१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यतीले १ अर्बमा एउटा एटिआर जहाज ल्याउने

काठमाडौं- निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले करिब १ अर्ब रुपैयाँ लगानीमा एकथान जहाज ल्याउने भएको छ। फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे 'एटिआर७–२५००' सिरिजको उक्त जहाज दुईदेखि चारदिनभित्र काठमाडौं आउने छ।

यतीले लामो समयपछि जहाज परिवर्तन गर्न लागेको हो। हाल यतीले बेलायतमा निर्मित ३० सिट क्षमतायुक्त 'जेटस्ट्रिम–४१' सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ। केही दिनभित्रै काठमाडौं आउने जहाज लिन यतीको टोली अहिले सिंगापुर पुगेको छ।

'जहाज भाडा र बिक्री गर्ने सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको जहाज बढीमा चार दिनभित्र काठमाडौं आइपुग्छ,' यतीका मिडिया म्यानेजर भीमराज राईले बुधबार नागरिकसँग भने, 'तालिकाअनुसार बुधबारै अवतरण गर्ने भए पनि केही कागजी प्रक्रिया पूरा नभएकाले आउन सकेन। अब थप दुई/तीन दिन लाग्ने भयो।'

नयाँ जहाज लिन यतीका अपरेसन डाइरेक्टर तथा वरिष्ठ क्याप्टेन प्रमोद पौडेलको नेतृत्वमा पाइलट, इन्जिनियरलगायतको टोली सिंगापुर गएको छ। जेटस्ट्रिमबाट एटिआरमा फड्को मार्न लागेको यतीले एटिआर जहाज उडाउन आफ्ना १६ जान पाइलटलाई अजरबैजानको बाकुमा तालिम दिलाएर ल्याइसकेको छ। उनीहरूलाई 'ग्राउन्ड क्लास' भने काठमाडौंमै दिइएको थियो। त्यस्तै इन्जिनियरले फ्रान्समा तालिम लिएर फर्केका छन्।

'हालै एटिआर जहाजको तालिम लिएर आएका पाइलटलाई क्याप्टेनमा स्तरोन्नति गर्न केही अवधिका लागि दुईजना विदेशी प्रशिक्षक पाइलट पनि ल्याउँछौं,' राईले भने, 'त्यसपछि आफ्नै को–पाइलट र क्याप्टेन तयार हुन्छन्।'

यतीले केही दिनभित्रै ल्याउन लागेको एटिआर जहाज हाल नेपालमा भएकामध्ये सबैभन्दा कम उमेरको हुने कम्पनीले दाबी गरेको छ। यस किसिमका जहाज नेपालमा अर्को निजी वायुसेवा कम्पनी बुद्ध एयरसँग चारथान सञ्चालनमा छन्। नयाँ जहाज आए पनि गन्तव्य नथपिने तर उडान संख्या भने बढाउने कम्पनीले जानकारी दिएको छ। एटिआर जहाज ल्याएपछि यतीको प्रतिस्पर्धा बुद्ध एयरसँग मात्र हुने छ।

'बजार र यात्रुको मागअनुसार एटिआर जहाज ल्याउन लागेका हौं। नयाँ जहाज आएको दुईदेखि तीन साताभित्र नियमित व्यावसायिक उडान गर्ने गरी काम भइरहेको छ,' मिडिया म्यानेजर राईले भने, 'बुद्धको आफ्नो बजार छ, हाम्रो आफ्नै बजार, ब्रान्ड, प्रतिष्ठा, यात्रु र आफ्नै खालको सेवा छन्। हामी प्रतिस्पर्धी भाडा दरमा उडान गर्छौं जसको प्रत्यक्ष फाइदा यात्रुलाई नै हुने गर्छ। तर, हामी पैसाभन्दा सेवामा प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता राख्छौं।'

यतीले पहिलो एटिआर७२–५०० जहाज काठमाडौं ल्याएको एक महिनापछि अर्को यस्तै जहाज ल्याउने योजना बनाएको छ। त्यसैगरी एक वर्षभित्र यही सिरिजको तेस्रो जहाज ल्याउने योजना पनि उसले बनाएको छ। तीन जहाजका लागि कम्पनीले न्यूनतम ३ अर्ब रुपैयाँ लगानी गर्ने छ। यतीले विस्तारै जेटस्ट्रिम–४१ जहाज विस्थापन गर्दै एटिआर नै ल्याउने तयारी गरिरहेको छ। 

हाल यतीले ६ थान जेटस्ट्रिम–४१ जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट, पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटार गन्तव्यका लागि दैनिक २५ देखि ३० उडान गर्दै आएको छ। कम्पनीले ती सबै सेक्टरका उडानमा अपांगलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५, बालबालिकालाई ३३.३३ र शिशुलाई ९० प्रतिशत छुट दिँदै आएको छ। 

पछिल्लो तथ्यांकअनुसार सन् २०१६ मा यतीले ४ लाखभन्दा बढी यात्रुलाई विभिन्न गन्तव्य पुर्‍याएको थियो। हाल आन्तरिक उड्डयन बजारमा यतीको हिस्सा ३५ देखि ४० प्रतिशत रहेको कम्पनीको भनाइ छ।

प्रकाशित: ५ श्रावण २०७४ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App