१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

भविष्यमाथि खेलवाड भएको भन्दै दृष्टिविहिन विद्यार्थीहरुद्धारा प्रर्दशन

धरान- विद्यालयमा पढाउन छोडेर शिक्षक, शिक्षिकाहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलडवाड गरेको भन्दै धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका दृष्टिविहिन विद्यार्थीहरुले आन्दोलनरत ६ शिक्षक, शिक्षिकाहरुप्रति विरोध प्रर्दशन गरेका छन्।

विद्यालयमा नेवि संघ र तरुण दलका मान्छेहरु ल्याएर तालाबन्दी गराएर राजनीतिक हस्तक्षेप गराएकोप्रति पनि दृष्टिविहिन विद्यार्थीहरुले आन्दोलनरत शिक्षक, शिक्षिकाहरुप्रति चर्को रोष प्रकट गरेका छन्। साउन १० गते यता ६ जना शिक्षक, शिक्षिकाहरु पढाउन छोडेर आन्दोलनमा छन् भने मंगलबार विदाको समयमा नेपाल विद्यार्थी संघ र तरुण दल सम्बद्ध युवाहरुले विद्यालय प्रशासनमा तालाबन्दी गरेको छ । विद्यालयकी प्रअ केशरी थापाले विद्यार्थी र शिक्षक, कर्मचारीहरुमाथि अमानवीय व्यावहार गरेको दाबी गर्दै राजीनामा दिनुपर्ने माग राखेर ६ जना शिक्षक, शिक्षिकाहरु नयाँ शैक्षिक सत्र शुरु भएदेखि आन्दोलनमा छन् । तर, विद्यार्थीहरुले भने झुटो आरोपमा शिक्षक, शिक्षिकाहरु आन्दोलन गरेर शैक्षिक वातावरण खलल पुर्याएको भन्दै आन्दोलनरत शिक्षक, शिक्षिकाहरुकै विरोधमा छन्।

विद्यार्थीहरुले शुक्रबार प्ले कार्डसहित विद्यालयमा आन्दोलनरत शिक्षक, शिक्षिकाहरु विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले नपढाई राजनीति गर्ने शिक्षक, शिक्षिकाहरुले राजीनामा दिन र नयाँ शिक्षक, शिक्षिका नियुक्ती गरेर भएपनि पढाई सुचारु गर्न माग गरेका थिए । साथै, उनीहरु उपमहानगरमा गएर पढ्न नपाएको भन्दै आफ्नो गुनासोहरु पोखेका थिए । ‘नयाँ शैक्षिक सत्र शुरु भएदेखि ६ जना सरमिसले पढाउने बिषय राम्रोसँग पढाई नै भएको छैन, यो भन्दा अघि विद्यालयमा यस्तै कहिल्यै पनि भएको थिएन,’कक्षा १० का छात्र अमरदीप राईले भने,‘हाम्रो भविष्यमाथि खेलवाड गर्ने काम भइरहेको छ। विद्यालयमा नपढाउने र राजनीति गर्ने सरमिस हामीलाई चाहिदैन ।’ कक्षा ८ मा अध्ययनरत गगन आले मगरले वास्तविकता बुझ्दै नबुझी नेवि संघ र तरुण दलले विद्यार्थीको हकहितको लागि भन्दै विद्यालयमा ताला लगाएकोमा आक्रोश व्यक्त गरे । आफुहरुसँग सल्लाह नै नगरी आन्दोलनरत शिक्षक, शिक्षिकाको पक्षमा विद्यार्थी संगठनले ताला लगाएकोमा उनले आश्चर्य पनि जनाए। ‘नेवि संघले विद्यार्थीको हकहितको लागि ताला लगाएको रे, तर खै हामीसँग सल्लाह गरेको । हामीलाई थाहै नदिई ताला लगायो,’आलेले भने,‘विद्यार्थीकै भविष्यमा खेलवाड गर्ने शिक्षक, शिक्षिकाले राजीनामा दिए हुन्छ ।’

दृष्टिविहिन विद्यार्थीहरुले गएको मंगलबार तालाबन्दी गर्न आएका नेवि संघ र तरुण दलका युवाहरुलाई यथार्थ बुझाउन खोज्दा धम्की पनि दिएको खुलासा गरे । ‘उनीहरु गाडीमा आएको थियो, हामीले कुरा बुझाउन खोज्दा बढी नबोल, ताला खोल्यौ भने ठिक हुदैन भनेर धम्की पनि दिए,’ विद्यार्थी रविन जिमीले भने,‘हेडमिसलाई केके आरोप लगाएको रहेछ, तर उहाँ हाम्रो अभिभावक हो । सरमिस पढाएर घर जानुहुन्छ, तर उहाँ त हरदम हामीसँगै बस्नुहुन्छ । हामीलई अत्याचार गरेको भए किन यहाँ पढ्छौं ? हामी नै विरोध गथ्यौं नि ।’ विद्यार्थीहरुका अनुसार आन्दोलनरत शिक्षक, शिक्षिकाहरुले विभिन्न कक्षामा पढाउने अंग्रेजी, नेपाली, नैतिक, स्वास्थ्य तथा जनसंख्या, विज्ञान, शिक्षा र समाजिकलगायत बिषयको नियमित कक्षा भइरहेको छैन । ती बिषयका कक्षाहरु अन्य शिक्षक, शिक्षिकाहरुले लिइरहेका छन् ।

 

प्रकाशित: २७ श्रावण २०७४ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App