१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खाल्डोमा डुवेर चार बालिकाको मृत्यु भएको घटना छनविन सुरु

रौतहट- रौतहटको गरुडामा शनिवार सडक किनारको खाल्टोमा डुबेर मृत्यु भएका चार बालिकाको घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली घटनास्थलको निरीक्षण गरेको छ। गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका सहसचिव दीपक काफ्लेको नेतृत्वमा प्रहरी प्रधान कार्यालयका डिआइजी पुष्प रन्जित र सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमसहितको टोलीले चार बालिका डुबेको खाल्टोको स्थलगत निरीक्षण गर्दै पीडित परिवारलाई पनि भेटेको छ।

गत शनिवार गरुडा नगरपालिका ४ का राम एकबाल साहका १२ वर्षीया छोरी संगीता कुमारी साह र ९ वर्षीया छोरी सुनिता कुमारी साह, प्रेमनारायण साहकी ९ वर्षीया छोरी सुस्मिता कुमारी साह र जोगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना कुमारी साहको एकै ठाउँमा डुबेर मृत्यु भएको थियो।

छानबिन गर्न आएको टोलीले घटना कसरी हुन पुग्यो भन्ने विषयमा पीडित परिवार र स्थानीयबासीसित छलफल गरेको छ । पीडितले टोलीसमक्ष क्षतिपूर्तिको माग दाबी गर्दै घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ । पीडित परिवारलाई भेट्न छानबिन टोली गाउँमा पुगेपछि स्थानीयबासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले घटनाको गहन छानबिन र भविष्यमा यस प्रकारको घटना हुन नदिन उपायको खोजी गर्नुपर्ने माग गरेका छन् । सडक निर्माण गर्दा दुवैतिर खाल्टो खन्ने प्रवृत्तिको विकल्प खोज्न स्थानीयबासीले जोड दिएका छन् ।

घटनाको विषयमा छानबिन गर्न आएको टोलीका प्रमुख सहसचिव काफ्लेले प्राप्त विवरणहरुको आधारमा छिटै प्रतिवेदन सरकारलाई बुझाउने बताएका छन् । टोलीले सबै पक्षसित सोधपुछ गरेर प्रतिवेदन तयार पार्ने सहसचिव काफ्लेले बताएका छन् ।

छानबिन टोलीसँगै रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापा, नारायणी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्याय, रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी रौतहट प्रमुख भगवान मल्ल, राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख नवीन अधिकारी लगायतका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । टोली छानबिन गर्न गाउँमा पुगेपछि पीडितको घरमा रुवाबासी मच्चिएको थियो।

यसै गरी राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त निर्देशक दीपेन्द्र सिंहको नेतृत्वमा आएको मानव अधिकार टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै पीडित परिवारसित पनि छलफल गरेको छ।

यसैबीच पीडित परिवारले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा क्षतिपूर्तिको लागि निवेदन समेत दिएका छन्।

 

 

प्रकाशित: २४ श्रावण २०७४ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App