१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गहना फेसन: हजुरआमाको प्रभाव कि हिन्दी सिरियलको

काठमाडौं-पछिल्लो समय गहना फेसनमा दुई धार देखिएका छन् । परम्परागत नेपाली लगाउने की आधुनिक फेसन गहना । रोजाइ उपभोक्ताकै हातमा छ । गहना फेसनका पारखी जस्तो गहना लगाए पनि आकर्षक डिजाइन र छुट्टै लुक्स भने सधै खोज्छन् ।
कोही हजुरआमाले लगाउने जस्ता गहना खोज्छन् भने कोही बलिउडका नायिकाले लगाउने डिजाइन जस्ता ।
यि दुवै थरी गहनाका पारखीको मिश्रण देखिन्छ सुन तथा गरगहनको बजारमा । ‘अहिले आधुनिक र पुराना गहना दुवैको माग छ,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा अर्सी गहन पसलका निर्देशक मनिशलाल प्रधानले भने, ‘उपभोक्ता दुवै खालका गहना खोज्छन्।’  उपभोक्ताको चाहना अनुसार व्यवसायी गहना डिजाइन गरिदिन्छन् । एकथरी युवा पुस्ता बुढापाका आमा, हजुरआमाले लगाएका पुराना गहना टपक्क टिपेका छन् भने अर्को थरी हिन्दी सिरियल वा ‘रियालिटीमा सो’मा नायिकाले लगाएका डिजाइन जस्ता ।  
पहिला चर्चा गरौं आधुनिक गहनाका । आधुनिक गहनाको प्रभाव हिन्दी सिरियलबाट परेको छ। आधुनिक र नयाँ डिजाइनका गहनाको चलन आउनुमा भारतीय टेलिभिजन सिरियलको प्रभाव परेको व्यवसायीको भनाइ छ । भारतीय फिल्म वा टेली सिरियलमा कलाकारले लगाउन आधुनिक नयाँ डिजाइनका गहना मन पराउने ग्राहक पनि पसलमा पुग्छन् । ‘टेलिसिरियलमा जस्तो गहना देखिन्छन् त्यस्तै डिजाइनमा अर्डर गर्न आउँछन्, ग्राहक,’ क्लासिक डाइमन्डका प्रबन्ध निर्देशक अमिर महर्जनले भने, ‘गहनाको डिजाइनमा भारतीय टेलिभिजनको प्रभाव छ । सिरियलमा नायिककाले जस्तो लगाउँछन् त्यस्तै खोज्छन् यहाँ पनि ।’
उनका अनुसार भारतीय टेलिभिजनमा आउने रियालिटी सो, विभिन्न अवार्ड कार्यक्रमका नायिकाले लगाएका गहनाका डिजाइनका प्रभाव नेपाली उपभोक्तामा पनि परेको छ । प्रधानले विदेशमा आएका गहनाका डिजाइनको प्रभाव तुरुन्तै काठमाडौंमा पर्ने गरेको सुनाए । ‘विदेशमा कस्तो खालको गहना चलेको छ त्यो प्रभाव काठमाडौंमा पनि परिहाल्छ,’ प्रधानले भने, ‘हिन्दी सिरियलमा हेरेर त्यस्तै डिजाइन चाहियो भन्ने धेरै छन् ।’
आधुनिक गहनाका पारखीलाई सिरियलको उदाहरण मात्र होइन, इन्टरनेट र गुगलको युगमा डिजाइन खोज्न गाह्रो छैन । गुगलमा गहनाका डिजाइन खोजेर अर्डर गर्न आउने पनि रहेको व्यवसायीले बताए ।
अहिले खासगरी डाइमन्डका गहनाको ‘ट्रेन्ड’ बसेको छ । पछिल्लो समय डाइमन्डका गहना पनि उपभोक्तालाई ‘एफोडेवल’ भएको प्रधानले बताए ।   
गहना फेसन पारखीले मन पराएका अर्का खालका गहना हुन परम्परागत नेपाली गहना । नेपाली पुराना गहनालाई नयाँ डिजाइनमा मोडिफाइ गरेर लगाउने चलन बढेको प्रधानले बताए । पछिल्लो समय युवायुवती पुराना गरगहनाको सौखिन भएका छन् । राजधानीमा रहेका गहना पसलमा पुराना डिजाइनको बिक्री समेत बढेको छ । हरेक पसलले युवा पुस्तालाई तान्न पुराना गहनालाई आकर्षक डिजाइनसमेत राख्न थालेका छन् ।
पछिल्लो दुई–तीन वर्षदेखि पुराना गहनाको चलन बढ्न थालेको हो । पहिले हजुरआमाले लगाउने गहनाका डिजाइनलाई युवा पुस्ताले पुनः चलनमा ल्याएका हुन् । व्यवसायीका अनुसार खासगरी, नौगेडी, जन्तर तिलहरी, कुली, नेपाली चुरा, क्लिपलगायत गहना नयाँ पुस्ताले लगाउन थालेका छन् ।  
डाइमन्ड, जेम्स स्टोन सेटको तिलहरी चलनमा छ अहिले । राणाकालमा प्रयोग हुने पगरीलाई नयाँ लुक्समा मोडिफाइ गरेर प्रयोग गर्ने चलन बढेको महर्जनले बताए ।
उपभोक्ताले पुराना डिजाइन वा आधुनिक जस्तो खोजे पनि खासगरी साधारण तर आकर्षक लुक्स भएका, हल्का, ‘एलिगेन्ट’ गहना मन पराउने महर्जनले बताए । आधुनिक वा परम्परागत डिजाइन जस्ता भए पनि पहिलाका भद्धाभन्दा पनि डाइमन्ड, स्टोन एक्पोज हुने हल्का आकर्षक गहनामा धेरै उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।
आजभोली खासगरी आधुनिक डिजाइनमा पहिलेका भन्दा फरक ‘मटरियल’ प्रयोग भएका गहनामा  उपभोक्ताको रोजाइ छ । पहिले कटन पोलिस गरेका गहना हुन्थे भने अहिले डाइमन्ड पोलिसका गहना चलनमा रहेका छन् ।
पुराना गहनाको माग बढ्नुमा विदेशमा बसेका नेपालीको कारणले पनि हो । विदेशमा बस्ने नेपालीले नेपालको परम्परा, संस्कृति र डिजाइन झल्काउने गहना लगाउन थालेका छन् । विदेशमै हुने सांस्कृतिक कार्यक्रम, सभा सम्मेलन, जमघट, चाडवाडमा नेपालीपन झल्काउने गहना लगाउन चाहन्छन् उनीहरू । यसै कारणले पनि परम्परागत नेपाली गहनाको माग बढेको हो ।
नेपाली गहना स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै माग भए पनि त्यसको फाइदा लिन नसकेको  व्यवसायी बताउँछन् । भारतमा नेपाली गहनाको जति माग छ त्यसको एक प्रतिशत मात्र निर्यात गर्न सके नेपाली सुनचाँदी व्यवसायले फड्को मार्ने देखिन्छ । तर, त्यस अनुसारको सुविधा, नीतिनियम र व्यवस्था नभएको व्यवसायीको गुनासो छ ।
विदेशमा नेपाली गहनाको माग धेरै भए पनि यताबाट पठाउन राम्रो व्यवस्था नभएको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार विदेशमा नेपाली गहनाको माग बढ्दो छ । माग राम्रो भए पनि यहाँबाट पठाउने व्यवस्था व्यवस्था भने छैन ।
सरकारी निकायबाट व्यवस्थित रूपमा गहनाको निर्यात गर्ने च्यानल नहुँदा विदेशबाट आएका नेपाली र विदेशीले व्यक्तिगत रूपमा किनेर लैजाने मात्र व्यवस्था छ । उताबाट माग भएबमोजिम कुरियरको राम्रो सुविधा हुने हो भने नेपाली सुनचाँदी व्यवसाय फस्टाउन सक्ने देखिन्छ । सरकारले निर्यातको राम्रो व्यवस्था नगरिदिँदा यताबाट जानेसँग गहना पठाउने गरेको व्यवसायी बताउँछन् ।
नेपाली गहनाको माग सबैभन्दा धेरै भारत, बेलायत, अमेरिका रहेको व्यवसायी बताउँछन् । बेलायमा बस्ने ब्रिटिस गोर्खा नेपालीले नेपाली गरगहना धेरै माग गर्ने गरेका छन् । नेपाली समाज भएको हङकङ, सिंगापुरमा पनि नेपाली गरगहनाका माग रहेको छ । विदेश ठूलो संख्यामा रहेका नेपालीलाई उनीहरूको माग अनुसार पठाउन नसक्दा भारतबाट यस्ता गहना निर्यात हुन थालेको व्यवसायी बताउँछन् ।  
चीनमा नेपाली गणेशको माग राम्रो छ तर नेपालबाट माग अनुसार पठाउन नसक्दा भारतबाट निर्यात भइरहेको छ । यसले नेपाली व्यवसायमा प्रत्यक्ष घाटा भइरहेको व्यवसायी बताउँछन् ।  
सुन तथा डाइमन्डका गहना भनेको फेसनको लागि मात्र होइन भन्छन् प्रधान । उनका अनुसार यो उपभोक्ताको लगानी हो । ‘यसले नेपाली समाजमा इन्सुरेन्सको पनि काम गरिरहेको छ,’ प्रधानले भने, ‘चाहिँदा तुरुन्तै बिक्री गर्न सकिन्छ  ।’
त्यस्तै, नेपाली गहनालाई उत्कृष्ट बनाउन कालिगढलाई राम्रो तालिमको व्यवस्था हुनुपर्ने व्यवसायी बताउँछन् । नयाँ पुस्ताले नयाँ, पुराना डिजाइनका गहना माग गर्छन् । उनीहरूको माग अनुसारका उत्कृष्ट डिजाइन दिन सके देशमा मात्र नभएरर विदेशमा पनि धेरै मात्रामा निर्यात गर्न सकिने छ । गुणस्तरमा पनि सुधार हुँदै गएको व्यवसायी दावी गर्छन् । प्रतिस्पर्धा बढ्दै जाँदा गुणस्तरीय गहना दिनुपर्ने बाध्यता पनि छ । अहिले ग्राहक पनि धेरै सचेत भइसकेका छन् ।
सरकारले सुन तथा सुनमिश्रित धातु, गरगहना सामानहरूको शुद्धता विशिष्टता परीक्षण गर्ने भनेर हलमार्क पद्धति लागू गर्ने भनेको धेरै भइसक्यो । सुन चाँदीका गहनाको हालसम्म कुनै जाँच तथा परीक्षण हुने गरेको छैन ।
हलमार्क पद्धतिका लागि भने व्यवसायी पनि सकारात्मक देखिएका छन् । व्यवसायीले यो नियम तुरुन्त लागू गर्न आग्रह गरिरहेका छन् । अर्डर अनुसारको गरगहना बनाएर, प्रक्रिया पु¥याएर व्यवसाय गरेमा व्यवसायीप्रति उपभोक्ताको विश्वास अझै सबल बन्ने व्यवसायीको भनाइ छ । अहिले उपभोक्ताले विश्वासको भरमा मात्र सुन खरिद गरेका छन् । हलमार्किङ पद्धति भएपछि सुनमा शुद्धता कति छ, सुनको मात्रा, फलामको मात्रा कति छ भनेर जान्न सजिलो हुन्छ । अहिले भइरहेको मेसिनले जाँच गर्दा भने सुनको मापन गर्न गार्हो हुने व्यवसायीको भनाइ छ ।
व्यवसायीका अनुसार हलमार्किङ पद्धति भए गहना निर्यात गर्न समेत सहज हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर निर्यात गर्दा नेपाली गहनाका ब्रान्ड स्थापित हुन सक्नेछ । विभिन्न मुलुकबाट आउने पर्यटकले समेत सुनका गरगहना खरिद गर्ने गरेकाले हलमार्किङ प्राप्त गरेपछि अर्डर गरेका सुनका गहनाको विदेशमा पनि माग हुने व्यवसायीको विश्वास छ ।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App