१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१६ वर्षमा आठ किलोमिटर नहर निर्माण

गोरखा— २०५८ सालमा निर्माण सुरु भएको १७ किलोमिटर गोरखाको कुन्दुरटार सिँचाइ आयोजना १६ वर्ष बितिसक्दा अहिले आठ किलोमिटर मात्रै निर्माण पूरा भएको छ। ऊबेला सरकारले पाँच वर्षभित्र सक्ने गरी रातो किताबमा समावेश गराएर सुरु गरेको योजना अहिले वर्षमा मुस्किलले आधा किलोमिटरको गतिमा छ।

गोरखा नगरपालिकाभित्रकै करिब पाँच सय हेक्टर जमिनमा सिँचाइ पु¥याउने गरी नहर सुरु भएको थियो । अहिले करिब ६ किलोमिटरसम्म पानी नियमित चलेको छ, बाँकी दुई किलोमिटरमा जेठभित्रै चल्ने गरी काम भइरहेको पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ सब डिभिजन कार्यालय गोरखाका प्रमुख लोकबहादुर थापा बताउँछन्।

‘पहिले विभिन्न कारण देखाएर आयोजनालाई गति दिइएन, अहिले स्थानीयले खासै चासो नदिँदा समस्या भएको छ,’ उनले भने । बितेको दुई वर्ष कामै भएन। सुरुका चरणमा राजनीतिक विवादका कारण रोकिएको आयोजनामा पछिल्लो समय स्थानीयले चासो नदिने र सिँचाइ आयोजनामा थोरै बजेट छुट्ट्याएर काम गर्ने परिपाटीले गति लिन नसकेको हो। अहिले उपभोक्ताआयोजना बन्ला र सिँचाइ होला भन्ने आशा मारेर बसेका छन् । सिँचाइ डिभिजनले बर्सेनि थोरै–थोरै बजेटले सुस्त गतिमा काम गरिरहेको छ  ।

गोरखा नगरपालिका क्षेत्रभित्रको अति विपन्न बस्तीका बासिन्दालाई फाइदा पुग्ने गरी दलित, जनजाति र पिछडिएको समुदायको बाहुल्यरहेको ठाउँमा उक्त आयोजना सुरु गरिएको थियो । नगरपालिकाभित्रको बोहोराबेसी, छेवेटार, कुन्दुरटार लगायत ठूला टारलाई लक्षित गरी योजना सुरु गरिएको थियो । बोहोराबेसीसम्म पानी चलेपनि छेवेटार र कुन्दुरटारमा पानी नपुग्दा झन्डै तीन सय हेक्टर जमिन अहिले पनि बाँझै छ । आठ किलोमिटरबाट अगाडि झन्डै छेवेटार क्षेत्रभित्र पर्ने पाँच किलोमिटरमा नहर नै खनिएको छैन ।

त्यसउता कुन्दुरटारसम्म खनिएको नहरको कुलेसो अहिले कहाँ हो भन्ने भेट्न पनि मुस्किल पर्छ । पहिले बस्ती भएको ठाउँमा नहर खनिएन भने खनेर छाडिएको ठाउँमा पनि पुरिइसकेको छ । नहरमा पानी नबग्दा ठूला टारहरु मास लगाउने पाखो बारी बनेका छन् । त्यहाँ पानी नियमित पु¥याउन सके खेती लगाउन कुनै अड्चन पर्दैन । राजमार्गबाट नजिक, तनहुँ र गोरखाका बजारक्षेत्र आसपासपर्ने भएकाले कुन्दुरटार र छेवेटारमा सिँचाइ आयोजना पु¥याउन सके उद्योग, कलकारखानाको समेत विकास गराउन सकिने सम्भावना रहने स्थानीय बताउँछन् ।

उक्त नहरमा अहिलेसम्म चार करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । गत वर्षयता एक करोड खर्चिएर बाँकी दुई किलोमिटर गरी आठ किलोमिटरसम्म पानी चल्न लागेको हो । दुई हजार लिटर प्रतिसेकेन्ड क्षमता रहेको नहरको पानी चलेको ६ किलोमिटरको क्षेत्रमा भने किसानले बाह«ैमास नहरको पानी प्रयोग गर्न पाएका छन् । छेवेटारसम्म आउँदो जेठबाट बाह«ैमहिना पानी चलाउन सकिने योजना सिँचाइ डिभिजनको छ । पहिले डिजाइन भएको नहरको बाटोमा कतिपय ठाउँमा अहिले बस्ती छ । उक्त ठाउँबाट नहर लैजाँदा घर भत्काउनुपर्ने जोखिम छ ।

‘बस्ती क्षेत्रमा नहरको फरक डिजाइन बनाउनुपर्ने देखिन्छ,’ सिँचाइ डिजिभन प्रमुख लोकबहादुर थापा भन्छन्, ‘अहिले योजना गरिएको दरौंदी लिफ्टिङलाई नहरसँग जोड्ने हो भने गोरखा बजारसम्म पानी ल्याउन अझै सहज हुन्छ ।’ खानेपानी आयोजनाले अहिले पानी चलेको आठ किलोमिटर क्षेत्रबाटै पानी संकलन गरेर गोरखा सदरमुकामसम्म ल्याउने योजना गर्दा खर्च कम लाग्ने र सहज हुने र त्यसले नहर, खानेपानी आयोजना दुवै सञ्चालन र संरक्षणमा मद्दत पुग्ने प्राविधिक बताउँछन् । उक्त नहरमा पूरै क्षमतामा पानी चल्ने हो भने पिउने पानी गोरखा बजार लैजाँदा पनि पाँच सय हेक्टर जमिन सिँचाइ गर्न पुग्ने दाबी छ । दीर्घकालीन सोच र योजना नहुँदा आयोजना खर्चिलो बन्ने गरेका छन् ।

प्रकाशित: १७ वैशाख २०७४ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App