१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदान केन्द्रको सुरक्षामा चुनाैती देखिए सुरक्षाकर्मीले गोली चलाउन पाउने

निर्वाचन प्रयोजनका लागि लिइएका म्यादी प्रहरीसँग नेपाल प्रहरीको टोली। फाइल तस्विर

काठमाडौं— आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले  मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ। यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन्।

केन्द्रीय सुरक्षा समितिले निर्वाचन हुने तहहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरेको छ। यही विभाजनअनुसार कुन क्षेत्रमा कति सुरक्षाकर्मी खटाउने भन्ने निक्र्योल गरिएको छ। सुरक्षाकर्मी परिचालनको अवस्थाको आधारमा भित्री घेरा, मध्यम घेरा र बाहिरी घेरामा विभाजन गरी प्रत्येक बुथमा सुरक्षा दिने रणनीति अख्तियार गर्ने भएको छ।

समितिले बनाएको विशेष सुरक्षा योजना अनुसार २३ हजार प्रहरी, २५ हजार म्यादी, १८ हजार सशस्त्र र करिब ४५ हजार सेना पहिलो चरणको निर्वाचनमा परिचालित हुनेछन् । सुरक्षा योजनाबारे जानकार अधिकारीका अनुसार क्षेत्रगत सुरक्षा अवस्थाको मूल्यांकनका आधारमा अति संवेदनशील क्षेत्रको बुथमा प्रहरी निरीक्षकको कमान्डमा २८ प्रहरी खटिएका छन् । सामान्य सुरक्षा अवस्था क्षेत्रका बुथमा सईको कमान्डमा १४ प्रहरी खटिनेछन्।

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले  मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

अधिकांश बुथको पहिलो घेराको सुरक्षामा प्रहरी निरीक्षकको कमान्डमा २८ जना सुरक्षाकर्मी खटिनेछन् । पहिलो घेरामा नाम रुजु गर्ने मतदान अधिकृत, मतपत्र दिने स्थान र मत खसाल्ने स्थान राखिएको छ।

पहिलो घेरा प्रहरीको नियन्त्रणमा रहनेछ । प्रहरी निरीक्षक कमान्डर रहनेछन् भने उनीहरूलाई मतदान अधिकृत, मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मेवारी तोकिएको छ । भित्री घेराको कमान्डर १५ राउन्ड गोलीसहितको सानो हतियार (पेस्तोल) लिएर खटिनेछन्।

‘बुथको सुरक्षामा हतियारसहित प्रहरी निरीक्षकको कमान्डमा सात जनासम्म प्रहरी खटिनेछन्,’ सुरक्षा योजनाबारे जानकार एक अधिकारीले भने, ‘भित्री घेरामा बस्ने प्रहरीले मतपत्र, मतदान अधिकृत र मतपेटिकाको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउने अधिकार पाएका छन्।’
दोस्रो घेरामा पार्टीका प्रतिनिधिसहित म्यादी प्रहरी खटिनेछन् । कटबाँसको लौरो लिएर सुरक्षामा खटिने म्यादीलाई निर्वाचन केन्द्रको लाइन मिलाउने र मतदान केन्द्रको पेरिमिटरको सुरक्षाको जिम्मेवारी तोकिएको छ । सुरक्षा रणनीतिअनुसार दोस्रो घेरामा रहने प्रहरीसँग ठूलो हतियार रहनेछ । दोस्रो घेरासम्म सशस्त्र र सेना हुँदैनन्।

तेस्रो बाहिरी घेरामा प्रहरीसँगै सशस्त्र प्रहरी र आवश्कताअनुसार सेनासमेत खटिनेछन् । बाहिरी घेरामा खटिने प्रहरी लाठीसहित हुनेछन् । तेस्रो घेराबाहिर विभिन्न दलका समर्थक बस्ने भएकाले विवाद र झडप रोक्न हतियार र लाठीसहितको सुरक्षाकर्मीको टोली खटाउने तयारी गरेको हो ।
पहिलो चरणको निर्वाचनमा १८ हजार खटिएका सशस्त्र मतदान केन्द्रको पेरिमिटरको सुरक्षा, तेस्रो घेराबाहिर हतियारसहित खटिनेछन् । पेरिमिटरबाहिर आवश्यकताअनुसार सेनासमेत खटिनेछन्।

मतदान केन्द्रको सुरक्षाका लागि नजिकै रिजर्भ फोर्स र अनुगमनका गर्न मोबाइल टोलीसमेत परिचालित हुँदैछन् । रिजभ्र्ड फोर्ससँगै भीड नियन्त्रण टोली, टियर ग्यास र ग्यास गनसहितको टोली बस्नेछ।

मतदातालाई मतदान केन्द्रमा आउन अवरोध हुनसक्ने भन्दै मुख्य गौंडा र नाकामा सेना र सशस्त्र प्रहरी खटिनेछन् । निर्वाचनविरोधी गतिविधि रोक्न सेनाले पेट्रोलिङ र मोबाइल गस्तीलाई प्राथमिकता दिनेछ । मतदान केन्द्रको सुरक्षाका लागि ‘हाइपोइन्ट’मा सेना र सशस्त्र हतियारसहित परिचालित हुने सुरक्षा रणनीतिबारे जानकार अधिकारीले बताए । निर्वाचन हुने जिल्लाका सिमानामा सेना र सशस्त्र खटिएका छन् ।

उपत्यकामा २१ हजार सुरक्षाकर्मी
काठमाडौं उपत्यकाको स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि चार हजार म्यादी, तीन हजार प्रहरी, चार हजार सशस्त्र र करिब नौ हजार सेना गरी २० हजार सुरक्षाकर्मी परिचालित भएका छन्।

महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षाका लागि संयुक्त कमान्ड पोस्ट बनाएर सुरक्षाकर्मी परिचालन गरिरहेको छ । कमान्ड पोस्टमा सशस्त्रको महानगरीय प्रहरी र सेनाको बाहिनीबाट प्रतिनिधि खटिएका छन्।

सुरक्षाको अवस्थाका आधारमा केही स्थान संवेदनशील र अधिकांश स्थान सामान्य सूचीमा छन् । प्रहरीले निर्वाचन केन्द्रित सुरक्षा योजनाअनुसार नाकाहरूमा जाँच कडाइ  गर्न थालेको छ । नाकामा तालिम प्राप्त कुकुरसहितको टोली खटिएका छन्।

क्विक रेस्पोन्स टिम, सिआरभी टोली परिचालन गरेको प्रहरीले उम्मेदवारको घर, पार्टी कार्यालय र निर्वाचन कार्यालय केन्द्रित सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

 

प्रकाशित: २५ वैशाख २०७४ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App