१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सानो मन्त्रिपरिषद्सहित आजै शपथ

काठमाडौं- नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन्। व्यवस्थापिका संसद्बाट बुधबार प्रधानमन्त्री निर्वाचित दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराउने छिन्।

नेपाली कांग्रेससहित दलको समर्थनमा मुलुकको ३९ औं कार्यकारी प्रमुखमा निर्वाचित भएका दाहालले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्। ५ देखि ७ जनासम्मको मन्त्रिपरिषद् गठनको तयारीमा रहेका दाहालले प्रमुख साझेदार नेपाली कांग्रेस र आफ्नै दलका केही नेतालाई मन्त्री बनाउने तयारी गरेको निकट स्रोतको दाबी छ।

दाहाल नेतृत्वको नयाँ सरकारमा कांग्रेस नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्नेछन्। नयाँ गठबन्धन निर्माणमा सक्रिय निधिलाई नै सभापति शेरबहादुर देउवाले नेतृत्वसहित सरकारमा पठाउने तयारी गरेका हुन्। कांग्रेसबाट बढीमा तीन नेतालाई सरकारमा सहभागी हुने निकट स्रोतको दाबी छ। माओवादीबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, सीता नेपाली, गौरीशंकर चौधरीमध्येबाट केही नेता सहभागी हुनेछन्।

माओवादी र कांग्रेसबीच केही मन्त्रालयमा सहमति जुट्न नसकेपछि बिहान नवनिर्वाचित प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले मन्त्रालयको टुंगो लगाएसँगै मन्त्रीहरूको नामलाई अन्तिम रूप दिने दुवै पक्षको गृहकार्य छ।

राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री दाहाल सहिद पार्क, सहिद गेटका साथै चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्क जानसक्ने भन्दै गृह मन्त्रालयले उक्त स्थानमा सुरक्षा व्यवस्था मिलाएको छ।

यसैबीच सभामुख ओनसरी घर्तीले बुधबार राष्ट्रपति भण्डारीलाई भेटी व्यवस्थापीका संसदले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरेको जानकारी गराएकी थिइन्। संसदसचिवालयका महासचिवसहित राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेकी सभामुख घर्तीले संविधानको धारा २९८को उपधार ३ र संसद नियमावलीको नियम ४९को ५ अनुसार दाहाल प्रधानमन्त्रीमा निर्वाचित भकउो जनानकारी गराएकी हुन।

सभामुखले नयाँ प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भएको जानकारी गराए लगतै राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको शपथको तयारी सुरु गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 'संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री चयन भएसँगै राष्ट्रपति कार्यालयले बिहीबार ३ बजेका लागि शपथको तयारी गरेको हो,' उनले भने। 

प्रकाशित: २० श्रावण २०७३ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App