१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रोजगारीको लागि चीनको केरूङ जाने महिला बढे

रसुवा– नेपालको उत्तरी व्यापारिक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको सङ्ख्या बढेको छ। केरूङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेर्होन नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका छन्।

पछिल्लो डेड महिनामा साढे दुई सयको हाराहारीमा रसुवाली महिला केरूङ गएका छन्। तर गएकामध्ये ५० प्रतिशत फर्कने गरेका माइती नेपाल रसुवाले जनाएको छ।

चीन प्रवेश गर्ने महिलाको विवरण राख्नका लागि माइती नेपालले रसुवागढी नाकामा सहायता कक्ष सञ्चालन गरेको छ। सहायता कक्षमा रहेकी सामाजिक परिचालिका अम्बिका श्रेष्ठले भनिन्, “केरूङ गएकामध्ये ५० प्रतिशत रोजगारीका लागि र बाँकी महिला त्यहाँ पुगेर फर्कने खालका भेटिन्छन्, गएका र फर्किएका दुबै तर्फको विवरण हामीले राख्ने गरेका छौ।”

सेप्टेम्बर महिनामा करिब दुई सयको हाराहारी महिला त्यस क्षेत्रमा गएका छन् भने अक्टोबर महिनामा दैनिक ९/१० जनाको हाराहारीमा केरूङ गएका छन्। पास नबनाइ केरूङ जान हिँडेका  १२ जना नाका बाट नै फर्काइएको श्रेष्ठले बताइन्।

व्यापारिक सहर केरूङमा काम गर्ने उनीहरुले मासिक १५ हजारदेखि २५ हजारसम्म पारिश्रमिक पाउने गरेका छन्। नेपाली तथा चिनियाँ होटलमा न्युनतम तीन जनादेखि सात जनासम्म नेपाली किशोरीले काम गरिरहेका माइती नेपाल रसुवाले जनाएको छ।

नाका पूर्ण रुपमा सञ्चालनमा आएसँगै दैनिक ४० देखि ५० जनाको सङ्ख्यामा केरुङ जाने गरेका छन् ।  कामका लागि केरूङ पुगेका महिलाहरु होटलमा जोखिमपूर्ण रुपमा काम गरिरहेका छन् । चीन प्रवेशका लागि सीमामा महिला कामदारलाई कडाई गरिएपनि अभिभावकले नै बोर्डरसम्म छोडिदिने र व्यवसायीहरुले बोर्डरबाट लैजाने गरेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

रसुवागढीलाई अन्तराष्ट्रिय नाका बिस्तार गरेसँगै केरुङमा होटल व्यवसाय बढेपछि नेपाली महिला कामदारहरु उल्लेख्य मात्रामा जाने गरेको बताइएको छ। जिल्लामा रोजगारीको अभाव र गरिबीका कारण त्यस क्षेत्रमा जाने महिलाको सङ्ख्या बढेको देखिन्छ ।

जिल्लावासीलाई चाइना पास सहजै उपलव्ध हुने र अझै आवतजावत गर्न सहज हुने भएकाले पनि जाने क्रम बढेको हो। रसुवा लगायत छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायतका क्षेत्रबाट कामका लागि केरूङ पुगेका भेटिएको छ ।

विशेषगरी जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाँउ लगायतका स्थानबाट सबैभन्दा बढि किशोरी केरूङ पुगेका छन्। चीनको केरूङमा सञ्चालनमा रहेका होटलमा हेर्ने हो भने अधिकांस १४ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी भेटिन्छन्।

कम उमेरमा नागरिकता बनाएर चीन प्रवेशका लागि चाइना पास बनाउने परम्परा विकसित हुँदै गएको छ । चीनको केरुङमा २८ भन्दा बढि होटल सञ्चालनमा छन्। चिनियाँ होटलमा काम गर्नेको सङ्ख्या कम भएपनि नेपालीको आधा दर्जन होटलमा ३५ भन्दा बढी किशोरी कार्यरत रहेका छन्।

 

 

प्रकाशित: १४ कार्तिक २०७४ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App