१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लमजुङ भित्रियो बहुप्रतिक्षित २० एमभिए क्षमताको ट्रान्सफर्मर

ढल्केवरबाट लमजुङमा ल्याइएको २० केभि क्षमताको ट्रान्सफर्मर । तस्बिर सौजन्यःमाधव न्यौपाने

लमजुङ – ३३ केभि प्रसारण लाइनको क्षमता बढाउने र विद्युत सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले २० केभिए क्षमताको ट्रान्सफर्मर जिल्लामा ल्याइएको छ ।

बेला न कुबेला झ्याप्प–झ्याप्प लाइन गएर चरम सास्ती भोग्दै आएका यहाँका उपभोक्ताले प्राधिकरणसँग गुनासो र माग गरेको धेरैपछि बिहीबार उक्त ट्रान्सफर्मर जिल्ला भित्रिएको हो । 

नेपाल विद्युत प्राधिकरण मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युतगृहमा सो ट्रान्सफर्मर जडान गरिने र त्यसपछि बारम्बार विद्युत कटौती भइरहने समस्या घट्ने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए । अहिले ट्रान्सफर्मरको एउटा ढिक्का मात्रै आइपुगेको र आवश्यक सामाग्रीहरू आउन बाँकी नै रहेकाले प्रकृयागतरुपले यसको जडान गर्न केही समय लाग्ने उनी बताउँछन् । ‘मुख्य सामान आयो अब प्राविधिक र अरु सामान पनि ल्याउँदैछौं,’ न्यौपाने भन्छन्, ‘सकेसम्म छिट्टै जोड्छौं, भन्दा भन्दैपनि १५ दिन नभए एकमहिना चैं लाग्न सक्छ ।’ ढल्केवर सवस्टेशनमा जगेडामा रहेको ३८ टन वजनको सो ट्रान्सफर्मर त्यहाँबाट हिडाएको दुई हप्तामा यहाँ आइपुगेको पनि उनले बताए ।

मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युतगृहमा हाल रहेको १२ केभिए क्षमताको ट्रान्सफर्मरको सट्टामा यो यसको प्रयोग गरिने भएको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर जडान भएपछि जिल्लामा उत्पादित विद्युत डुम्रे–दमौली सिधै १३२ केभि प्रसारण लाइन मार्फत् प्रवाह गराउन सकिने र ३३ केभि लाइनमा ‘ट्रिपिङ्ग’(लाइन गइरहने) समस्या कम हुने प्राधिकरणले जनाएको छ । जिल्लामा विशेषगरी बारम्बार लाइन कटौती भइरहने, विद्युत प्रवाह नियमित र एउटै प्रकृतिको नभई ‘हाई–लो भोल्टेज’आउने र त्यसका कारण विद्युतीय सामाग्रीमा क्षति पुग्ने देखि आगलागी सम्मको दुर्घटना हुने सम्मको समस्या रहेको उपभोक्ताको गुनासो रहेको छ । जिल्लामा ल्याइएको नयाँ ट्रान्सफर्मर जडान गरेपछि ‘ओभरलोडिङ्ग ट्रिपिङ्ग’ समस्या धेरै समाधान हुने प्राधिकरणका प्राविधिकहरु बताउँछन् । 

त्यसैगरी, जिल्लामा उत्पादित करिब १६ मेगावाट विद्युतलाई ३३ केभिए लाइन मार्फत् उपभोक्तालाई गुणस्तरीय सेवा दिन सकिने हुँदा यहाँ उत्पादित विद्युत वितरणमा पनि समस्या नहुने बताईएको छ । यहाँ उत्पादित सिउरीखोला ५ मेगावाट, राधीखोेला, ४.४ मेगावाट, खुदी खोला ४ मेगावाट, छ्याङ्दी खोला २ मेगावट, स्याँगे लघु जलविद्युत ११ किलोवाट विद्युत जिल्लामै खपत गराउन पनि निकै सहज हुने प्राधिकरणले जनाएको छ । यहाँका उपभोक्ताले लामोसमय देखि बढी क्षमताको ट्रान्सफर्मर जडान गर्न, गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गराउन प्राधिकरणसँग माग गर्दै आएको र उनीहरुको समस्यालाई ध्यान दिएरै काम गरेको लमजुङ वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए । यहाँका लागि निकै ठूलो उपलब्धी भएको उनी बताउँछन् । ‘यसको लागि हामीले निकै कसरत ग¥यौं,’ न्यौपाने भन्छन्, ‘यो ‘मोस्ट वेईटेड’(बहुप्रतिक्षित)ट्रान्सफर्मर हो ।’ 

जिल्लामा प्राधिकरणको तालिका अनुरुपको लोडसेडिङ छैन, ३३ केभि लाईनमा आउने विभिन्न फल्ट, ११ केभि लाईन अन्र्तगतका जीर्ण संरचना, कमजोर अवस्थाका ट्रान्सफर्मरहरुमा आउने खराबीका कारण छिनछिनमा बत्ति जाने समस्या रहेको लमजुङ विद्युत उपभोक्ता संस्था रानीकुवाका अध्यक्ष श्रीकान्त घिमिरेले बताउँदै आएका छन् । 

बेसीशहर नगरपालिका ३ रानीकुवामा रहेको विद्युत उपभोक्ता संस्थाले बेसीशहर, नयाँगाउँ, भोटेओडार र ओखरी गरि ४ वटा फिडर मार्फत् लमजुङमा साविकका ३४ र तनहुँका  रुपाकोट, चोकचिसापानी र पुर्कोटमा विद्युत सेवा दिँदै आएको छ । २५ देखि २ सय केभिए क्षमता सम्मका १ सय ६६ वटा ट्रान्सफर्मर मार्फत् कूल २५ हजार वढी ग्राहकलाई विद्युतीय सेवा दिईएकोमा कुनै न कुनै ट्रान्सफर्मरमा आउने गरेको उपभोक्ता संस्थाले जनाएको छ । ट्रान्सफर्मर लगायतका अन्य सामाग्री र संरचनाहरू कमजोर भएको र तिनमा अत्याधिक समस्या आउने भएकाले आफूहरूले निकै सास्ती भोग्नु परेको गुनासो उपभोक्ताले गर्दै आएका छन् ।

प्रकाशित: २० श्रावण २०७४ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App