१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी उम्मेदवारलाई पार्टीले खर्च नदिने

काठमाडौं- माओवादी केन्द्रका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले निर्वाचन खर्च आफैंले जोहो गर्नुपर्ने भएको छ । पार्टीले उम्मेदवारलाई रकम दिन नसक्ने माओवादीले जनाएको छ । ‘अहिलेसम्म कुनै उम्मेदवारलाई चुनावी खर्च दिइएको छैन, पार्टीको आर्थिक अवस्था कमजोर भएकाले पनि नदिइएको हो’ प्रवक्ता पम्फा भुसालले नागरिकसँग भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका उम्मेदवारलाई पार्टीले हेर्नुपर्छ, हेर्छ ।’ ललितपुर–३ बाट उम्मेदवारसमेत रहेकी भुसालले पनि चुनावी खर्चका लागि पार्टीबाट रकम पाएकी छैनन् ।
माओवादीको नियमित रुपमा आउने आर्थिक स्रोत भनेको सांसदले बुझाउने रकम र पार्टी सदस्यता शुल्क हो । त्यसैबाट केन्द्रीय कार्यालयदेखि अन्य पार्टी गतिविधि सञ्चालन हुन्छ । पूर्वकोषाध्यक्षसमेत रहेका सिन्धुली–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिबोल गजुरेलले कोषमा रहेको केही रकम उम्मेदवारलाई दिइने बताए । ‘पार्टी खातामा निवर्तमान सांसदले जम्मा गरेको केही रकम बाँकी छ, उम्मेदवारको आवश्यकता हेरेर केही सहयोग गर्नेछौं’, गजुरेलले नागरिकसँग भने । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका उम्मेदवारलाई मात्रै खर्च दिइनेछ ।
माओवादीले अघिल्लो चुनावमा आर्थिक अवस्था कमजोर भएका उम्मेदवारलाई १ देखि ५ लाखसम्म खर्च दिएको थियो । यसपटक भने पार्टीबाट खर्च नपाएपछि उम्मेदवार आआफैं खर्च उठाएर मैदानमा उत्रेका छन् । ‘शुभेच्छुक र आफन्तसँग रकम संकलन गरेर चुनावी मैदानमा उत्रनुपरेको छ,’ नेता प्रभु साहले भने । उनका अनुसार अघिल्ला निर्वाचनमा आवश्यकताअनुसार पार्टीबाट रकम उपलब्ध गराइएको थियो ।

 

प्रकाशित: २१ कार्तिक २०७४ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App