१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाँदरमुढे घटनाका १२ वर्ष : पीडित अझै न्यायको पर्खाइमा

चितवन- सशस्त्र संघर्षका बेला माडीको बाँदरमुढेमा यात्रुले खचाखच सार्वजनिक बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको निधन र ७२ जना घाइते भएको मंगलबार १२ वर्ष पूरा हुँदैछ। सो घटनाका घाइतेहरू अझै पनि न्यायको आशामा छन् भने माडीमै आएर क्षमा माग्ने बाचा पूरा नगरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालको व्यवहारले पीडितहरू दुःखित छन्।

'घटना भएदेखि नै हामीले तीन कुरा भन्दै आएका छौं;  घटनाको सत्यतथ्य सार्वजनिक होस्, दोषीमाथि कारवाही होस्, घटनामा मृत्यु भएका व्यक्तिका परिवार र अपाङ्ग भएकालाई जीवन धान्ने उपाय दिइयोस्,' बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भने, 'तर कुनै पनि माग अझैसम्म पूरा भएका छैनन्। बरु उल्टै हामीलाई धम्काउने र एक्लाउने काम भइरहेको छ।'

'हामी पीडित छौं। तर सकेसम्म हामीलाई नै हेप्न खोजिएको अवस्था छ,' अधिकारीले भने। घटनामा घाइते भएका १०/१२ जनाको अझै उपचार जारी छ। तीनजनाले मानसिक समस्याको औषधि सेवन गरिरहेका छन्।

२०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी विद्युतीय धराप विष्फोट गराइएको थियो। घटनालगत्तै माओवादी अध्यक्ष दाहालले जनयुद्ध कालकै ठूलो गल्ती भन्दै दुःख व्यक्त गर्दै क्षमायाचना गरेका थिए। अनुकूल समयमा माडीमै आएर क्षमा माग्ने उनले बताएका थिए।

दोस्रोपटक प्रधानमन्त्री भएपछि पनि दाहाल कयौं पटक चितवन आए। तर माडी पुगेनन्। बाँदरमुढे घटनापछि दाहाल २०६९ फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका बेला पीडितले विरोध प्रदर्शन गरेका थिए। तर, दाहालले पीडितलाई नभेटे पनि उनले त्यो बेला बाँदरमुढे घटनाका पीडितलाई सरकारले ६० लाख रुपैयाँको राहतको व्यवस्था गरेको बताएका थिए। तर, सो घोषणा अझै कार्यन्वयमा आएको छैन। सरकारसँग शान्ती सम्झौता हुनुअघि ६३ सालको कात्तिक ३ गते दाहाल, बाबुराम भट्टराई र रामबहादुर थापा बादलसहितका नेताहरूको टोलीले बाँदरमुढे घटनाका पीडितसँग भरतपुर नजिकको गाउँ फूलबारीमा भेटघाट गरेको थियो। सो भेटघाटका अवसरमा नेताहरूले राहतको प्याकेजसहित माफी माग्न चाँडै माडी आउने प्रतिबद्धता गरेका थिए।

फूलबारीमा भएको प्रतिबद्धताअनुसार दाहाल २०६३ सालको चैत्र  १५ गते माडी आउने तय भएको थियो। त्यही समयमा गौरमा माओवादी कार्यकर्ताको हत्या भएपछि उनको भ्रमण स्थगित भयो थियो। त्यस्तै, २०६४ सालको असार ९ गते उनी आउने कार्यक्रम पनि रद्द भएको थियो। दाहालले आफू माडी जाने योजनामै रहेको बताउने गरेका छन्।

माडी नगरपालिकामा मेयर पदमा विजयी भएपछि ठाकुर ढकालले बाँदरमुढेका विषयमा आफू गम्भिर भएर लाग्ने बताएका छन्। स्मारक निर्माण गर्नेदेखि घाइतेलाई सीपमूलक तालिम दिने र सक्षम घाइतेका लागि विशेष भत्ताको व्यवस्था गर्ने योजना बनाएको उनले बताए।

सत्य निरूपण आयोगको टोली माडी पुगेर घटनाबारे पीडितसँग बुझेको थियो। खुला ठाउँमा माओवादीसँग राखेर छलफल गराएको भन्दै पीडित आक्रोशित भएका थिए। न्यायको आशा मर्दै गएको र पीडितलाई शत्रुको जस्तो व्यवहार गर्ने परिपाटी माओवादीले राखेका कारण आफूहरू सधैं चिन्तित हुने गरेको अधिकारी बाताउँछन्।

प्रकाशित: २३ जेष्ठ २०७४ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App