१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकार र सिमेन्ट व्यवसायीले झुक्याए

काठमाडौं- बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहे पनि सम्बन्धित व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन्। उद्योग मन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ।

बजारमा अढाइ महिनाको बीचमा बिनाकारण सबै सिमेन्टमा प्रतिबोरा सय रुपैयाँसम्म मूल्य वृद्धि गरेपछि व्यापक आलोचना भएको थियो। आलोचना भए पनि बढेको मूल्य अहिलेसम्म घटेको छैन।

मूल्य बढेको विषयमा उद्योगमन्त्री र सिमेन्ट उत्पादक संघका प्रतिनिधिबीच तीन चरणमा छलफल समेत भएको थियो। दुई चरणमा व्यवसायीले बढेको मूल्य घटाउने सहमति गरेको र मन्त्रालयले पनि मूल्य घटाउने सहमति भएको विज्ञप्ति निकालेको थियो। पछिल्लो चरणमा वैशाख १२ गते भएको मन्त्रालय र सिमेन्ट उत्पादक व्यवसायीबीचको छलफलपछि भने मन्त्रालयले व्यवसायीले मूल्य नबढाएको भन्दै उपभोक्तालाई सचेत रहन प्रेस विज्ञप्ति जारी गरेको थियो।

सिमेन्ट उत्पादकसँग खरिद गरेर उपभोक्तालाई सिमेन्ट बेचिरहेका खुद्रा व्यवसायीले भने सिमेन्ट उत्पादक र सरकार दुवैले उपभोक्तालाई झुक्याउन खोजेको आरोप लगाए। 'पछिल्लो समय प्रतिबोरा सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ,' नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले नागरिकसँग भने, 'सरकारले बजारमा अध्ययन गरेर हेरोस् मूल्य बढे–नबढेको थाहा हुन्छ। उत्पादकले हप्तैपच्छिे एसएमएस गरेर मूल्य बढेको जानकारी गराइरहेको अवस्था छ कसरी नबढेको भन्ने सकिन्छ?'

संघका अर्का सदस्यले नेपालमै उत्पादित क्लिंकरको मूल्य बढाएर सिमेन्टको मूल्य पनि बढाएको बताए। 'भारतमा मूल्य घटेको बेला घटाउँदैनन्,' उनले भने, 'तर भारतमा क्लिंकरको मूल्य बढेको नाममा यहाँ व्यापक मूल्य बढाइएको छ।'

खुद्रा व्यवसायीहरू अहिले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको बताउँछन्। लोडसेडिङका बेला डिजेलबाट सिमेन्ट उत्पादन गर्दा नबढेको मूल्य अहिले बढाउनुको औचित्य नभएको खुद्रा व्यापारी बताउँछन्। 'भारतको नाकाबन्दीको बेलामा जसरी मनपरी मूल्य बढेको थियो त्यसैगरी अहिले मूल्य बढाइएको छ,' संघका एक सदस्यले भने, 'चुनाव लगायतका मौका छोपेर मूल्य बढाइएको छ।'

खुद्रा व्यवसायीका अनुसार केही दिनअघि मात्र पुनः प्रतिबोरा ३० देखि ४० रुपैयाँसम्म मूल्य वृद्धि गरिएको छ। दोस्रोपटक मूल्य वृद्धि गर्दा ओपिसी र पिपिसी सिमेन्टमा प्रतिबोरा सय रुपैयाँभन्दा धेरै मूल्य बढेको छ। व्यवसायीका अनुसार मूल्य बढ्नुअघि ओपिसी प्रतिबोरा आठ सय १० र पिपिसी सात सय रुपैयाँ थियो। हाल ओपिसी नौ सय १५ र पिपिसी आठ सय १५ रुपैयाँमा बिक्री गर्न बाध्य पारिएको खुद्रा व्यवसायीको गुनासो छ। 

नेपालमा हाल दुई किसिमले सिमेन्ट उद्योग सञ्चालन भइरहेका छन्। एकाथरिले क्लिंकर बाहिरबाट ल्याएर ग्रान्डिङ गर्छन् भने अर्काथरिले आफैं क्लिंकर बनाएर सिमेन्ट उत्पादन गर्छन्। केहीले आफूले उत्पादन गरेको क्लिंकर स्वदेशकै अरु उद्योगलाई बेचिरहेका छन्। 

सिमेन्ट उत्पादकका अनुसार मुलुकमा प्रयोग गरिने क्लिंकरमध्ये ३५ प्रतिशत भारतबाट आउने गरेको छ ।

वैशाख १२ गते उद्योग मन्त्रालयमा मन्त्री नविन्द्रराज जोशी र नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिबीच भएको छलफलमा व्यवसायीले कुनै पनि सिमेन्टको मूल्य नबढाएको बताएको विज्ञप्तिमा जनाइएको थियो। 'सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताए पनि मूल्य बढेको भनेर समाचार आइरहेको भन्दै उपभोक्तलाई मूल्य नबढेकोले ठगिनबाट सचेत रहन उपभोक्तालाई आग्रह छ,' मन्त्री नविन्द्रराज जोशीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।

सिमेन्ट उत्पादकले मन्त्रीसँगको पछिल्लो भेटमा मूल्य नबढाएको भने पनि चैत अन्तिम हप्ता भएको भेटमा क्लिंकर, कोइला लगायतको मूल्य बढेकाले सिमेन्टको मूल्य बढाउनुपरेको थिए। उक्त छलफलपछि मन्त्रालयले पनि मूल्य नबढाउन आग्रह गरेका थिए। त्यसपछिको अर्को छलफलमा मूल्य नबढाउने सहमति व्यवसायी र मन्त्रालयबीच भएको थियो।

प्रकाशित: १९ वैशाख २०७४ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App