१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेइमारलाई रातो कार्ड

मड्रिड- नेइमारले रातो कार्डको सामना गरेको खेलमा शनिबार मालागासँग २–० ले पराजित भएपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडसँग अंक बराबरी गर्ने मौका खेर फालेको छ। यसअघि चाँडो गरी सम्पन्न खेलमा रियाल एट्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले अंक बराबरी गर्ने सुनौलो अवसर पाएको थियो।

३२औं मिनेटमा हुवाँ कार्लोसको पासमा सान्ड्रो रामिरेजले गोल गरेपछि मालागाले अग्रता लिएको थियो।

६५ओैं मिनेटमा नेइमारले रातो कार्ड पाई मैदान छाडेपछि बार्सिलोनाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। मध्यान्तरअघि पनि पहेंलो कार्डको सामना गरेका नेइमारले मालागाका डिएगो लोरेन्टीमाथि खराब फाउल गरेपछि खेलको दोस्रो पहेंलो कार्ड पाएका थिए। बार्सिलोनाको जर्सीमा उनले रातो कार्डको पाएको यो पहिलो पटक हो।

अतिरिक्त समयको पहिलो मिनेटमा जोनीले गोल गर्दै मालागाको जित पक्का गरेका थिए। उनले पावलो फोर्लानको पासलाई पोस्टको दिशा दिएका थिए।

यस हारपछि ३१ खेलको समाप्तिमा बार्सिलोना ६९ अंकका साथ दोस्रो स्थानमा यथावत् छ जुन एक खेल कम खेलेको शीर्ष टोली रियालभन्दा ३ अंक कम हो। मालागा भने ३३ अंकका साथ १४औं स्थानमा उक्लिएको छ।

‘अंकतालिका जस्तो भए पनि बार्सिलोना र रियालको खेल सधंै आकर्षक खेल हुने गर्दछ तर स्पेनिस ला लिगाको उपाधि जित्ने वा नजित्ने भन्ने कुरा तपार्इंको टोलीले विगतमा जोडेको अंकमा भर पर्छ,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘आज हामी सामु सुनौलो अवसर थियो तर हामीले अंक जोड्न सकेनौं।’

यता घरेलु मैदान सान्टियागो बर्नाबेउमा चाँडो गरी सम्पन्न खेलमा एट्लेटिकोसँग बराबरीमा रोकिएपछि निराश बनेको रियालले   बार्सिलोनाको नतिजापछि राहतको सास फेरेको छ।

लिग सकिनु २ साताअघि अब रियालले घरेलु मैदानमा बार्सिलोनाविरुद्धको खेल गुमाए पनि पाँच वर्षमा पहिलो पटक लिगको उपाधि जित्नेछ।

५२आंै मिनेटमा टोनी क्रुजको फ्रि–किकमा पेपेले हेड गोल गरेपछि रियालले अग्रता लिएको थियो। तर खेल सकिन पाँच मिनेट बाकी रहँदा एन्टोनियो ग्रिजम्यानले गोल गरेपछि रियाल अंक बाँड्न बाध्य भएको हो। उनले एन्जेल कोरियाको पासलाई पोस्टको दिशा दिएका थिए। जारी सिजन उनको यो २३औं गोल हो।

एट्लेटिको ६२ अंकका साथ तेस्रो स्थानमा यथावत् छ।

‘यो बराबरी हो, तर हामीले दुई अंक गुमायौं। स्पष्ट भन्नुपर्दा हामी ३ अंकका लागि सक्षम थियौं,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘हामीले राम्रो प्रदर्शन गर्‍यांै तर हामीले दोस्रो गोल गर्न सकेनांै जसले हामीलाई राहत दिन्थ्यो।’

शनिबार सम्पन्न अन्य खेलमा सेभियाले डेपोर्टिभो ला कोरुनालाई ४–२ ले पराजित गरेको छ। यस जितपछि ६१ अंक जोडेको सेभिया चौथो स्थानमा यथावत् छ भने डेपोर्टिभो २८ अंकका साथ १६औं स्थानमा कायम छ।

प्रकाशित: २८ चैत्र २०७३ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App