१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘अपराध ठहरिए दोषीमाथि कारबाही’

माडीमा शनिबार आयोजित चुनावी कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ।

चितवन – चितवन निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार माडी पुगेका छन् । माडी यस्तो ठाउँ हो, जहाँ माओवादीले सशस्त्र संघर्षका बेला  थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ३८ जनाको ज्यान गएको थियो । माडीको बाँदरमुढे भन्ने ठाउँमा २०६२ जेठ २३ मा सो घटना भएको थियो।

अध्यक्ष दाहाल घटनापछि केही घन्टा बिताउने गरी शनिबार पहिलोपटक माडी पुगेका  हुन् । यसअघि ६९ साल फागुनमा पनि उनी माडी पुगेका थिए । तर, त्यो बेला हेलिकोप्टर चढेर एउटा महोत्सव उद्घाटनलगत्तै फर्केका थिए । माडी वसन्तपुर बजारमा शनिबार आयोजित चुनावी कार्यक्रममा दाहालले लगभग चार घन्टा बिताए । तर कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर रहेको बाँदरमुढे भने उनी गएनन् ।

दाहालले घटनापीडित स्थानीयलाई पनि भेटेनन् । तर कार्यक्रममा बोल्दा उनले घटना विषयमा केही भनाइ भने राखे । उनले उक्त घटना गम्भीर प्रकृतिको अपराध भएको प्रमाणित भए संलग्न मुख्य व्यक्तिलाई कारबाही गर्ने बचन भने दिएका छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगले जे भन्छ त्यो आफूहरूले मान्ने उनले बताए ।

‘१० वर्षे जनयुद्धको दौरानमा पार्टीतर्फबाट भएको सबैभन्दा ठूलो गल्ती बाँदरमुढे घटना हो भनेर स्वीकार गर्दै मैले तत्कालै वक्तव्य निकालेको थिएँ । यसको छानबिन र दोषीलाई कारबाही गरिने छ भनेर मैले त्यो वक्तव्यमा भनेको थिएँ’, दाहालले स्मरण गरे । उनले ‘जनयुद्ध’ का दौरानमा राज्य र विद्रोही पक्षबाट भएका गल्तीको छानबिन गर्ने काम आयोगको भएको बताए ।

‘त्यो बेलाका घटना गम्भीर प्रकृतिका ठहरिए जो दोषी देखिन्छ कारबाहीका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति खोजबिन आयोगले दिने निर्णय स्वीकार गर्न हामी तयार छौं’, दाहालले भने, ‘हामीले अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघमा पनि यही कुरा भनेका छौं । त्यस कारण कुनै पनि घटनामा प्रमुख दोषी प्रमाणित भए र त्यो गम्भीर प्रकृतिको अपराध ठहर भए कारबाही हुन्छ ।’ पीडितलाई न्यायसँगै  परिपूरणको व्यवस्था पनि हुने दाहालले बताए । 

तर, दाहालका कुरामा विश्वास गर्न सकिने आधार नदेखिएको घटनाका पीडितले उल्लेख गरे । ‘दाहालले घटना भएलगत्तै अनुकूल समयमा माफी माग्न माडी आउँछु भनेका हुन् । तर अहिलेसम्म आएर माफी मागेका छैनन् । अरु कुरा पनि पूरा हुन्छन भनेर कसरी विश्वास गर्ने’, बाँदरमुढे घटनापीडित संघर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भने । समितिसँग शनिबार बिहान मात्रै माओवादी नेता अमिक शेरचन लगायतले वार्ता गरेका थिए । संघर्ष समितिले माओवादी समक्ष १२ बुँदे मागपत्र राखेको छ।

मागपत्रमा सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई काम गर्न नदिएको आरोपदेखि परिपूरण हुनुपर्ने र बाँदरमुढेमा ऐतिहासिक स्मारक बनाउनुपर्ने विषय समेटिएको संघर्ष समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए । सभामा बोल्दा दाहालले सबै माग पूरा गर्न आफू तयार रहेको बताए । घाइतेलाई रोजगार र बालबच्चाको शिक्षादीक्षा व्यवस्था सरकारले गर्ने विश्वास उनले दिलाए।

प्रतिस्पर्धी पार्टीका जिल्ला अध्यक्ष माओवादी प्रवेश 

माडीमा शनिबार भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादीमा प्रवेश गरेका छन् । चुनावमा दाहालका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डे छन् । पाण्डे कांग्रेस समर्थनमा उम्मेदवार भएका हुन्। 

प्रकाशित: १९ कार्तिक २०७४ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App