१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रुटमा नचल्ने सिटी सफारीलाई जरिवाना

रुट अनुसार नचल्ने सिटी सफारीको निगरानी गर्दै ट्राफिक प्रहरी ।

इटहरी–पूर्वका बजारमा सिटी सफारी बग्रेल्ती भित्रिँदा व्यवस्थित गर्न चुनौती भएका बेला रुटमा नचल्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको  छ। पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दर्ता हुँदा कायम रुटभन्दा बाहेक अन्यत्र चल्नेले कारबाही थालेको  छ।

ट्राफिक प्रहरीले रुटबाहेक अन्यत्र चल्नेलाई सुरुवातमा ५ सय रुपैयाँ जरिमानासँगै आइन्दा तोकिएको रुटमा मात्र चल्ने भनेर लिखित कागज गराएर चालकलाई छाडने गरेको छ । प्रहरीले बुधबार मात्र रामधुनी भासी, मोरङको सुन्दरदुलारीलगायतका स्थानमा दर्ता भएर इटहरीमा सञ्चालन गर्ने ७५ वटा सिटी सफारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

‘तोकेको रुटभन्दा अन्यत्र सञ्चालन गरेका सिटी सफारीलाई नियन्त्रणमा लिई कारबाही थालिएको हो,’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी पवनकुमार गिरीले भने, ‘अहिले शुरुवातमा रुट अनुसार नचल्ने र पछाडिपट्टी रुट उल्लेख नगरेका सिटी सफारीलाई नियन्त्रणमा लिएर जरिमाना लिने गरिएको  छ ।’

ट्राफिक प्रहरीले अहिले सुरुवातमा जरिमाना मात्र असुलेर गल्ती सच्चयाउने सर्तमा छाडेपनि पुनः सिटी सफारी सञ्चालकले गल्ती गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार पटके कायम गरि थप जरिमाना लिइनेछ ।

उनका अनुसार सिटी सफारीलाई व्यवस्थित गर्नका लागि शुरुवातमा तोकिएको रुटमा सञ्चालन गरिनेछ । त्यसपछि मुख्य राजमार्ग तथा मुख्य सडकखण्डबाहेकमा मात्र सञ्चालन गर्न दिइनेछ । ‘पहिला सवैको रुट क्लियर गरेपछि अनि मुख्य राजमार्गमा गुड्न रोक लगाइनेछ,’ एसपी गिरीले भने, ‘मुख्य राजमार्गमा गुड्नका लागि अब दुई–चार दिनदेखि नै कडाई गरिनेछ ।’

 प्रर्फेक्ट चालक नहुदाँ दुर्घटनाको खतरा रहेको सिटी सफारीका चालकमध्ये पूर्वका ४६७  जनाले अहिलेसम्म लाइसेन्स (सवारी चालक अनुमति पत्र) पाएका छन् । लाइसेन्स वितरणको प्रक्रिया जारी  छ।

ट्राफिक प्रहरीले अहिले सवैले लाइसेन्स प्राप्त गरि नसकेकाले गर्दा यसमा लचिलो हुने भएको छ। अहिले पूर्वका शहरैपिच्छे बग्रेल्ती सिटी सफारी सञ्चालनमा छन् । सवैभन्दा सुनसरी, मोरङ र झापाका शहरमा सञ्चालित छन् ।

यी तीन जिल्लाका शहरमध्ये सवैभन्दा बढी इटहरीमा छन् । दुई बर्षअघि इटहरीबाट केही सीमित सिटी सफारी सञ्चालन भएपछि पूर्वका अन्य शहरमा क्रमशः सञ्चालन हुदैं आएका हुन् । सिरहा र सप्तरीमा कमै छन भने उदयपुरमा केही सीमित मात्र छन् । अहिले पूर्वका बजारमा पाइडलबाट चल्ने रिक्सा विस्थापित भइसकेका छन् ।

 

प्रकाशित: १३ श्रावण २०७३ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App