१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीपहिरोमा ४२ को मृत्यु

काठमाडौं-अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोमा मंगलबार कम्तीमा ४२ को मृत्यु भएको छ। १० घाइते छन्, २५ हराइरहेको सुरक्षा अधिकारीले जनाएका छन्।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र र नेपाल प्रहरीका अनुसार मंगलबार साँझसम्म बाढीपहिरो र खोलाले बगाउँदा ४२ को ज्यान गएको हो । मृत्यु हुनेको संख्या अझ बढ्ने अधिकारीले जनाएका छन् ।

सोमबार रातिदेखि मंगलबार साँझसम्मका विभिन्न घटनामा प्युठानमा १५, गुल्मीमा ७, पाल्पामा एकै परिवारका ३ सहित ४, मकवानपुरमा एकै परिवारका ३, उदयपुरमा २, बाग्लुङमा ४ र रुपन्देहीमा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौं, बारा, दोलखा, अर्घाखाँची र सर्लाहीमा एक–एक जनाको ज्यान गएको छ । काठमाडौंमा २ घाइते छन् ।

रामेछाप, बाग्लुङ, दाङ, रौतहट, चितवन, सप्तरीलगायत जिल्लामा बाढीपहिरोले सयभन्दा बढी घर बगाउनुका साथै २ हजारभन्दा बढी डुबाएको छ ।

सोमबार राति भीषण वर्षापछि गएको पहिरोमा प्युठानको लुङमा ५ जना, पूजामा २ जना र खवाङमा २ जनाको मृत्यु भएको हो । झिमरुक खोलाले बगाएर ल्याएको ६ वटा शव भेटिएको छ । पहिरोमा २३ बेपत्ता छन् । अर्खामा मात्र ८ जना हराइरहेका छन् ।

लुङ–६, बाहानेबजारमा घर भत्किँदा स्थानीय शोभा रिजालको पुरिएर मृत्यु भएको छ । सोही ठाउँका धोजबहादुर पुनको घर पहिरोमा पुरिँदा डेरा  बस्ने २५ वर्षीय काली परियारको ज्यान गएको छ । बाहाने बजारमै पहिरोमा पुरिएर ११ वर्षीय प्रेम थापा, ४० वर्षीया रन्जना केसी र १२ वर्षीया सुशीला केसीको मृत्यु भएको छ ।

पूजा–१ मा सुतिरहेका बेला पहिरोले घर पुरिँदा रजवारा घर भएका सुपारी मल्ल र मुकेश मल्लको मृत्यु भएको छ । खवाङमा मत्यु भएका दुईको नाम थाहा भएको छैन र सोही ठाउँका एक बेपत्ता छन् । अर्खामा पहिरोले घरगोठ बगाउँदा ८ जना र फोप्लुमा १४ जना बेपत्ता रहेको फोप्ली गाविस सचिव पुष्पराज थापाले बताए ।

झिमरुक नदीले बगाएर ल्याएका ६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ । मृतकको सनाखत भएको छैन । पुरिएकाको उद्घार तथा विस्थापितलाई राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीलगायतलाई खटाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

यसैगरी, अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा पाल्पामा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठाडी–५, दमारस्थित घर पुरिँदा ४५ वर्षीय तामबहादुर कनौजे, उनकी श्रीमती खगीसरा र छोरी यशोदाको ज्यान गएको हो । सोमबार राति घरभित्र सुतिरहेका बेला पहिरोले पुरेकाले मंगलबार बिहान मात्र उनीहरूको शव निकालिएको थियो ।

सिद्धार्थ राजमार्ग सडक खण्डअन्तर्गतको दोभान–१, झुम्सामा घर पुरिँदा एकको मृत्यु भएको छ । तिलोत्तमा उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षे अस्मिता विकको मृत्यु भएको हो । मंगलबार बिहान झम्सामा पहिरो खस्दा ६ घर पुरिएका छन् । घरभित्र रहेका अन्य भाग्न सफल भएको स्थानीय कुलचन्द्र पुरीले बताए ।

बाढीपहिरोले बागलुङमा मानवीयसहित करोडौं क्षति भएको छ । पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ, दुई बेपत्ता छन् । बाढीले २६ घर बगाएको छ । मृत्यु हुनेमा राजकुत–७ का सन्तबहादुर तामाङकी ८ वर्षे छोरी तुजी तामाङ, २२ वर्षे डिकी तामाङ र दर्लिङ–७ की १८ वर्षे यमुना बुढा छन् ।

पहिरोमा पुरिएर दर्लिङ–७ देवी बुढा र उनको छोरा सन्दीप बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । पहिरोले अधिकारीचौर–७ मा १६, भीमगिठे–८ मा ५, बुर्तिवाङ–१ मा ५ गरी २६ घर बगाएकोे छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी वामदेव गौतमका अनुसार मंगलबार बिहान ३ बजे पहिरोले घर बगाउँदा भीमफेदी–५ का २५ वर्षीय टेकबहादुर रुम्बा, उनकी श्रीमती २३ वर्षीया पार्वती र पाँचवर्षे छोरा विकासको मृत्यु भएको छ । घरधनी टेकबहादुरकी सासू ५६ वर्षीया मनमाया स्याङतान र नाति टेकबहादुरका सातवर्षे छोरा विक्रम केही पर रहेको गोठमा सुतेकाले सकुशल छन्  । बिहान ४ बजे जानकारी पाएलगत्तै घटनास्थलतर्फ लागे पनि पानी परेकाले डेढ घन्टापछि मात्र प्रहरी पुगेको भीमफेदी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर वासुदेव थापाले बताए । घटनास्थल भीमफेदी बजारदेखि करिब पाँच किलो मिटर पूर्व सोलाभञ्ज्याङ गाउँको बाराहीथान टोलमा छ । घरभित्र पुरिएकालाई प्रहरी तथा सेनाको टोलीले जीवितै उद्धार गर्न नसकेको थापाले जनाए ।

उदयपुरमा बाढीका कारण दुईको मृत्यु भएको छ । गुह्य खोलामा आएको बाढीमा सोमबार बिहानदेखि बेपत्ता रामपुर ठोक्सिला–२ की ३८ वर्षीया कालीमाया राईको शव मंगलबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ। पानी जम्मा भएको पोखरीमा डुबेर तपेश्वरीकी १३ वर्षीया ऋतु प्रधानको मृत्यु भएको छ ।

मंगलबारको वर्षापछि आएको बाढीले कोहलपुरमा एकको मृत्यु हुनुका साथै दुई जना घाइते छन् । कोहलपुर–२, मदनचोकका १५ वर्षीय आकाश खत्रीको किरणनाला खोलाले बगाउँदा मृत्यु भएको हो ।

दिउँसो ३ बजेतिर खोलामा पौडी खेल्न गएका खत्रीलाई खोलाले बगाएको थियो । साँझ ५ बजे उनको शव फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए ।  वनकटुवा–२, पेडारीगाउँमा बाढी पसेर भान्साघर भत्किँदा दुई बालिका गम्भीर घाइते छन् । घाइते हुनेमा स्थानीय १४ वर्षे  सम्झना चौधरी र ११ वर्षे साधना चौधरी छन् ।

घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कपिलवस्तुको कजरहवा खोलामा दाउरा खोज्न जाँदा स्थानीय कपिल प्यारे कल्लारका छोरा शिव गुलाम बगेर बेपत्ता भएका छन् । उनको शव फेला नपरेको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर गुल्मी हस्तीचौर–१,  मल्दीमा ३, विशुखर्क–९ मा २ र  ह्वाङदी–३ मा २ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार हस्तीचौर–१ मा एकै परिवारका ६२ वर्षीया कालिका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जीको मृत्यु भएको छ । बिसुखर्क–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन र ६ वर्षीय छोरी सिमानाको ज्यान गएको छ । ्

ह्वाङ्दी–३ मा पहिरोले दुई घर पुरिँदा ३६ वर्षीय विष्णुप्रसाद घिमिरे र १३ वर्षीय आशा घर्तीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्लाका अधिकांश ठाउँ जोखिममा रहेकाले सतर्क रहन आग्रह गरिएको बताए ।

‘उच्च जोखीममा रहेका बस्तीका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ,’ उनले भने, ‘रिडीमा नदीको बहाव उच्च छ, बजार क्षेत्रका बासिन्दालाई सुरक्षितसाथ रहन आग्रह गरिएको छ ।’

(एलबी थापा–प्युठान, मुक्ति न्यौपाने–पाल्पा, रेखा भुसाल–रुपन्देही, रमेशकुमार पौडेल–मकवानपुर, किरणमान वज्राचार्य–कपिलवस्तु)

पत्नीलाई बचाउन खोज्दा बगे

भैरहवा— रुपन्देहीको सालझन्डीमा खोलाले बगाउँदा पति र पत्नी दुवैको मृत्यु भएको छ । स्थानीय कञ्चन खोलाले बगाउँदा सालझन्डी–१ का ६० वर्षे छविलाल गाहा र उनकी श्रीमती ५५ वर्षीया हुमकलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

सोमबार दिउँसो ३ बजेतिर बाख्रा चराउन घरबाट निस्किएका गाहा दम्पती साँझ अवेरसम्म  घर नफर्किएपछि  परिवार र स्थानीयले खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।

बाख्रा चराउँदै गर्दा हुमकली खोलामा खसेको र उनलाई तान्न जाँदा छविलाललाई समेत खोलाले बगाएको स्थानीयलाई उद्घृत गर्दै इलाका प्रहरी कार्यालय, सालझन्डीले जनाएको छ । छविलालको शव सालझन्डीस्थित कञ्चनखोला किनार र हुमकलीको शव रुद्रपुरस्थित खोलाकिनारमा फेला परेको इन्स्पेक्टर विनोद ज्ञवालीले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

प्रकाशित: १२ श्रावण २०७३ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App