२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

बुँदा अथ्र्याउन नसक्दा नेवानिलाई ठूलो घाटा

काठमाडौं – हवाई नीति स्पष्ट नहुँदा नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्न भुटान एयरलाइन्सको एक थान ठूलो जहाज भाडामा ल्याउन असफल भएको छ । हवाई नीति २०६३ मा उल्लेख गरिएको बुँदा अथ्र्याउन नसक्दा जहाज भाडामा ल्याउन नसकेको हो । उक्त जहाज भाडामा लिन नसक्दा निगमलाई दैनिक झन्डै ५५ लाख रुपैयाँ घाटा हुनेछ । 

अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र बोइङ ७५७ जहाज नियमित मर्मत (सी–चेक) गर्न असार अन्तिममा सिंगापुर जाने तयारीमा छ । मर्मत गर्न झन्डै दुई महिना लाग्ने भएपछि उक्त जहाजले उडान गर्दै आएको ठाउँमा भुटानी एयरलाइन्स ल्याउने तयारी निगमले गरेको थियो। 

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्न ‘ग्लोबल टेन्डर’बाट छानिएको भुटानको जहाज बढीमा दुई महिनाको लागि भाडामा लिन दुई एयरलाइन्सबीच सम्झौतासमेत भइसकेको थियो । तर, हवाई नीति २०६३ अनुसार उक्त जहाज ल्याउन मिल्ने र नमिल्नेबीच मतान्तर भएपछि जहाज ल्याउने काम तत्कालका लागि स्थगित भएको छ । 

हवाई नीति २०६३ को बुँदा ५.२ मा ‘उडान सुरक्षा’ शीर्षक अन्तर्गत ‘प्रेसराइज्ड वायुयानको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ७५ प्रतिशत पूरा गरेको वा ४५००० प्रेसराइजेसन साइकल पूरा गरेको जुन पहिला हुन आउँछ त्यस्ता वायुयानहरू आयात गर्न निषेध गरिनेछ’ भन्ने उल्लेख छ । उक्त बुँदालाई वायुसेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत अथ्र्याउन नसक्दा निगमलाई प्रत्यक्ष घाटा हुने भएको हो । नीतिमा उल्लेख गरिएको बुँदाका आधारमा निगमलाई जहाज ल्याउन स्वीकृति दिँदा प्राधिकरणलाई नै अप्ठेरो पर्ने भन्दै उसले मन्त्रालयमा चिठी लेखेको थियो। 

मन्त्रालयमा भने मन्त्री र सचिव नहुँदा निर्णय हुन सकेको छैन । मन्त्रालयका एक उच्च अधिकारी वायुसेवा निगमले ल्याउन लागेको जहाजमा उक्त बुँदा आकर्षित नहुने बताउँछन् । तर निर्णय गर्ने मन्त्री र सचिव नै नहुँदा फाइल नै अघि बढ्न सकेको छैन । ‘उक्त बुँदाले निगमलाई जहाज ल्याउन रोक्दैन,’ ती अधिकारीले भने, ‘तर, नीतिको गाँठो फुकाउने व्यक्ति नै भएनन् ।’ 

निगम अधिकारी पनि नीतिमा उल्लेख ‘आयात’ भन्ने शब्द उल्लेख गरेको विषयलाई भाडामा पनि जोड्न नहुने बताउँछन् । ‘ऐनले स्पष्ट रुपमा आयात भन्ने शब्द उल्लेख गरेको छ,’ निगमका एक अधिकारीले भने, ‘प्राधिकरणले मानोमानी रुपमा कानुन व्याख्या गरेर निगमलाई अप्ठेरो पार्ने काम गरेको छ ।’

निगमसँग रहेको अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित एक सय ९० सिट क्षमताको ‘बी७५७–२००’ सिरिजको जहाज यही असार अन्तिममा मर्मतका लागि सिंगापुर जाने तयारीमा छ । मर्मत गर्न झन्डै दुई महिना लाग्छ । सोही अवधिमा साउन १ देखि भुटान एयरलाइन्सको जहाज उडाउने तयारीमा निगम थियो । 

निगमको एक ठूलो जहाज दुई महिनासम्म उड्न नपाउने भएपछि यसले दैनिक रुपमा गर्ने अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछ । निगमका एक उच्च अधिकारीका अनुसार उडान भर्न नपाउँदा निगमले दैनिक ५० देखि ५५ लाख रुपैयाँ नोक्सान बेहोर्नु पर्नेछ । निगमका अनुसार जहाज मर्मतमा गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, कतारको दोहा, भारतको नयाँदिल्ली र बैंगलोरका लागि नियमित तथा चार्टर्ड उडान हुने छैनन् ।  

सबैभन्दा धेरै यात्रु हुने ती ठाउँमा आफ्नो जहाज जान नपाउँदा निगमलाई शाख जोगाउन समेत अप्ठेरो पर्न सक्ने निगमका अधिकारी बताउँछन् । ‘दुई मिहनासम्म ती गन्तव्यमा उडान भर्न नपाउँदा निगमलाई वर्षौंसम्म असर पर्न सक्छ,’ निगमका एक अधिकारीले भने, ‘नेपाल एयरलाइन्सको विश्वासनीयतामा आँच आउने छ ।’   

निगमले हाल एक सय ५८ सिट क्षमताको ‘ए३२०–२००’ सिरिजका दुई थान तथा एक थान बी७५७–२०० जहाजबाट क्वालालम्पुर, दुबई, दोहा, हङकङ, बैंकक, नयाँदिल्ली, मुम्बई र बैंगलोर गन्तव्यमा उडान गरिरहेको छ । यी जहाजबाट निगमले हाल हप्तामा ३७ वटा उडान भर्दै आएको छ । तीनवटा जहाजमध्ये एउटा मर्मतमा जाने भएपछि अब हप्तामा १९ वटा उडान मात्र हुने निगम अधिकारीको भनाइ छ। 

भुटानको जहाज भाडामा लिन कम्तीमा असार २६ गतेसम्म निर्णय गरिसक्नुपर्ने निगमका एक अधिकारीले बताए । तर त्यसबारेमा मंगलबारसम्म कुनै निर्णय भएको छैन । ‘भुटानको जहाज ल्याउने निर्णय गर्न मन्त्रालयका (संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय) मन्त्री, सचिव समेत छैनन्,’ ती अधिकारीले भने, ‘मन्त्रालयले स्वीकृत नगर्दासम्म हामीले जहाज ल्याउन सकिँदैन ।’ 

तीनपटकसम्म आह्वान गरिएको ‘ग्लोबल टेन्डर’मा भुटान एयरलाइन्स र युक्रेनको एक वायुसेवाबाट टेन्डर परेको थियो । दुईमध्ये सबैभन्दा राम्रो भुटान एयरलाइन्स भएपछि निगमले उसलाई छानेको थियो । 

प्रकाशित: २८ असार २०७४ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App