१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘संविधान संशोधन जेठ ४ गते’

फाइल फाेटाे

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव जेठ ४ गते पारित गराउने प्रतिबद्धता जनाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार भएको माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेसहितको बैठकमा राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासामु दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

‘प्रधानमन्त्रीज्यूले संसद्को आगामी बैठकमा संविधान संशोधन पारित गर्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ,’ राष्ट्रिय जनता पार्टीका नेता केशव झाले नागरिकसँग भने, ‘वैशाख १७ गते नै पास गराउने योजना भए पनि राप्रपाका सांसद अनुपस्थित भएपछि पास हुन नसकेको उहाँको भनाइ थियो ।’ उनका अनुसार जेठ ४ गतेका लागि संशोधन पारित गराउन आवश्यक मत पुग्नेमा विश्वस्त हुन प्रधानमन्त्रीले असन्तुष्ट दलसँग आग्रह पनि गरेका छन् । 

जेठ पहिलो साता कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नुअगाबै संशोधन पारित गर्ने दाहालको योजनामा बैठकमा प्रकट भएको छ । यसअनुसार संशोधनलाई दुईतिहाइ पु¥याउने उद्देश्यसहित प्रधानमन्त्री दाहालले विजयकुमार गच्छदार नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरमका ६ जनालाई मन्त्रिमण्डलमा समावेश गराइसकेका छन् । 

बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन पारित गराउन आवश्यक मत पुग्नेमा विश्वस्त हुन आग्रह गरे पनि राजपासहितका गठबन्धनका नेता भने विश्वस्त हुन अझै सकेका छैनन् । ‘संविधान संशोधनपछि मात्रै निर्वाचन गर्ने भनिएको थियो, त्यो प्रतिबद्धता पूरा नगरी चुनाव गरियो, यो गठबन्धनमाथि धोका भयो,’ बैठकपछि गठबन्धनका नेता कुमार लिङदेनले भने । उनका अनुसार संशोधनपछि मात्रै निर्वाचन गर्ने सत्तारुढ दलको प्रतिबद्धता उल्लंघन भएपछि गठबन्धन आन्दोलनका कार्यक्रममा जान बाध्य भएको छ ।

संविधान संशोधन र स्थानीय तहको निर्वाचनको म्यान्डेट लिई गठन भएको दाहाल सरकारले ९ महिना लागिसक्दा पनि संशोधनलाई टुंगोमा पु¥याउन सकेको छैन । पहिलो पटकको संशोधन पास हुन नसकेपछि दोस्रो पटक ‘फास्ट ट्रयाक’ मार्फत पारित गराउने भन्दै दाहाल सरकारले दर्ता गराएको संशोधन अझै टुंगोमा पुग्न सकेको छैन । संशोधन नै टुंगोमा नपु¥याई निर्वाचनमा गएको भन्दै असन्तुष्ट गठबन्धनले मंगलबार आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

बैठकमा सहभागी एमाले नेता वामदेव गौतमले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नभएको प्रस्टीकरण दिएका छन् । ‘एमाले संविधान संशोधनविरोधी होइन, संशोधनमा ल्याइएका केही बुँदामा असहमति हो’, गौतमले बैठकपछि भने । राष्ट्रियसभा गठनको सबालमा सीमांकन हेरफेरसहित स्थानीय तहको अधिकार कटौतीका बुँदामा मात्रै एमालेले आपत्ति जनाएको गौतमको भनाइ छ । बैठकमा एमालेबाट सुवासचन्द्र नेम्बाङ पनि उपस्थित थिए ।

बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झालगायतको उपस्थिति थियो ।

बैठकमा नबोलाइएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले भने असहमति प्रकट गरेका छन् । थापा संविधान संशोधनको पक्षमा उभिँदै आएका छन् । ‘राप्रपाको सहभागिताबिना हुने बैठकको निर्णय हामीलाई मान्य छैन, चेतना भया’, थापाले ट्विट गरेका छन् ।

प्रकाशित: २७ वैशाख २०७४ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App