२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मनाङमा यार्तुङको रौनक

तस्बिर सौजन्य: बिनोद गुरुङ

लमजुङ- मुलुकमा राजनीतिक सरगर्मी चढेको छ, कतै पुनःमतदानको चर्चा, मतगणनाको चटारो, कतै जिल्ला समन्वय समितिका कसलाई पठाउने भन्ने चर्काचर्की। खेतीपातीको बेला पनि यतिबेलै हो। पुरानो भनाई नै छ, ‘मानो रोप्ने, मुरी भित्र्याउने’ । वर्खा सकिएकै छैन । एकातिर मकैबाली थन्क्याउने चटारो छ त कतै धान रोपाईंको चटारो सकिएको छैन । तर यतिबेला हिमालपारीको जिल्ला मनाङका बासिन्दा भने लगातार पाँच दिनसम्म यार्तुङपर्वमा रमाए।

                जिल्लाको माथिल्लो भेगका हिमालीगाउँका मनाङ्गीहरु खेतीबाली लगाउने काम सकेर फुर्सदको समयमा मनाईने पर्व यार्तुङ अर्थात् घोडा दौडाएर आनन्द लिने, नाचगान गर्दै रमाईलो गर्ने र गुम्वामा पूजा गर्दै मनाउने पर्वमा रमाएका हुन्। पाँच दिनसम्म मनाईएको यो पर्वमा ३ दिनसम्म रमाईलो कार्यक्रम र २ दिन लगातार पुजाआजा गर्ने गरिन्छ। आ–आफ्नो बारीमा गहुँ, करु, फापर र तरकारी खेती लगाएर सकेका सर्वसाधारण साविक मनाङ र भ्राका गाविसको विचमा अवस्थित फराकिलो चुक्र्युङ फाँटमा भेला भएर निष्फक्री रमाईले गरेका मनाङका स्थानीय टक्की गुरुङले बताए। उनका अनुसार माथिल्लो मनाङका साविक मनाङ, टंकीमनाङ, पिसाङ, भ्राका, खाङ्सार, ङावल र पिसाङ गरि ७ गाउँ विकास समितिका झण्डै सयजना आ–आफ्नो घोडा लिएर यार्तुङमा सहभागी भएका थिए। खेतीपातीको काम सकेर यार्तुङपर्व मनाउने पुरानो परम्पराले स्थानीयबासी सँगै विदेशी पर्यटकलाई समेत निकै लोभ्याउने गरेको गुरुङ बताउँछन्। यो पर्वलाई एउटा विजय उत्सवको प्रतिकको रुपमा लिईने उनको भनाई छ । विगतमा अनेकौं सिमाना तथा अन्य विभिन्न कारणले झै–झगडा र लडाईं भईरहने र जित्ने पक्षले विजयको उन्मादमा यो पर्व मनाउन सुरु गरिएको र अहिले पनि रहीरहेको स्थानीय भुजुङ गुरुङ बताउँछन्।

यसवर्ष १६ देखि ६० वर्ष सम्मका पुरुषहरु घोडा कुँदाउने, स्थानीय परम्परा र रीतिरिवाज अनुसार मनाङ्गीभाषा गीत गाएर ढोल र झ्याली बजाउँदै ठूलो समुहमा एकैसाथ नाचगान गर्ने र मौलिक परिकार खाएर रमाईलो गरेका थिए । समुद्री सतहदेखि ३ हजार ५ सय ४० मिटर उचाईमा रहेको पर्वस्थलमा निकै साजसज्जाका साथ ल्याईएका रंगीचङ्गी घोडाहरु, स्थानीय भेषभुषा बख्खु, भुरे, छत्रेटोप, ऊनको बाक्लो कानेटोपी सहितको पहिरनमा सजिएका सर्वसाधारणको सहभागिताले वातावरण नै निकै रमाईलो हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । वरिपरी हिउँ पर्दै र पग्लिदै गर्ने डाँडाहरु, पाखाभरि हरिया घाँसका बुच्का–बुच्की र तलपट्टिको समतल जमिनमा फुलेका सेता, पहेँला रङ्गीविरङ्गी हिमाली फुलहरु, अनि ठाउँ–ठाउँमा उम्रिएका लेकाली वनस्पतिले ढाकेको मैदानमा धुलो उडाउँदै बेतोडले कुदेका सयौं घोडाहरु अनि घोडचढीहरुको स्यो–स्यो र सुई–सुईको दृश्यले पर्वस्थलको माहौलको रौनक नै बेग्लै हुने र यो माहौल हेर्दा कुनै चलचित्रको दृश्या झैं लाग्ने बताए ।

 

 

प्रकाशित: १७ श्रावण २०७४ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App