१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्रविधिमा महिला

सूचना प्रविधिमा सहभागी भएर आफूले सिर्जना गरेका प्रविधि देखाउँदै नेपाली छात्रा । तस्बिर : चाँदनी हमाल

प्रवेश श्रेष्ठले बनाएको महिलामैत्री ‘फाइट भायोलेन्स एगेन्स्ट ओमन’ नामको कम्प्युटर सफ्टवेर कार्यक्रम अहिले चर्चामा छ । यो कार्यक्रमले महिलामाथि हुने विभिन्न खालका हिंसा न्यूनीकरण गर्न सघाउँछ ।

‘एप्सको माध्यमबाट फोन गरेर आफूलाई परेको अप्ठेरो रेकर्ड गराउन सकिन्छ,’ श्रेष्ठले भने, ‘म्यासेज गर्न र इमेल गर्न पनि सकिन्छ । जब कसैले रिपोर्ट पठाउँछ, तब त्यो मुद्दाका रूपमा एपमा दर्ता हुन्छ ।’

एप्स चलाउनेले रिपोर्ट गर्नेसँग तत्काल कुरा गरेर अपडेट गर्न सक्छ । ‘रिपोर्ट गर्नेलाई कस्तो खालको सहयोग आवश्यक परेको हो, त्यो निकाय वा व्यक्तिलाई रिपोर्ट गरेर उसको मुद्दा अगाडि बढाउँछ,’ श्रेष्ठले थपे, ‘तिम्रो आवाज हाम्रो सहयोग एपको विशेष व्यवस्थाले आएका मुद्दाको व्यवस्थापन पनि गर्छ । हरेक मिडियामा महिलाहिंसाका कस्ता खालका समाचार आएका छन् भनेर अनुगमन गरी संकलनको काम पनि गर्छ ।’ 

महिलाहिंसा कम गर्ने अभियान स्वरूप श्रेष्ठले सन् २०१३ मा यो सफ्टवेयर कार्यक्रम तयार पारेका हुन् । २०१४ मा पाइलट परियोजनाका रूपमा चल्यो । ‘आइसिटी प्रयोग गरेर हिंसा रोक्न कसरी सकिन्छ भनेर सुरु गरेका हौँ,’ उनले भने, ‘अब चाँडै नेपाल सरकारले यो प्रविधि हामीसँग मिलेर चलाउँदै छ ।’

महिला आयोगमार्फत यो कार्यक्रम चाँडै नै उपत्यका र बाहिरका केही जिल्लामा सञ्चालन हुने आयोगका सचिव तुलसीराम सेढाईले बताए । आयोगको हेल्पलाइन कमजोर रहेको आरोप आइरहेका बेला यस कार्यक्रमले इन्टरनेट प्रविधिको हेल्पलाइन बलियो हुने अपेक्षा गरिएको उनले बताए । श्रेष्ठले जस्तै अघिल्लो बिहीबार इन्टरनेसल गल्र्स इन आइसिटी डे २०१७ मनाउन भेला भएका स्कुल कलेजका विद्यार्थीले आफ्ना प्रविधि सार्वजनिक गरे । महिलाको पहुँच प्रविधिमा कम रहेका बेला नेपालमा यो प्रयास गरिएको हो । जसको निर्माणमा महिला आफै सक्रिय रहेको देखियो । विद्यार्थीहरू प्रीति छितुङ, सोनम घिमिरे, श्रुतिना शाक्यसहित मिलेर ड्रोन नै तयार गरे । प्लास्टिक, फाइबर र मोटरको प्रयोग गरी डिजाइन गरिएको ड्रोन सूचना संकलनका लागि योग्य हुने प्रीतिले बताइन् । ‘तीन दिनमा यो ड्रोन बनाएका हौँ,’ श्रुतिनाले भनिन्, ‘सुरुवात हो, यसलाई अझै विस्तार गर्नेछौं ।’

अमृत साइन्स क्याम्पसकी इच्छा मोक्तान र रीमा पराजुलीको ‘पानी आयो’ एपले राजधानीवासीलाई ठूलै सहयोग गर्छ । ‘म पनि एउटा विद्यार्थी हो,’ उनले भनिन्, ‘तर कतिखेर पानी आउँछ थाहा नहुँदा निकै समस्या भोगेँ ।’ 

कहिले आधारातमा पानी आउने, कहिले मध्य दिनमा– आजित छन्, उपत्यकावासी । आफूजस्तै हरेकलाई पानी कतिखेर धारामा आउँछ भन्ने जिज्ञासा सबैको रहेको पाएपछि एप बनाउन प्रेरणा मिलेको उनले बताइन् । कुन एरियामा कति बजे पानी आउँछ भन्ने रुटिनसहितको सूचना एपमार्फत लिन सकिन्छ ।
स्तुति शर्माले ‘नारी एप’ बनाएर महिला सुरक्षा र सशक्तीकरणका लागि सहयोगी बनेकी छन् । जसमा हेल्प बटन थिचेपछि आफूनजिक भएका हिंसाका घटना रेकर्ड गरेर प्रहरी वा सम्बन्धित निकायमा दिन सकिन्छ । एक–अर्काको पीडाका कथा साटफेर गरेर पीडा कम गर्न सकिने स्तुति बताउँछिन् । कक्षा ५ का सुस्मिता बराल, अप्सरा पराजुली, जुही थापा लगायतले निःशुल्क शिक्षा दिन स्क्र्याच एप्स बनाएका छन् । 

अर्को टोलीले बनाएको ‘नारी सरोकार’ एपले समाजमा कस्ता खालका हिंसा हुन सक्छन् भन्ने जानकारीसहित सहयोग गर्छ । एकता रिजालले भने च्याउखेती सपार्न तापक्रम न्यूनीकरण डिभाइस नै निर्माण गरेकी छन् । ‘सोच वेर’ संस्थाकी सिइओ उनले डिभाइसले तापक्रम नियन्त्रणसँगै घटाउने र बढाउन सहयोग गर्ने बताइन् । सुक्खा भएका पानी समेत डिभाइसले हाल्न सघाउँछ । च्याउखेतीसागै ग्रिनहाउसभित्र गरिने अन्यखेतीमा पनि यो एप फलदायी हुने उनले बताइन् ।

‘घर बसीबसी आफ्नो च्याउखेतीको निरीक्षण गर्न सकिन्छ,’ रिजालले भनिन्, ‘तापक्रम नियन्त्रण नहुँदा हुने ४० प्रतिशत घाटालाई ४५ प्रतिशत नाफामा बदल्न सकिन्छ ।’ सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले यस्ता एप्स सामान्य मानिसले बुझ्ने गरी नेपालीमै बन्न सके अझ प्रभावकारी हुने उल्लेख गरे । 

इन्टरनेटसँग जोडिएको सूचना तथा सञ्चारको क्षेत्रमा हरेक वर्ष एक लाख २० हजार जागिरको अवसर विश्वभर खुल्छ । ‘ओमन एक्टिभ इन आइसिटी सेक्टर’ नाममा २०१३ मा गरिएको एक अध्ययनले भने हजार महिलामा २९ जना मात्रै यो क्षेत्रको अध्ययनमा सहभागी हुन्छन् । अझ त्यही काम गर्ने महिलाको संख्या चारजना मात्र रहेको सो अध्ययनको तथ्यांक छ । अझ महिलाका लागि आवश्यक सूचना तथा सञ्चारका सामग्री बनाउन पनि महिलाभन्दा बढी पुरुषकै सहभागिता रहेको जनाइएको छ । 

सूचना तथा सञ्चार क्षेत्रमा महिला सहभागिता बढाउन हरेक वर्ष अप्रिल २७ का दिन गल्र्स इन आइसिटी दिवस मनाउन थालिएको नेपाल टेलिकमकी सहायक निर्देशक रोजा किरण वासुकला बताउँछिन् । नेपाल टेलिकममै पनि अति कम करिब पाँच प्रतिशत महिला प्राविधिक रहेको उनले उल्लेख गरिन् । उनका अनुसार नेपालमा २१ हजार हाराहारीका महिला आइसिटी क्षेत्रमा सहभागी देखिएका छन् । नेपाल टेलिकमलगायत सहयोगी संस्थाको सक्रियतामा राजधानीमा महिलामैत्री प्रविधिको प्रदर्शन गरिएको थियो ।

 

प्रकाशित: ३० वैशाख २०७४ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App