१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भवन एक, कार्यालय तीन

खोटाङ– भवन अभावमा खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा एउटै भवनमा एउटै प्रकृतिका तीन वटा सरकारी कार्यालयको कामकाज सञ्चालन हुँदैआएको छ। आवश्यक भवन अभावमा खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे तथा जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा स्वास्थ्यचौकी, हुलाक र पशुसेवा कार्यालय सञ्चालन हुँदैआएको छ। साँघुरो कोठाबाट तीन कार्यालयको कामकाज सञ्चालन गर्नेक्रममा सम्वन्धित कार्यालयका कर्मचारीले कष्टकासाथ सेवा प्रबाह गर्दैआएका छन् ।

लिच्कीराम्चेमा २०७३ सालको भूकम्पका कारण जीर्ण बनेको भवनको तल्लो तलामा स्वास्थ्यचौकी, माथिल्लो तलाको दुई कोठामा हुलाक र पशुसेवा कार्यालय सञ्चालन हुँदैआएको छ । स्वास्थ्यचौकीको छुट्टै भवन नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको वडाध्यक्ष गोपी राईले बताए । स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीय हरिबहादुर बस्नेतले ७ रोपनी जग्गा निशुल्क पास गरिदिएको भए पनि बजेट अभावमा भवन निर्माण हुन नसकेको स्थानीयको भनाई छ । ‘दुःखसुखका साथमा तीन कार्यालयको कामकाज सञ्चालन भइरहेको छ,’ वडाध्यक्ष राईले भने, ‘वडा कार्यालयको छुट्टै भवन बनाउने तयारी गरेका छौँ, त्यो भवन बनेपछि भवन अभाव केही कमी हुने छ ।’ राईका अनुशार लिच्कीराम्चेमा गाबिसको पूरानो भवनबाट तीन कार्यालयको कामकाज सञ्चालन हुँदैआएको छ ।

डम्बर्खुशिवालयमा तीन कोठे जिर्ण भवनबाट तीन कार्यालयको कामकाज सञ्चालन भइरहेको छ । हुलाक र पशुसेवाको छुट्टै कार्यालय नभए पछि गाबिसको भवनबाटै तीन कार्यालयको कामकाज सञ्चालन हुँदैआएको डम्बर्खुशिवालयका वडाध्यक्ष विदुरमान राईले बताए । यस्तै, खोटेहाङ–२ वाप्लुखास्थित प्रहरी चौकी र कुटानी पिसानीका मिल एउटै भवनबाट सञ्चालन भइरहेको छ । तीन कोठे भवनको एउटा कोठामा सञ्चालन हुँदैआएको मिलको ध्वनीका कारण कार्यालयको प्रहरी चौकीको दैनिक कामकाज समेत प्रभाबित हुने गरेको छ । भवनको दुई कोठाबाट प्रहरी चौकीको दैनिक कामकाज सञ्चालन हुन्छ भने अर्को एक कोठामा स्थानीयले सञ्चालन गरेको अन्न कुटानी पिसानी गर्ने मिल सञ्चालन हुँदैआएको छ । प्रहरी चौकीमा चौबिसै घण्टा कुटानी पिसानीका मिलको कर्कस आवाज घन्कीरहन्छ ।

प्रहरी चौकीको भवन निर्माणकालागि २०६९ वैशाख महिनामा जग्गा खरिद गरिएको भएपनि रकम अभावमा हालसम्म भवन बनाउन नसकिएको स्थानीयको भनाई छ । १५ वर्षअघि महाकन्या प्राबि सञ्चालन गरिएको सो भवनबाट बिद्यालय अन्यत्र सारिएपछि प्रहरी चौकी राखिएको हो । प्रहरी बस्नुभन्दा अगाडि सो भवनलाई स्थानीय आमा समूहले प्रयोग गर्दै आएका थिए ।

प्रकाशित: ११ भाद्र २०७४ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App