१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्तिम कसरतमा डा. भट्टराई र श्रेष्ठ

पोखरा- कुनै बेला समान हैसियतमा रहेर राजनीति गरेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन्। गोरखा–२ का उम्मेदवार उनीहरू आफ्नो पक्षमा निर्वाचन परिणाम हात पार्न यति बेला अन्तिम कसरतमा छन्।

प्रचारप्रसारको समय अवधि सकिनै लाग्दासम्म दुवै उम्मेदवार मतदाताको दैलोमा पुग्न प्रतिस्पर्धा गरिरहेका छन् । दुवै नेताले अहिले मतदातासँग भोट माग्दै आफूलाई सघाउन आग्रह गरिरहेका छन् । निर्वाचन प्रचारप्रसारमा रहेका उनीहरूमध्ये मंगलबार श्रेष्ठ गोरखाको हर्मी र भट्टराई सिरानचोकमा थिए ।

प्रदेश–४ भित्रको गोरखा–२ अहिले भट्टराई र श्रेष्ठकै कारण चर्चामा छ । भट्टराई कांग्रेसको साथ लिएर चुनावी मैदानमा होमिएका छन् भने श्रेष्ठ एमालेसँगको गठबन्धनबाट उभिएका छन् । माओवादीमा रहँदा यी दुवै नेता पार्टीको शीर्ष तहमा थिए ।

माओवादीमै छँदा भट्टराईले प्रधानमन्त्रीकै पद सम्हाल्ने मौका पाएका थिए भने श्रेष्ठ माओवादी सरकारमै उपप्रधानमन्त्रीसम्म बन्न भ्याएका थिए । एकै क्षेत्रमा प्रधानमन्त्री र उपप्रधानमन्त्री बनिसकेका र कुनै बेलाका सहयात्रीबीचको प्रतिस्पर्धाका कारण अहिले गोरखा सबैतिर चर्चामा छ । दुई वरिष्ठ नेतामध्ये कसले जित आफ्नो हातमा पार्ने हुन् भन्नेमा अहिले जिल्लामा मात्र नभई अन्यत्र पनि चासो छ । मतदाताको जोडघटाउ अहिले सबैतिर चलिरहेको छ ।

चुनावी मैदानमा रहेका दुवै उम्मेदवार भने आफ्नो पक्षमा जित रहेको दाबी गर्छन् । एमालेसँगको गठबन्धनमा मैदानमा रहेका श्रेष्ठले नागरिकसँगको टेलिफोन कुराकानीमा आफ्नो विजय सुनिश्चित रहेको दाबी गरे । ‘हाम्रो विचार, राजनीति र दिशा प्रस्ट छ,’ उनले भने, ‘त्यसले गर्दा विजयी हुन समस्या छैन । जनता हामीलाई मत दिन आतुर छन् ।’ गोरखाली नागरिकलाई खुसी बनाउन आफूले अजेन्डा ल्याएकोले त्यसबाट मतदाता प्रभावित भएको उनले बताए । ‘गोरखाको विकासका लागि हामीले मतदातासामु भिजन नै पेस गरेका छौं,’ उनले भने, ‘त्यसबाट मतदाता खुसी छन् ।’ उनले सबै मतदाताको घरसम्म पुग्न नसकेको बताए ।

अर्का उम्मेदवार भट्टराई पनि जित आफ्नो पक्षमा रहेको बताउँछन् । विभिन्न चुनावी भेलामा भएको जनसहभागिताले पनि आफ्नो पक्षमा मत रहेको पुष्टि हुने भट्टराईले बताए । वाम गठबन्धनका कार्यकर्ताले नयाँशक्ति र कांग्रेसका मतदातालाई आक्रमण गरेको र त्यसले उनीहरूमा हतासको मनस्थिति देखिएको उनले बताए । कांग्रेससँगको तालमेलले गर्दा विजयी हुनेमा शंका गर्नुनपर्ने भट्टराईको भनाइ छ । ‘विपक्षी निकै नै हतासमा छन् । शान्तिप्रक्रियामा आएपछि पनि माओवादी कार्यकर्ताले आप्mनो हर्कत देखाएका छन्,’ उनले भने, ‘त्यसको परिणाम जनताले मत दिएर देखाउनेछन् ।’

गोरखाका राजनीतिक विश्लेषकसमेत रहेका स्थानेश्वर दुवाडी दुवै नेता अहिले अन्तिम कसरतमा रहेको बताउँछन्। ‘मौन अवधि ४८ घण्टाअगाडि सुरु हुन्छ । त्यो बेलासम्म दुवैजना उम्मेदवार मैदानमै रहनेछन् । दुवैजनाले अहिले अन्तिम कसरत गरिरहेका छन्,’ उनले भने । अहिलेको अवस्थामा परिणाम ठ्याक्कै कसको पक्षमा जान्छ भनेर यकिन गर्न नसकिने उनले बताए ।

‘मतदाताको आधारमा हेर्दा दुवैजना ठूला प्रतिस्पर्धी हुन् । तर, सक्रियता देख्दा भट्टराई केही अगाडि परेको जस्तो देखिन्छ,’ दुवाडीले नागरिकसँग भने । उनका अनुुसार सिंगै पालुङटार नगरपालिका भट्टराईको पक्षमा छ । त्यसले भट्टराईलाई बलियो साथ मिल्ने उनको आकलन छ । तर, गाउँपालिकातर्फ सिरानचोकमा घर भएकाले त्यहाँको अधिक मत श्रेष्ठको पक्षमा जानसक्ने उनको विश्लेषण छ । दुवाडीका अनुसार गोरखा नगरपालिकाका ८ देखि १४ (६ वटा) वडामा श्रेष्ठ अलि बलियो देखिन्छन् । त्यसलाई काउन्टर दिन अजिरकोट गाउँपालिका भट्टराईको पक्षमा छ । गोरखा–२ मा पर्ने सुलीकोट गाउँपालिका निर्णायक हुनसक्ने उनले बताए ।

‘सुलिकोटबाट ५०–५० हुँदा पनि भट्टराई बलियो देखिन्छन् किनकि गोरखा नगरपालिकालाई कभर गरेर जाँदा पनि पालुङटारले लिड गर्न सक्छ,’ उनले भने, ‘सुलिकोटको मत आधा हुँदा अरू मतलाई हिसाब गर्दा पनि भट्टराई अगाडि पर्छन् । अन्तिम प्रतिस्पर्धामा कसले बढी तान्छ भन्ने मात्र हो ।’ पालुङटारमा पहिले पनि नयाँ शक्ति बलियो भएकाले भट्टराईलाई सहज हुने दुवाडीको आकलन छ । नयाँ शक्तिको आफ्नै मत पनि पालुङटारमा छ । त्यसले पनि भट्टराईलाई सहज हुने देखिएको उनले बताए ।

यसअघि संविधानसभा निर्वाचनमा भट्टराईले गोरखा–२ बाट जितेको र अहिले कांग्रेसको साथ लिएर फेरि त्यही क्षेत्रमा जाँदा सुरुमा त्यहाँका मतदाता केही रिसाएका पनि थिए । ‘सुरुमा हामीले मात्र जिताएका हौं । अहिले कांग्रेसको साथ किन खोज्नुभयो भन्ने मतदाताको गुनासो थियो,’ दुवाडीले भने, ‘तर त्यो अवस्थामा बीचमा केही सुधारिएको छ । अब मतदानका दिनसम्म झनै सुधार हुनेछ किनकि निर्णायक दिन आइसक्यो ।’

अजेन्डाले गर्दा पनि भट्टराईलाई साथ दिएको विश्लेषक दुवाडीको भनाइ छ । ‘बाटोघाटोलाई भट्टराईले गाउँसम्म पु¥याएका छन् । त्यो कामले गर्दा मतदाता खुसी छन्,’ उनले भने, ‘श्रेष्ठ जनताबीच धेरै भिजेका छैनन् । जनतामाझ कम परिचित भएकाले पनि केही दबाब परेको छ ।’

पहिलो संविधानसभा निर्वाचनमा देशभरबाट सर्वाधिक मत ल्याएर भट्टराईले गोरखामै जित हासिल गरेका थिए । संविधानसभा निर्वाचनसम्म ३ क्षेत्र रहेको गोरखा अहिले २ वटामा खुम्चिएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भट्टराईले गोरखा–२ बाट सर्वाधिक मत ल्याएका थिए । २०७० मा उनी गोरखा–१ बाट विजयी भएका थिए । संविधानसभा निर्वाचनमा २ नम्बर क्षेत्रमा पर्ने सबै भूभाग अहिले पनि २ नम्बरभित्रै पर्छ । त्यसबाहेक १ नम्बरका केही भूगोल पनि २ मा मिसिएका छन् । तीन नम्बरका अधिकांश क्षेत्र अहिले गोरखा–१ मा गाभिएका छन्।

बाबुरामले छाडेपछि माओवादीलाई गोरखामा स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बाबुरामको साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुईवटा तहमात्रै जित्यो । बाबुराम साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल ग¥यो । अधिकांश तहमा माओवादी र नयाँशक्तिको मत एकै ठाउँमा राख्दा माओवादी नै विजयी हुने देखिन्थ्यो । तर, माओवादीले फुटको राजनीतिमा त्यो अवसर गुमाएको थियो । त्यसको धक्का आगामी निर्वाचनमा समेत पर्ने देखिएको विश्लेषकको भनाइ छ ।

प्रकाशित: ६ मंसिर २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App