१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आठ खर्बको मज्जा

नरेश शङ्कर पालिखे/पोखरा
नयाँ ठाउँको यात्रा मानव सभ्यताको विकास सँगसँगै सुरु भएको हो । नयाँ चिज हेर्ने इच्छा सुलभ मानवीय गुण हो र स्वाभाविक प्रक्रिया हो । यात्राले मानव चेतनालाई बढाएको छ । त्यसैले त चेतनशील मन यात्रातिर उद्वेलित भइरहन्छ । यो दुईतर्फी प्रक्रिया जीवनपर्यन्त चलिरहन्छ । यात्रा व्यक्तिको मानसिक तरोताजाका लागि आवश्यक हुन्छ । शारीरिक क्षमतामा वृद्धि र स्थानीय अर्थतन्त्रको विकासमा पनि यात्राले भूमिका खेलेको हुन्छ । जीवनलाई जीवन्तता दिने तत्वहरुमा यात्रा पनि पर्छ । यसले जीवनलाई सार्थक बनाउँछ । तसर्थ कसैले भनेका छन्, ‘मलाई घरभरि सामान थुपार्नुभन्दा पासपोर्टमा स्टाम्प थुपार्नु अर्थपूर्ण लाग्छ ।’ यात्राबिना जीवन अधुरो हुन्छ । जीवनको न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिपछि पनि नयाँ ठाउँको यात्रा गरिएन भने जीवन एकाङ्की भएर जान्छ । जीवनमा हरेक व्यक्तिले केही न केही व्यसन पालेकै हुन्छ, मलाई यात्रा सर्वोत्तम व्यसन हो भन्ने लाग्छ ।
सौभाग्य र स्वभावले गर्दा विश्वको धेरै देशहरुको भ्रमणको अवसर पाएको छु । प्रसिद्ध अमेरिकी खर्बपती व्यवसायी सेडन एडल्सनको ‘स्यान्ड्स होटल ग्रुपले निर्माण गरेका सिङ्गापुरको मरिना बे स्यान्ड्स होटलका बारेमा अनलाइनमा भएका धेरै चर्चा–परिचर्चाबाट एक पटक त्यहाँ जान धेरै लालायित थिएँ । हालै भाद्र ६ देखि १२ सम्म सिङ्गापुर र मलेसिया भ्रमणमा जाँदा यस होटलमा बस्ने मौका पाएँ । यात्राको पहिलो तीन दिन स्टार क्रुजबाट सिङ्गापुर र मलेसियाको राजधानी क्वालालम्पुरसम्म दुईतर्फी यात्रा विशाल पानी जहाजबाट सम्पन्न गरी पहिला नै बुक गरेको भएर यो होटलमा गएँ । लगभग नेपाली रूपैयाँ ८ खर्बको लागतमा निर्मित यो होटल संसारको सबैभन्दा बढी लागतमा निर्मित होटल हो । सिङ्गापुरको समुद्रको छेउ मरिना बे क्षेत्रमा यो होटल अवस्थित छ । सन् २००७ मा सुरु भएर तीन वर्ष लगाएर निर्मित यस होटलमा २५६१ कोठा छन् । अत्यन्त विलासितापूर्ण यो होटल आफैँमा एउटा पर्यटकीय केन्द्र हो । यस होटलको मुख्य विशेषता भनेको नै यहाँ रहेका ३ वटा ५७ तले भवनको माथि ३ वटै भवनहरुलाई जोडेर बनाइएको विशाल स्वीमिङ पुल हो । जमिनबाट ६५६ फिट माथि भएको हुनाले होटलहरु मध्येमा यो विश्वकै जमिनमाथि अग्लो ठाउँमा भएको स्विमिङ पुल हो । होटलका पाहुनाहरुले मात्र यहाँ स्विमिङ गर्न पाउँछन् । यहाँ पौडी खेल्दै लगभग सिङ्गापुरको आधा भाग दृश्यावलोकन गर्न पाइन्छ । धेरै नै विशाल एवं मनमोहक यस स्वीमिङ पुलको छेउमा बगैँचा, तातोपानीयुक्त ज्याकुज्जी एवं दुई वटा रेस्टुराँ छन् । ५७ तलाको होटलको सबैभन्दा माथिल्लो भागमा जहाँ एक छेउमा स्वीमिङ पुल छ भने अर्काे भागमा दृश्यावलोकन स्थल (अब्जर्भेसन डेक) छ, जहाँ केही शुल्क तिरेर दृश्यावलोकनका लागि जो कोही पनि जान पाउँछन् । 
होटलभित्र विशाल क्यासिनो छ, जहाँ प्रवेश पाउन सबैले पासपोर्ट देखाएर जानुपर्छ । १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस क्यासिनोमा १ हजार टेबल र १४०० स्लट मेसिनहरू छन् । होटलभित्र लगभग ३०० पसल भएको विशाल सपिङ कम्प्लेक्स छ, जहाँ विश्वप्रसिद्ध सबै ब्रान्डका लुगा, इलेक्ट्रोनिक सामान, घडी, सेन्ट, सौन्दर्य प्रशाधन एवं अन्य पदार्थ पाइन्छन् ।

विश्व प्रसिद्ध सेफहरु जस्तै गोर्डन रामसे, मारियो बाटालीजस्ता कुकहरुको यहाँ आफ्नै रेस्टुराँ छन् । होटलभित्र पानीको फोहरासहित नहर छ । त्यहाँ डुङ्गा चढ्दा साह्रै नै रमाइलो लाग्यो । यो होटलको बिहानको ब्रेकफास्टमा राखिएको खानाको प्रकार देख्दा आश्चर्य चकित भएँ । त्यहाँ विश्वका लगभग हरेक देशका खाना उपलब्ध थिए ।

जीवनमा सबैभन्दा धेरै खाएको दिनहरुमध्ये थियो, त्यस बिहानी । त्यहाँका कर्मचारीको व्यवहार साह्रै विनम्र, आत्मिय र सेवा गर्न तत्पर पाएँ । होटलबाट गार्डेन बाई बे, मेर्लिअन, सिंगापुर फ्लायरजस्ता सिंगापुरका प्रमुख पर्यटकीय स्थल आँखाकै अगाडि देखिन्छन् । होटल कम्पाउन्डमा नै सिङ्गापुर आर्ट एन्ड साइन्स म्युजियमको कलात्मक भवन छ । यस होटलमा ७४ हजार वर्गमिटरको विशाल सभाकक्ष पनि छ । अलि महँगो यो होटलमा जापानी पर्यटक बढी आएको पाएँ ।
केही समय अगाडिसम्म सिंगापुरको प्रतीकका रूपमा मुखबाट पानीको फोहरा निस्किएको माछाको जिउ र सिंहको टाउको भएको सेतो मूर्ति (मर्लायन) थियो भने अचेल सिंगापुरलाई झल्काउने हरेक तस्बिरमा यो होटल नै देखिन्छ । सिंगापुरको प्रतीकका रूपमा यो होटल बन्न पुगेको छ । केही महँगो (प्रतिकोठा प्रतिदिन लगभग नेपाली चालिस हजार रूपैयाँ भए पनि) होटल निर्माणको लागत, त्यहाँका सुविधा, खानाको गुणस्तर, त्यहाँ प्राप्त सेवाहरुका अगाडि यो मूल्य उचित नै लाग्यो । एकबारको जुनीमा यहाँ त आउनै पर्ने ठाउँमा नै आइयो भन्ने लाग्यो । जीवनमा नगरी नहुने, नगई नहुने स्थानहरुमा यो होटलको बसाइ र अवलोकन पनि हो । आखिर ८ खर्ब खर्च गरेर बनाइएको सुविधा जो हो यो !
धनी, गरिब, महिला, पुरुष, शिक्षित, अशिक्षित, बूढा, जवान सबैले यात्रा गरिरहनु नै पर्छ । त्यसैले जतिसक्नु हुन्छ यात्रा गर्नुहुन्छ, जति टाढा जान सक्नुहुन्छ, जानुहोस्, जति लामो समयावधिसम्म यात्रा गर्न सक्नुहुन्छ, गर्नुहोस् किनभने जीवन एकैठाउँमा बिताउनका लागि होइन ।
(नागरिक परिवारबाट साभार)

प्रकाशित: १६ आश्विन २०७४ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App