पुरु लम्साल
आफ्नाहरू–पराईहरू
वसन्तको एउटा बिहान
शीतले निथ्रुक्क नुहाएर
मुस्कुराइरहेको गुलाबलाई
मैले तिमी देखाउँदै भनेको थिएँ
हेर त ! मेरो मनको बगैँचामा
तिमीभन्दा सुन्दर फूल फुलेको छ
त्यही दिनदेखि हो
गुलाबहरूसँग मेरो सम्बन्ध बिग्रिएको ।
वर्षात् रोकिएपछि
छ्याङ्ङ खुलेको एउटा बिहान
तिम्रो छातीमा टाउको राखेर
मैले आकाशलाई भनेको थिएँ
आजबाट म तिमीभन्दा फराकिलो
आफ्नै संसारमा हुनेछु
त्यही दिनदेखि हो
आकाश र मेरो सम्बन्धमा दरार आएको ।
चाँदनीको एउटा रात
टहटह चम्किरहेको जूनसँग
तिम्रो परिचय गराउँदै मैले भनेको थिएँ
अब तिमी मेरो आकाशमा उदाउनुपर्दैन
तिमीभन्दा उज्यालो जून मेरै आँगनमै छ
त्यही दिनबाट हो
जून मेरो आँगनको बाटो हुँदै उदाउन छोडेको ।
एवंरितले
मैले सबैलाई गुमाउँदै गएँ तिम्रा निम्ति
एकदिन खै कस्तो आँधीहुरी आयो जिन्दगीमा
र, सबथोक उडायो
मात्रै एक बिहान फुल्यौ
तिमी मेरो मनको बगैँचामा
तिम्रो छातीमा टाउको राखेर
धक फुकाएर रुनसमेत भ्याइनँ मैले
एक रात पनि मुस्कुराउन सकेन
तिमीलाई हेरेर आँगन ।
तिमी यसरी टाढा भयौ कि
फेरि हाम्रो भेटै भएन ।
तिमी गएपछि
जून मलिन अनुहार लगाएर
मेरै आँगनमाथि आएर रोकियो
आकाशले रोएर भिजाइदियो
तिम्रा पैतालाका डोबहरू
गुलाफले आफ्नै मुटु बिछ्याइदियो
तिमी हिँड्ने बाटोभरि ।
तर, तिमी
क्यानभासमा कैद गरेर आकाश
मैनहरूमा सल्काएर जून
ओछ्यानमा बिछ्याएर गुलाफ
मनाउँदै थियौ
कसैको अँगालोमा सुहागरात ।
नयाँ घरका कर्मीहरू
घर भत्किएको खबर सुनेर
गाउँ पुगेँ
आँगनमा आइपुगेछ बुइँगल
मझेरीमा पछारिएछ चोटो
उछिट्टिएर मलखाल्टोमा पुगेछ अँगेनु
माटोको थुप्रोले पुरिएछ पिँढी
पिँढीमै पुरिएछन् ढिकी र जाँतो
पुरिएछ पल्लो बारीको मकै
पारि खेतको धान
घरखेतको तोरी
र, पुरिएछ हजुरबाको ढलोटे हुक्का ।
घरको थुप्रोमाथि उभिएर
निःशब्द आकाशतिर हेरेँ
र, चिच्याएँ–
मेरो घर पुरियो !
खण्डहरको चेपबाट
मुसाले भन्यो
महाशय !
मेरो पनि घर पुरिएको छ
मेरा सन्तानहरू पुरिएका छन्
म पुरिएको छु
धैर्य राख्नुहोस् !
लामेआँपको हाँगामा बसेकी गौँथलीले भनी–
महाशय !
मेरो पनि घर भत्किएको छ
मेरा पनि सपना भत्किएका छन्
मेरो पनि रहर पुरिएको छ
हिम्मत राख्नुहोस् !
आरूको रूखमा
घाइते जहान समाएर बसेको
परेवाले भन्यो–
मेरो पनि घर भत्किएको छ
आफन्तहरू पुरिएका छन्
म पनि बेघर भएको छु
निरास नहुनूस् !
दुलोबाट मुसो निस्किएर भन्यो–
म जग खन्छु
हाँगाबाट झरेर गौँथलीले भनिन्–
म माटो मुस्छु
रूखबाट ओर्लिएर परेवाले भन्यो–
म खर बटुल्छु
आउनूस् हामी मिलेर बनाऔँ हाम्रो घर !
देश र प्रेमिका
प्रिया,
मैले भनेकै थिएँ
म आँखामा सपनाहरू बोकेर हिँडेको मान्छे
जसलाई मैले साकार पार्नुछ
मेरो काँधमा जिम्मेवारीहरू छन्
जसलाई मैले निर्वाह गर्नुछ
ओठमा अलिकति हाँसो छ
जुन बाँड्नु छ नानीहरूलाई
छातीमा पीडा छन्
पोख्नुछ कसैको अँगालोमा
पैतालामा छन् गन्तव्य
नाघेर पुग्नुछ त्यहाँसम्म
त्यसैले मलाई यो मायावी संसारमा
अल्झनु छैन ।
हो ! मैले भनेकै हो
जिन्दगी आशा हो
जसरी भेटिन्छन् अँध्यारोमा जूनकीरीहरू
जिन्दगी खुसी पनि हो
जसरी भेटिन्छन् बगरमा मुस्कुराइरहेका फूलहरू
जिन्दगी सपना पनि त हो
जसरी भेटिन्छन् आकाशमा दौडिरहेका बादलहरु
मैले भनेको छु र
जिन्दगी निरासा हैन भनेर ?
जिन्दगी बिछोड पनि हो
जसरी छुटिन्छ आकाश र धर्ती
जिन्दगी पीडाको गीत पनि हो
जसरी छुट्टिन्छन् नदीका दुई किनार
जिन्दगी आँसु पनि हो
जसरी बहन्छ हावा सुसेलेर सल्लाहरूसँग
भेटिनु नियति हो
छुटिनु पनि नियति हो
तिमीले के खोज्यौ
के भेट्टायौ ?
तिमीले सिर्फ देख्यौ मेरो अँखामा सपना
देख्यौ काँधमा जिम्मेवारीको भारी
मात्रै देख्यौ छातीका पीडाहरू
तर, देखिनौ
मेरा आँखामा बुद्ध
मेरो शिरमा सगरमाथा
र, मेरो छातीमा देश
हो मैले भनेको थिएँ
म मायामा त्याग गर्न तयार छु
धन, सम्पत्ति, आफन्त, साथीभाइ र इष्टमित्र
मैले यो पनि भनेको हुँ
म तिमीलाई औधी माया गर्छु
मदनले मुनालाई गरे धन्दा पनि धेरै
रोमियोले जुलियटलाई गरेको भन्दा दोब्बर
साहजाँले मुमताजलाई गरे भन्दा बढी
तर, मैले कहिल्यै भनिनँ
म तिमीलाई
मेरो देशलाई भन्दा धेरै माया गर्छु !
प्रकाशित: १६ वैशाख २०७४ ०४:०५ शनिबार