१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलपर्यटन सघाउने प्रतिबद्धता

काठमाडौं- एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का वरिष्ठ पदाधिकारीहरूले नेपालको खेल पर्यटन प्रवर्द्धनमा संस्थागत रूपमै सहयोग गर्ने वचन दिएका छन्। एआइपिएस एसिया कार्यसमितिको दोस्रो बैठकका लागि काठमाडौं आएका विभिन्न देशका खेल पत्रकारले सोमबार नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा पर्यटन व्यावसायीसँग यस्तो प्रतिवद्धता जनाएका हुन्। तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको आयोजक हिमालयन एक्सपिडिसनका शिखर पाण्डेले जोखिमपूर्ण खेलकुद (एडभेन्चर स्पोर्टस) मा नेपालको सम्भावनाबारे जानकारी प्रस्तुत गरेपछि एआइपिएस एसियाका अध्यक्ष मोहम्मद कसिमले नेपालको खेल पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने वचन दिएका हुन्।

'नेपाल प्राकृतिक रूपमा अत्यन्तै राम्रो देश रहेछ। हामीलाई एआइपिएस एसियाको कार्यसमिति बठकका लागि तपाईहरूले दिनुभएको आतिथ्य उच्चस्तरको छ। यो देशसँग खेल पर्यटनको प्रचुर सम्भावना छ,' बहराइनका पत्रकार कसिमले भने, 'यहाँको मौसम जति प्रशंसा गरे पनि कम हुने खालको छ। नेपालको पर्यटन प्रवर्द्धनमा एआइपिएस एसिया आवश्यक सहयोगका लागि सधैँ तत्पर रहनेछ।'

एआइपिएस एसियाका महासचिव अम्जाद अजिज मलिकले यो बैठक नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोगी हुने बताए। 'एआइपिएस एसिया संस्थागत रूपमै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोगी हुनेछ,' उनले भने।

गतवर्षको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रियजगतमा नेपाल भ्रमणका लागि सुरक्षित नभएकोसन्देशगएको प्रसंग कोट्याउँदै पाण्डेले भने, 'तपाईहरू जस्ता प्रभावशाली पत्रकारको आगमनले अब नेपाल सुरक्षित र सामान्य अवस्थामा फर्किइसकेको छ भन्ने सन्देश प्रवाह हुनेछ।'

एसियाका विभिन्न देशका २९ खेल पत्रकारको उपस्थिति रहेको बैठकमा नेपाल पर्यटन बोर्डले पनि नेपालको चिनारी दिने खालको डकुमेन्ट्री प्रदर्शन गरेको थियो। पर्यटन बोर्डका अधिकारीहरूशरद प्रधान, सूर्य थपलिया र सुनील शर्माले विदेशी पत्रकारसँग नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न अनुरोध गरेका थिए।

नेपालमा पत्रकारहरूको एसियाली स्तरको यस्तो कार्यक्रम आयोजना हुनु पर्यटनका लागि राम्रो हुने बताउँदै थपलियाले भने, 'यो बैठक काठमाडौंमा राख्नुभएकोमा एआइपिएस एसिया र स्थानीय आयोजक नेपाल खेलकुद पत्रकार मञ्चलाई हामी बोर्डका तर्फबाट धन्यवाद दिन चाहन्छौं।'

अघिल्लो दिन आइतबार साँझ र्‍याडिसन होटलमा उद्घाटन गरिएको बैठक सोमबार गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न भएको थियो। बैठकले एसियाली खेलकुद र खेल पत्रकारितालाई माथि उठाउने विषयमा गम्भीर छलफल गरेको एआइपिएस एसियाका कोषाध्यक्ष एवं नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीले जानकारी गराए।

उनका अनुसार बैठकले एआइपिएस एसियाको मिडिया कमिटी सदस्यमा मञ्चका निवर्तमान अध्यक्ष अजय फुयाल तथा एसियाभर विभिन्न देशमा हुने खेल पत्रकारितासम्बन्धी तालिम सञ्चालनका लागि लेक्चररमा मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदीलाई मनोनीत गरेको छ।

प्रकाशित: ११ श्रावण २०७३ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App