१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रणनीति बुन्दै रूपन्देही  र विराटनगर

धनगढी – विराटनगर किंग्सका कप्तान शरद भेषावकरले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगअन्तर्गत बुधबार हुने प्लेअफका लागि मानसिक रूपमा तयार भएको बताएका छन् । 

समूह चरणमा दोस्रो स्थानमा रहेर प्लेअफ प्रवेश गरेको विराटनगरले बुधबार शक्ति गौचनको रूपन्देही च्यालेन्जर्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । रूपन्देही समूहचरणमा शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो । रूपन्देहीले समूहका पाँचमध्ये एक मात्र पराजय भोगेको थियो । विराटनगर भने दुईमा पराजय तथा तीनमा विजयी हँुदै प्लेअफ यात्रा तय गरेको हो । 

‘पछिल्लो नतिजाले कुनै पनि टोलीलाई हराउन सकिन्छ भन्ने प्रमाणित भइसकेको छ । त्यसैले हामी विजयी मानसिकताका साथ मैदान उत्रनेछौं,’ विराटनगरका कप्तान शरदले भने, ‘तयारी राम्रो छ । पछिल्ला खेलमा राम्रो गर्न सकेनौं । सायद त्यो दिन हाम्रो खराब थियो । तर मंगलबार स्मार्ट क्रिकेट खेल्यौं भने जित्छौं ।’

समूहचरणमा विराटनगर रूपन्देहीसँग ६१ रनले पराजित भएको थियो । १ सय ३२ रनको लक्ष्य पछ्याएको विराटनगरले ७१ रन मात्र जोड्न सकेको थियो । बलिङमा राम्रो मानिएको रूपन्देहीले विपक्षीलाई सानो योगफलमा रोक्न सफल भएको छ । शरदले प्लेअफमा त्यही नतिजा नदोहोरिने संकेत गरे ।

‘उनीहरूको टोली राम्रो छ र राम्रो क्रिकेट खेलिरहेका छन् । तर, उनीहरूको टोलीमा पनि कमजोरी छ भन्ने चौराहविरुद्धको खेलमा देखिएको छ,’ कप्तान शरदले थपे, ‘त्यसैले सबैको उत्तिकै अवसर छ । ट्वान्टी–२० क्रिकेट हो त्यसैले भन्न गाह्रो हुन्छ । तर त्यो दिन जसले राम्रो क्रिकेट खेल्यो उसैले जित्ने हो । हामी सकारात्मक क्रिकेट खेल्छौं ।’

पहिलो खेलमा धनगढी टिम चौराहलाई २३ रनले हराएको विराटनगर दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ८६ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा सिवाइसी अत्तरियालाई ८ विकेटले पराजित गर्याे भने चौथो खेलमा कञ्चनपुर आइकोनिकमाथि ५ विकेटको जित दर्ता गरेको विराटनगरले अन्तिम खेलमा रूपन्देहीसँग पराजित भएको थियो ।

शरदले धनगढीको विकेटले अविश्वसनीय स्वभाव देखाएको भन्दै ब्याट्सम्यानलाई खेल्न गाह्रो भएको आैँल्याए ।

‘ब्याट्सम्यानले बललाई जज गर्न सकिरहेका छैनन् । त्यसैले कुनै पनि ब्याट्सम्यानले एकरूपको प्रदर्शन गर्न सकेका छैनन्,’ सेती अञ्चल प्रहरी कार्यालयको मैदानबारे शरदले थपे, ‘प्रायजसो पिचमा कि तीव्र गतिको बलमा भेरिएसन हुन्छ या स्पिनरको बलमा । तर यहाँ स्पिनर र तीव्र गति दुवै किसिमको बलमा भेरिएसन देखिएको छ । त्यसैले ब्याट्सम्यानलाई खेल्न केही गाह्रो छ । तर, मैदान सानो भएकाले १ सय ३० देखि ३५ सम्मको स्कोरमा हामी नतिजा निकाल्न सक्छौं । यो खेल रोमाञ्चक हुनेछ ।’

लगातार ४ खेल जितेको रूपन्देही समूहचरणको अन्तिम खेलमा पारस खड्काको टिम चौराहसँग पराजित भएको थियो । त्यही खेल जितेर चौराहले पनि प्लेअफमा स्थान बनाउन सफल भएको थियो । कञ्चनपुरलाई १४ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको रूपन्देहीले दोस्रो खेलमा अत्तरियामाथि ४२ रनको विजय हासिल गरेको थियो । चौथो खेलमा काठमाडौं गोल्डेन्सलाई १५ रनले हराएको रूपन्देहीले चौथो खेलमा विराटनगरलाई ६१ रनले हराएको थियो । 

रूपन्देहीका कप्तान शक्ति गौचनले पछिल्लो खेलमा केही प्रयोग गरिएकाले हार्नुपरेको बताए । उनले बेन्चका खेलाडीलाई मौका दिएको बताए । तर प्लेअफलमा बलियो टोली लिएर मैदान उत्रने बताए । 

‘हामी उच्च मनोबलका साथ खेल्नेछौं । लिगमा अपराजित थियौं तर अन्तिम खेलमा केही प्रयोग गरिएकाले हार्नुप¥यो,’ कप्तान शक्तिले भने, ‘हाम्रो ब्याटिङमा केही कमजोरी देखिएको छ । तर अब भाइटल खेल भएकाले बलिङ, ब्यािटङ मात्र होइन सबै पक्षले राम्रो प्रदर्शन गर्नुपर्छ ।’

प्रकाशित: ६ वैशाख २०७४ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App