१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

फोरम र राजपाभित्रको अन्तरकलह सडकमा

राजविराज – तेस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदैछ । सप्तरीका १८ वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् ।  

झन्डै दुई दशकमा स्थानीय चुनाव हुन लागेकाले पनि सबै उत्साहित देखिन्छन् । कतिपय दलले उम्मेदवार तय गरिरहेका छन् भने कतिपय अन्तिम चरणको कसरतमा छन् । केही तहका उम्मेदवारको टुंगो त मनोनयन दर्तास्थलमै लाग्ने नेताहरू बताउँछन् । 

उम्मेदवारी चयनलाई लिएर केही दलभित्रको विवाद सडकमा पोखिएको छ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्रको अन्तरकलह सडकसम्म आइपुगेको हो । उम्मेदवार चयनलाई लिएर प्रायः सबै राजनीतिक दलभित्र अन्तरकलह भए पनि फोरम नेपाल र राजपाको कलह भने पछिल्लो दुई दिनयता सडकमै छताछुल भएको छ। 

सप्तरीका स्थानीय तहका लागि राजपा उम्मेदवारको टुंगो सोमबार मध्यरातमा राजधानी काठमाडांैमा बसेर लगाइयो । टिकट वितरणसम्बन्धी औपचारीक जानकारी बाहिर नआउँदै राजपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीमा क्रियाशील, संघर्षशील व्यक्तिलाई पाखा लगाइएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् । राजपा सप्तरीका ३ सय कार्यकर्ता पनि पार्टी छोड्ने निष्कर्षमा पुगिसकेको स्रोतको दाबी छ। 

विभिन्न ६  दल मिलेर बनेको राजपाका केन्द्रीय नेताको मन अझै मिल्न नसकेको कार्यकर्ता बताउँछन् । ‘विभिन्न छ वटा पार्टी एकीकरण भएर राजपा गठन भए पनि ठूला नेताहरू भने पुरानै पार्टी र कार्यकर्ता वरपर घुमेको देखिन्छन्’, राजपा सप्तरीका एक पदाधिकारीले भने, ‘कसैलाई पुरानै तमलोपाकै चाहियो त कसैलाई रामसपाकै कार्यकर्ता, कोही सद्भावनापछि लागेका छन् त कोही तमसपका कार्यकर्ता खोज्छन् तर राजपाप्रति कोही गम्भीर देखिँदैनन्।’

स्रोतका अनुसार टिकट वितरणलाई लिएर राजपा सप्तरीभित्र निकै प्रभाव राख्ने मृगेन्द्रकुमार सिंह यादव, सत्यनारायण यादव, लक्ष्मण यादव, धर्मनारायण राय जस्ता नेता असन्तुष्ट देखिएका छन् । राजपाका लागि यो निर्वाचन आफ्नो राजनीतिक अस्तित्व रक्षाका लागि पनि निकै महत्त्वपूर्ण रहेको राजनीतिक विश्लेषक बताउँछन् । यो पार्टीले पहिलो र दोस्रो चरणका स्थानीय चुनाव बहिष्कार गरेको थियो । राजपा सप्तरीमा निकै संगठित भए पनि उम्मेदवार छनोटलाई लिएर असन्तुष्टि बढेको छ। 

यसैगरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालको अवस्था पनि सप्तरीमा राजपाभन्दा पृथक देखिँदैनन् । टिकटको अन्तिम टुंगो नलाग्दै मंगलबार बिहानैबाट फोरम सप्तरीमा देखिएको आन्तरिक विवाद सडकमा आइपुगेको छ । नेताहरूले जतिसुकै प्रयास गरे पनि मंगलबार अबेरसम्म  विवाद मिलाउन सकिएको छैन। 

टिकट वितरणमा धाँधली गरेको भन्दै पार्टी कार्यकर्ताले मंगलबार बिहान केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री रेणुकुमारी यादवको घरमा आक्रमण गरे । कार्यकर्ताको एक समूहले रेणुको घरभित्र पसी दुव्र्यवहार गरेको थियो । सोक्रममा रेणुसँगै घरमा रहेका अन्य नेता–कार्यकर्ता तथा प्रदर्शनकारी समूहबीचच हातापात पनि भएको थियो । ‘नारा जुलुुस गर्दै उनीहरू (प्रदर्शनकारी) मेरो भर परिसरभित्र आइपुगेका थिए, म सँगै रहेका नेता–कार्यकर्तासँग धक्कामुक्की पनि गरे’, रेणुले नागरिकसँग भनिन्। 

आक्रोशित कार्यकर्ताले रेणुको घरको मुख्यद्वारमा तालाबन्दी गर्नुका साथै टायर बालेर निकैबेर प्रदर्शनसमेत गरेका थिए । ‘कार्यकर्ताको आक्रोशलाई जायज भन्न सकिए पनि तरिका भने निकै गलत थियो’, रेणुले भनिन्, ‘उनीहरू कुन मनसायले आएका हुन् मलाई थाहा भएन्, तर राजनीतिक कार्यकर्तालाई यस्तो व्यवहार सुहाउँदैन ।’ रेणु फोरम नेपालको तराई÷मधेस प्रादेशिक समिति अध्यक्षसमेत हुन । उनी फोरम नेपाल कार्य सम्पादन समितिमा पनि छिन्। 

रेणुले टिकट वितरणमा चलखेल गरेको आक्रोशित कार्यकर्ताको भनाइ छ । ‘म पछिल्लो १४ वर्षदेखि फोरममा छु, सक्रिय कार्यकर्ताको रुपमा दिनरात खटेको छु, तर टिकट वितरणका बेला ठूला नेताअनुकूलका पैसावालालाई प्राथमिकता दिइन्छ्’, फोरम कार्यकर्ता रघुनन्द यादवले भने, ‘दुई दिनअघि मात्रै पार्टी राष्ट्रिय अध्यक्षले आफूहरूलाई आश्वासन दिए पनि रेणु यादवले टिकट वितरणमा धाँधली गरिराखेकी छिन् ।’ तर रेणुले भने आफूले टिकट वितरणमा कुनै धाँधली नगरेको बताउँदै आएकी छिन्।  

दोस्रो संविधानसभा चुनावका बेला पनि फोरमलगायत मधेसकेन्द्रित दलभित्र टिकटका लागि अन्तरकलह देखिएको थियो । सोहि अन्तरकलहका कारण सप्तरीका ६ मध्ये कुनै पनि निर्वाचन क्षेत्रबाट मधेसी दलका उम्मेदवार विजयी हुन नसकेको जानकारहरूको विश्लेष्ण छ । ‘मधेसवादी दलमा आन्दोलनका बेला जुन प्रकारको एकता देखिन्छ, त्यस्तो चुनावमा देखिँदैन, त्यसैले होला आफ्नै गढमा उनीहरू चुनाव हार्न बाध्य हुन्छन्’, राजनीतिक जानकार डा. हेमकुमार मिश्रले भने, ‘दोस्रो संविधानसभा चुनावका बेला देखिएको समस्या  अहिले पनि दोहोरिएको छ।’ 

प्रकाशित: २१ भाद्र २०७४ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App