक्य र स्पष्टता छैन ।

स्मार्ट सिटीको समग्र वातावरणीय प्रभाव शून्य वा अत्यन्त न्यून हुन आवश्यक छ । सहर स्मार्ट (स्फूर्त) त्यतिबेला मात्रै हुन्छ, जब त्यो पर्यावरणीय हिसाबले सस्टेनेबल (दिगो) हुन्छ ।

यो अवधारणा क्रमशः परिष्कृत र विकसित हुँदै गइरहेको छ । विश्वमा दुई दशक पहिले नै स्मार्ट सिटीको बहस थालिए पनि यसको निर्माण भने केही वर्ष पहिलेदेखि मात्रै थालिएको हो । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि २०१५ अगस्टमा उनले भारतका १०० वटा सहरलाई एकै पटक स्मार्ट सिटीमा बदल्ने योजना सार्वजनिक गरेपछि स्मार्ट सिटीको भाष्यले दक्षिण एसियामा मात्रै होइन, विश्वभर नै व्यापक प्रचारप्रसार पायो । त्यसपछि छिमेक भारतमा बगेको स्मार्ट सिटीको हावा नेपालमा पनि बहन थाल्यो । यद्यपि नेपाल सरकारले स्मार्ट सिटीको अवधारणा सन् २०१२ मा ‘लुम्बिनी शान्ति सहर’को गुरुयोजना बनाउने क्रममा ल्याएको थियो । यसपालि स्मार्ट सिटी बनाउन बजेटसमेत विनियोजन भएको छ ।
बजेटमा उल्लेख भएअनुरूप सहरी विकास तथा भवन निर्माण विभागले स्मार्ट सिटी निर्माणका लागि छानिएका १३ ठाउँमध्ये पालुङटार, लुम्बिनी र निजगढका लागि परामर्शदाता छनौट गर्ने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको बताएको छ । त्यसबाहेक धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे उपत्यका, भरतपुर, तुल्सीपुर, टिकापुर, वालिङ, दुल्लु, अमरगढी नगरपालिकालाई पनि स्मार्ट सिटीमा विकास गर्न परामर्शदाता छनौट प्रक्रिया बढिरहेको छ । छनौट हुने परामर्शदाताले नै नेपालको सन्दर्भमा स्मार्ट सिटी कस्तो हुनेछ भनेर मोडालिटी तयार पार्नेछन् । त्यसैको आधारमा आगामी २० वर्षमा स्मार्ट सिटीहरू बनाइने लक्ष्य छ ।
के हो स्मार्ट सिटी ?
स्मार्ट सिटी बुझ्नलाई हिजोआज सहरदेखि फोनसम्म र घरदेखि चर्पीसम्म विभिन्न नामको अगाडि जोडिने ‘स्मार्ट’लाई बुझ्नुपर्छ । यसरी जोडिने स्मार्टको अर्थ शब्दकोशमा भेटिनेभन्दा भिन्न छ । सेलफोनदेखि स्मार्टफोनसम्मको क्रमिक विकास नियाल्दा स्मार्टको अर्थ बुझ्न सहज हुन्छ । परम्परागत सेलफोनमा जब सफ्टवेयर र हार्डवेयर भएको व्यक्तिगत कम्युटर मिसियो, त्यसले संगीत बजाउने, फोटो÷भिडियो खिच्ने, इन्टरनेट÷इमेल चलाउने, जिपिएसमार्फत स्थान पत्ता लगाउने लगायतका थुप्रै काम एउटै डिभाइसले गर्न सक्ने भयो । र त्यसलाई स्मार्टफोन भन्न थालियो । त्यसैले स्मार्ट हुनु भनेको अत्याधुनिक प्रविधिको सहायतामा कम स्रोतमा धेरै कुरा एकीकृत रूपमा गर्न सक्षम हुनु हो । त्यस अर्थमा प्रविधि, सूचना र तथ्यांकको प्रयोगले पूर्वाधार निर्माण र रोजगारीको सिर्जना गरी नागरिकको आय बढाउँदै सार्वजनिक सेवासुविधालाई चुस्त, पारदर्शी र सहज बनाएर वातावरणीय सन्तुलन कायम राख्दै बसोवास गर्ने नागरिकको जीवनको गुणस्तर उच्च हुने भविष्यको सहरको परिकल्पना हो, स्मार्ट सिटी ।
राष्ट्रिय योजना आयोगले तयार पारेको ११ पेज लामो अवधारणापत्रमा नेपालका स्मार्ट सिटीका चार विषेशता र विभिन्न सूचकहरूको पहिचान गरिएको छ । स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थव्यवस्था नेपाली स्मार्ट सिटीका विषेशता हुन् । स्मार्ट जनताका सूचकहरूमा समावेशीकरण, शिक्षा, स्वास्थ्य, सिर्जनशीलता, सुरक्षा छन् भने, स्मार्ट शासनअन्तर्गत सूचना प्रविधि पूर्वाधार, अनलाइन सेवा, पारदर्शी र खुला सरकार र पहिचान जस्ता चार मुख्य सूचकहरू छन् । नवीनता र उद्यमशीलता, उत्पादनशीलता र रोजगारी सिर्जना, हरित व्यवसाय स्मार्ट अर्थव्यवस्थाको सूचकका रूपमा अथ्र्याएको छ भने, स्मार्ट पूर्वाधारअन्तर्गत यातायात, ऊर्जा, आवास तथा भवन, सहरी सेवा सुविधाका पूर्वाधार, सामाजिक पूर्वाधार, हरित पूर्वाधार, सुरक्षा पूर्वाधार जस्ता सूचकहरूलाई समावेश गरिएको छ । समग्रमा नेपालको स्मार्ट सिटी प्रविधिले एकीकृत, समावेशी, उत्पादनशील, उद्यमशील, पूर्ण व्यवस्थित सहरको परिकल्पना हो ।
स्मार्ट सिटीको आवश्यकता
हाल विश्वको कुल जनसंख्याको ५५ प्रतिशत मानिस सहरमा बस्छन् । राष्ट्र संघको आंकलन अनुसार, सन् २०५० सम्ममा विश्वभर करिब ७० प्रतिशत जनसंख्या सहरिया हुनेछन् । हाल नेपालमा पनि सहरी क्षेत्रमा बसाइँ सर्ने र सहरीकरणको प्रक्रिया तीव्र गतिले बढ्दो छ । विगत चार दशकदेखि प्रतिवर्ष ४ प्रतिशतले जनसंख्या बढिरहेको काठमाडौँ सहर दक्षिण एसियाकै तीव्र सहरीकरण भएको सहर मानिन्छ । हाल नेपालको एक चौथाइ जनसंख्या सहरमा बस्छन् । पछिल्लो समयमा थुप्रै नगरपालिकाहरू थपिएपछि सहरप्रतिको आकर्षण थप चुलिएको छ । त्यसैले भविष्यमा विश्वभर मात्रै होइन, नेपालमा पनि सहरी जनसंख्या निकै बढ्ने अनुमान गर्न सकिन्छ ।
बढ्दो तर अव्यवस्थित सहरीकरणले नेपाल र अन्यत्र पनि थुपै्र समस्या निम्त्याएका छन् । विश्वका ठूला सहरहरू हरितगृह ग्याँस उत्सर्जनको जननी मानिन्छन् जसको कारण जलवायु परिवर्तन भएको छ । नयाँ पुराना सहरमा थपिएका चुनौतीहरू (बढ्दो जनसंख्यालाई गुणस्तरीय सेवा सुविधा दिन, अपराध घटाउन र सहरको कार्बन पदचाप घटाउन) सम्बोधन गर्न स्मार्ट सिटीको परिकल्पना गर्न थालिएको हो ।   
तर नेपालका विद्यमान सहरहरू स्मार्ट हुन त परै जाओस् बस्नयोग्य पनि बन्न सकेका छैनन् । रोजगारी र शैक्षिक अवसरहरू र सार्वजनिक  सेवासुविधा गाउँका तुलनामा बढी भए तापनि हाम्रा सहरहरू नागरिकको जीवनको गुणस्तर उकास्न भने पूर्ण विफल भएका छन् । काठमाडौँ लगायतका सहरहरूमा पानी र ऊर्जाको अभाव, कमजोर ढल र फोहोर व्यवस्थापन, सार्वजनिक यातायात र सडकको दुरवस्था, अव्यवस्थित बस्ती, पार्क, हरियाली र खुला ठाउँको अभाव, वायु र जल र ध्वनि प्रदूषणजस्ता समस्या विद्यमान छन् । हाम्रो सहरीकरणले कृत्रिम वातावरण र पर्यावरणलाई सखाप पारेर मानवीय जीवनका आधारभूत कुराहरू नष्ट पारिदिएका छन् । एकातिर हामीसँग सहरीकरणको यस्ता नकारात्मक अनुभव छन् भने अर्कातिर विश्वभर अहिले ऊर्जा संकट, बालुवा लगायत निर्माण सामग्रीको अभाव र हरितगृह ग्यास उत्सर्जन बढ्दो छ । ती चुनौतीको हल गर्न पनि स्मार्ट हुनुको विकल्प छैन ।
प्रविधिभन्दा पर
सहर भनेको अत्याधुनिक प्रविधि, पूर्वाधार, पिपल (जनता), पर्यावरण सबैको एकिकृत रूप हो । तर नेपाली स्मार्ट सिटीको अवधारणामा प्रविधि, पूर्वाधार र पिपल प्राथमिकतामा परे पनि पर्यावरण पछि परेको देखिन्छ । योजना आयोगको सूचकहरूमा हरित व्यवसाय, हरियाली र खुला ठाउँ, नवीकरणीय ऊर्जाका पर्यावरणीय सूचकहरू समावेश भए तापनि जैविक विविधताको संरक्षण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई बेवास्ता गरिएको पाइन्छ । त्यसमा कार सेयरिङलाई एक सूचक मानिएको छ, तर वातावरणमैत्री साइकल सेयरिङ अटेको छैन । जब कि हाल स्मार्ट सिटी भनिने विश्वका सहरहरूमा प्रविधिको सहायतामा गरिएका जैविक विविधता संरक्षण र साइकल सेयरिङ उदाहरणीय मानिन्छ ।
प्रविधिले मानव जीवनमा सहजता थप्छ र मानव निर्णयलाई सघाउँछ ।  मानिसको व्यवहारमा परिवर्तन ल्याउन प्रविधि सहयोगी हुन्छ । जस्तै ट्राफिक जामको सूचना स्मार्टफोनमा उपलब्ध भएमा हामी घरबाहिर ननिस्कने निर्णय गर्छाैं । सहरमा अपराध नियन्त्रण, ट्राफिक सञ्चालन, मानवीय उद्धार आदिमा प्रविधि निकै सहयोगी हुन्छ । तर प्रविधिको प्रयोगले सीमान्तकृत व्यक्ति वा समुदायलाई झनै सीमान्तीकृत बनाउने पनि खतरा हुन्छ । सबै कुरा मोबाइल एपमार्फत गर्नसकिने बनाएपछि मोबाइल एप चलाउन नजान्नेले त्यो सेवा सुविधाबाट वञ्चित हुने सम्भावना पनि रहन्छ । त्यसकारण स्मार्ट सिटीका लागि आमजनताको सहभागिता र उनीहरूको व्यवहारमा रूपान्तरण झनै महत्वपूर्ण हुन्छ ।
भविष्यका स्मार्ट सिटीमा प्रयोग हुने सेन्सरहरूले, जडान गरिने निगरानी क्यामेराहरूले पानी वा ऊर्जाको बचत गर्न, फोहोरलाई उचित ठाउँमा फाल्न, ट्राफिक नियमको पालना गर्न नागरिकलाई बाध्य पार्नेछ । तर त्यस्तो पूर्वाधार बन्न वर्षौं लाग्न सक्छ । तर हामीले निश्चित ठाँउमा फोहर फाल्ने, ट्राफिक नियमको पालना गर्ने, ऊर्जा र पानीको बचत गर्ने व्यावहारिक परिवर्तन सेन्सरविना नै गर्नसक्यौँ भने अहिलेका सहरहरू पनि बिस्तारै स्मार्ट बन्नतिर लाग्नेछन् । अहिलेको त्यस्तो व्यावहारिक रूपान्तरणले भविष्यमा प्रयोग हुने प्रविधिसँगको साक्षात्कार अनुकूलनमा सहयोग गर्नेछ ।
अन्त्यमा, स्मार्ट सिटीको हालको अवधारणागत कमजोरी भनेको त्यसमा समावेश विभिन्न सूचकहरूले प्रविधिको प्रयोग र त्यसको कार्यक्षमता मात्रै हेर्छ, त्यसको प्रभाव मूल्यांकन गरेको पाइँदैन । त्यसकारण स्मार्ट सिटीका सूचकहरूमा सामाजिक र वातावरणीय प्रभावका सूचकहरू पनि समावेश गर्न आवश्यक छ । उदाहरणका लागि, स्मार्ट मिटरको प्रयोगले त्यसको जीवनभर बचाउने इन्धनभन्दा त्यसलाई बनाउन लाग्ने इन्धन धेरै भएमा त्यसको प्रयोग गर्नु व्यर्थ हुन्छ । त्यसकारण स्मार्ट सिटीमा प्रयोग हुने प्रविधि वातावरणमैत्री हुन आवश्यक छ । नयाँ स्मार्ट सिटी बनाउन प्रयोग गरिने निर्माण सामग्रीको दोहनले अन्यत्र ठूलो पर्यावरणीय संकट ल्याएको छ भने त्यसरी बनाइने सिटी स्मार्ट हुनसक्दैन । त्यसैले, स्मार्ट सिटीको समग्र वातावरणीय प्रभाव शून्य वा अत्यन्त न्यून हुन आवश्यक छ । सहर स्मार्ट (स्फूर्त) त्यतिबेला मात्रै हुन्छ, जब त्यो पर्यावरणीय हिसाबले सस्टेनेबल (दिगो) हुन्छ । कुनै पनि कुरा दिगो हुनका लागि उत्पादनका साधनहरूले भविष्यमा पुनरुत्पादन हुने क्षमतालाई जोगाइराख्न पछ । त्यसकारण सिटी स्मार्ट मात्रै भएर पुग्दैन सस्टेनेबल पनि हुनुपर्छ । आखिर सस्टेनेबल सिटी राष्ट्रसंघीय दिगो विकासको १७ लक्ष्यमध्ये एउटा प्रमुख लक्ष्य पनि हो ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad