१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

चितवन- भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारूढ कांग्रेस–माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

वडा नं. १९ को मतगणना भइरहँदा जेठ १४ गते आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो। माओवादी केन्द्रका गणना प्रतिनिधिले हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यातेकाले गणना नरोक्न माग गर्दै  सोमबारदेखि दबाबमूलक अभियान सुरु गरेको थियो। एमालेले मतगणनास्थल भरतपुरको कभर्ड हल नजिकै धर्ना दिँदै आएको थियो।

आयोगको निर्णय आएपछि शनिबार एमालेले धर्ना कार्यक्रम रोकेर साँझ मसाल जुलुस निकाल्यो। आइतबार मध्याह्न भरतपुरदेखि नारायणगढसम्म विरोध जुलुस प्रदर्शन गर्‍यो। चौबिस कोठीबाट सुरु भएको जुलुस पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

सभामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले आयोगले आफ्नो कुरा नसुने पनि सर्वोच्च अदालतबाट न्याय पाउने बताए।

मतदान सुरु गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट परे पनि सत्तारूढ दलले चुनावको तयारी सुरु गरेका छन्।

माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त बैठकले वडा नं. १९ को वडा अध्यक्षसहितका सवै पदमा माओवादीले कांग्रेस उम्मेदवारलाई मत हाल्ने सहमति गरेको छ।

त्यस्तै कांग्रेसका सबै मतदातालाई मेयर पदमा माओवादी उम्मेदवार रेणु दाहाललाई मत हाल्न लगाउने वातावरण बनाउन थप सक्रिय हुने सहमति बैठकले गरेको छ। मेयर पदमा कांग्रेस माओवादीबीच सहमति भए पनि कांग्रेसका सबै मतदाताले दाहाललाई नै मत दिएको अवस्था थिएन।

एमालेले पनि वडा नं. १९ मै आफ्नो अभियान लैजाने भएको छ। 'हामी सोमबारदेखि वडा नं. १९ मा जाँदैछौं। जनताको मतपत्र च्यात्नेविरुद्ध भन्डाफोर अभियान चलाउँछौं। जनताले एकपटक गरेको मतदानको महŒव कम छैन। पटकपटक मतदान गरेर जनमतको अपमान हुने काम रोक्ने अभियानमा छौं', एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले भने।

सर्वोच्च अदालतले मतदानमै जाने निर्णय गरेको अवस्थामा एमालेसँग अरू विकल्प रहने छैन। 'हामीलाई आशा र विश्वास छ अदालतले गणनाका पक्षमा निर्णय दिनेछ। तर मतदान भन्यो भने पनि हामी मैदान छाडेर भाग्दैनौं। हामीले हार्ने डरले मतदानको विरोध गरेको हैन', खड्काले भने।

प्रकाशित: २२ जेष्ठ २०७४ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App