१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैरहवा सेजमा २३ उद्योगसँग सम्झौता हुँदै

काठमाडौं- सञ्चालन तयारीमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा २३ वटा उद्योग स्थापना हुने भएका छन्। उद्योग स्थापना गर्न आवेदन दिएका २३ लगानीकर्तासँग विशेष आर्थिक क्षेत्र विकास समितिले केही दिनभित्रै सम्झौता गर्न लागेको हो।

आवेदन दिएका उद्योगसँग केही दिनभित्रै सम्झौता हुने समितिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। 'छिट्टै यी उद्योगहरुसँग सम्झौता हँुदैछ,' भट्टले भने, 'सम्झौतापछि उनीहरूले उद्योग स्थापनाको काम सुरु गर्नेछन्।' समितिले सेज कार्यविधि अनुसार उद्योगीसँग ३० वर्षको सम्झौता गर्नेछ।

आवेदन दिएका उद्योगहरू सबैसँग एकैपटक सम्झौता गर्ने तयारी गरिरहेको भट्टले जानकारी गराए। त्यसको लागि समितिले आवश्यक कागजपत्र तयार गरिरहेको छ। सम्झौताअघि ती उद्योगहरूसँग समिति केही विषयमा स्पष्ट हुनुपर्ने भएकाले थप कागजपत्र मागेको उनले बताए। समितिले लगानीको बैंक सर्टिफाई पत्र, के–कस्तो मेसिन र कच्चा पदार्थ प्रयोग गर्न लागेको हो र लगानीको विवरण मागेको छ। व्यवसायीले आवश्यक यी विवरण बुझाउनेबित्तिकै उनीहरूसँग सम्झौता हुनेछ। व्यवसायीले केही दिनभित्रै सबै कागजपत्र बुझाउने भट्टले जानकारी दिए।

भैरहवा सेजको ४८ वटा प्लटमा ती उद्योग स्थापना हुनेछन्। सेजमा विभिन्न किसिमका उद्योग स्थापना गर्न स्वदेशी लगानीकर्ताले आवेदन दिएका छन्। डोरी, जुत्ता–चप्पल, आयुर्वेदिक, स्टिल लगायत उद्योग स्थापनाको लागि आवेदन परेको छ। चारवटा सुपारी, गुट्खा, सुर्तीजन्य र माउथ फ्रेससँग सम्बन्धित उद्योगको लागि पनि आवेदन परेको छ। तर, त्यस्ता उद्योग सेजभित्र स्थापना गर्न दिने कि नदिने भन्नेमा छलफल हुने भट्टले बताए। सुर्तीजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्न नहुने आवाज उठेको भन्दै यसमा सुपारी, माउथ फ्रेस जस्ता उद्योग पर्ने कि नपर्ने विषयमा निर्क्यौल हुन बाँकी रहेको भट्टले बताए। 

सेज बजेट १२ बाट ८२ करोड

सरकारले चालु आर्थिक वर्षमा औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको विशेष आर्थिक क्ष्ेात्र (सेज)को बजेट ह्वात्तै बढाएको छ। उद्योग मन्त्रालयका उपसचिव आनन्दकेशरी पोखरेलका अनुसार सेजमा यसपालि ८२ करोड ४५ लाख ७५ हजार रुपैयाँ बजेट परेको छ। अघिल्लो आर्थिक वर्षमा सेजको बजेट १२ करोड २० लाख ८८ हजारमात्र थियो।

यसपालिको अधिकांश बजेट बारास्थित सिमरा विशेष आर्थिक क्षेत्रमा हालिएको छ। उक्त सेजमा गार्मेन्ट प्रोसेसिङ जोन स्थापना गर्न भन्दै ६१ करोड २५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको हो। चालु आर्थिक वर्षमा गार्मेन्ट प्रोसेसिङ जोन स्थापनाको लागि पूर्वाधारका काम बन्न लागेको समितिका कार्यकारी निर्देशक भट्टले बताए। उनका अनुसार उक्त क्षेत्रमा ८ किलोमिटर बाटो, २ वटा बिल्डिङ, ढल निकास बन्दैछन्।

यस आर्थिक वर्षमा सम्याउने र ग्राभेलिङ हुने र अर्को वर्ष पिच गरिने छ भने २ वटा भवन भने अर्को आर्थिक वर्षसम्म सक्ने योजना रहेको भट्टले बताए। 'बाटो सम्याउने काम सुरु भइसकेको छ,' भट्टले भने, 'अन्य कामको लागि भने टेन्डर आह्वान गर्ने तयारी गर्दैछौं।'

यसपालि जम्मा १२ वटा विशेष आर्थिक क्षेत्रमा बजेट वितरण गरिएको छ। सञ्चालनको तयारीमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्रका लागि भनेर ८ करोड ३३ लाख ६४ हजार छ। केही काम सुरु भएको काभ्रेपलाञ्चोकको पाँचखाल सेजका लागि ४ करोड ६७ लाख ३७ हजार, सिरहा सेजलाई २ करोड ३५ लाख रुपैयाँ बजेट परेको छ।

त्यसैगरी जुम्ला, नुवाकोट, तालबन, विराटनगर, रौतहट, गोरखा, नेपालगन्ज र धनगढी सेजलाई सरकारले बजेट छुट्ट्याएको छ।   

प्रकाशित: १३ श्रावण २०७३ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App