१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजधानीका सडकमा खाल्डा उस्तै

काठमाडौं- यति बेला काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ। सडक हिँडिसक्नु छैनन्, खाल्डैखाल्डा मात्र छन्। वर्षासँगै खाल्डामा भरिएको पानीले पोखरी बनेका छन् सडक।

यस्ता सडकले उपत्यकावासीलाई सास्ती मात्र छैन, ज्यानकै जोखिम धेरै बढेको छ। सडककै कारण राजधानी ‘डेथ सिटी’ मा परिणत हुन गएको टिप्पणीसहित सार्वजनिक लेखा समितिको बैठकमा बिहीबार सांसद् हरि नेपालले चिन्ता व्यक्त गरे।

यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको दुरवस्थाले काठमाडौंलाई राजधानी भन्दा लज्जित हुनुपरेको बताएका थिए। देउवाले शनिबार १५ दिनभित्र राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएका थिए। ६ दिन बितिसक्दा पनि उनको निर्देशनको प्रभावकारी कार्यान्वयन भएको देखिएको छैन।

बिहीबार सडकमा निस्कँदा त्रिपुरेश्वर, कंलकी, कोटेश्वर, गौशाला, चाबहिल, कपन, नारायणगोपाल चोक, जमल, रातोपुल, ज्ञानेश्वर, मैतीदेवी, पुतलीसडकलगायतका क्षेत्रमा बग्रेल्ती खाल्डा देखिए। माइतीघर र गौशाला क्षेत्रमा भने सडकका खाल्डा पुर्ने काम भइरहेको देखियो।

खाल्डा पुर्ने जिम्मा पाएका निकायका टोलीले बिहीबार त्रिपुरेश्वर, थापाथली—माइतीघर, गौशाला–मित्रपार्क क्षेत्रका सडकको अवस्था निरीक्षण गरेको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले बताए। 'बर्खाको समय भएकाले काम गर्न अति नै चुनौती छ,' उनले भने, 'धेरै दुःख दिने खाल्डा पुर्न प्राथमिकता दिएका छौं।'

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले कार्यालयको कामले बाहिर निस्कन नपाएको बताए। उनले भने, 'खाल्डा पुर्ने जिम्मा त पाएँ तर कार्यालयकै कामले बाहिर निस्कने फुर्सद हुन्न।'

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा पनि सडकका खाल्डा पुर्ने विषयमा छलफल भएको बताए। 'खाल्डा पुर्न जिम्मा दिएका निकायलाई हामीले निरन्तर अनुगमन गरिरहेका छौं,' उनले भने।

‘प्रधानमन्त्रीको निर्देशनपछि हामीले खाल्डा पुर्ने काम सुरु गराएका छौं,’ सडक विभागका महानिर्देशक गोपाल सिग्देलले भने, ‘दुईतीन दिन पर्खिनुस्, त्यसको परिणाम देखिनेछ।’ तत्कालका लागि भने ग्राभेल गरेर खाल्डा पुर्न थालेको उनले बताए। ‘वर्षाका कारण १५ दिनभित्रमै कालोपत्रे गर्न त सम्भव हुँदैन,’ सिग्देलले भने, ‘अहिले ग्राभेल गरेर खाल्डा पुर्नेमात्रै हो।’

उनले ग्राभेल गरेर खाल्डा पुुर्ने भने पनि हिलो माटोमात्र खन्याइएको छ। बौद्ध सडकमा माटो हालेरै पुरिरहेको देखियो। बौद्ध क्षेत्रमा यसअघि पनि पटकपटक माटोमात्रै हालेर खाल्डा पुर्ने काम भएको थियो। त्यस्तो माटो पानी आएसँगै बगाएर लगेको स्थानीय  दुर्गानाथ दाहाल बताउँछन्।

प्रधानमन्त्री देउवाको निर्देशनपछि प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेले संघीय मामिला तथा स्थानीय विकास सचिव थपलिया, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलाई खाल्डा पुर्न निर्देशन दिएका थिए। यी तीनै सचिवले सडकखण्ड छुट्याएर मातहतका निकायलाई खाल्डा पुर्न निर्देशन दिएका छन्। उनीहरुले आआफ्नो जिम्मेवारीअन्तर्गतका सडकमा मातहतका कार्यालयले खाल्डा पुर्ने काम थालिसकेको दाबी गरेका छन्।

प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेले पनि निरन्तर अनुमगन गरेर सरोकारवाला निकायमार्फतसडकका खाल्डा पुर्ने काम भइरहेको बताए। ‘प्रधानमन्त्री कार्यालयको समन्वयमा सडकसँग प्रत्यक्ष सरोकार राख्ने निकायले खाल्डा पुर्ने काम थालिसकेका छन्,’ सचिव घिमिरेले भने, ‘प्रधानमन्त्रीको निर्देशनअनुसार तोकिएकै समयमा खाल्डा पुर्ने काम हुनेछ।’

पुरिएका खाल्डामा धसिए गाडी

बौद्ध पीपलबोटमा बिहीबार बिहान सडकका खाल्डा पुरियो। विडम्वना! त्यसले झन् समस्या ल्याइदियो। माटोले पुरिएका खाल्डामा माइक्रो बस फसेपछि झन्डै एक घण्टा सडक जाम भयो। प्रधानमन्त्री देउवाको निर्देशन पालना गरेको देखाउन खाल्डामा हिलो माटो खन्याउँदा समस्याको समाधान होइन, समस्यामाथि समस्या थपेको स्थानीय बताउँछन्।

पैदल यात्रुको शरीरभरि हिलो

यस्तो जोखिम राजधानीका सडकमा पाइलापाइलामा भेटिन्छ। उपत्यकाको स्थलगत भ्रमण गर्दा लाग्छ, खाल्डा नभएका सडक नै छैनन्। चाबहिल–साँखु, त्रिपुरेश्वर–कंलकी–नागढुंगा सडकमा खाल्डा नभएको ठाउँ नै छैन। कोल्टे परेर सवारीसाधन खाल्डामा जमेको लेदो पैदल यात्रुलाई छ्याप्दै गुड्छन्।

‘सडकमा खाल्डैखाल्डा छन्,’ बौद्धका रोशन कार्कीले भने, ‘सवारीसाधन गुड्दा खाल्डाको हिलो र पानी पसलभरि हुन्छ।’ कार्कीले भोगेजस्तो समस्या सडक आसपास व्यवसाय गर्ने व्यवसायी सबैले भोगिरहेका छन्।

खाल्डाले बढायो जाम

सडकका खाल्डाले ट्राफिक जाम र दुर्घटना समेत निम्त्याउने गरेको छ। 'उपत्यकाको जामको एक मुख्य कारण खाल्डाखुल्डी पनि हो,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले भने, 'खाल्डा पुर्ने हो भने जाम समस्या २५ प्रतिशत समाधान हुन्छ।' उनले बर्खाको समयमा खाल्डाखुल्डीले सवारी आवागमनमा अवरोध पुर्‍याएको जानकारी दिए। 'पछिल्लो समय खाल्डाखुल्डीकै कारण सबैभन्दा बढी अवरोध चाबहिल क्षेत्रमा हुने गरेको छ,' उनले भने, 'खाल्डाखुल्डी भएको ठाउँमा सवारीसाधनको गति पनि कम हुन्छ, गति कम हुनासाथ जाम सुरु हुन्छ।' उनले कतिपय सवारीसाधन खाल्डामा फसेर सडक नै अवरुद्ध पनि हुने गरेको बताए।

प्रकाशित: ६ श्रावण २०७४ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App