१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सेवामा सन्तुष्टि

आयुषा खतिवडाका हजुरबुबाको डेढ वर्षअगाडि मृत्यु भयो। सानैदेखि पछ्याउँदै आएकी उनी हजुरबुबाको मृत्युपछि उदास बनिन्। काखमा बसेर लोककथा सुन्दै आएकी उनले हजुरबालाई निकै 'मिस' गरिन्। दुई सातायता भने उनले केही राहत महसुस गरेकी छन्।

पशुपतिस्थित वृद्धाश्रममा स्वयंसेवकको रूपमा खटिएकी उनले यहाँ रहेका वृद्धमा हजुरबुबाको झल्को पाउने गरेको सुनाइन्। 'सुरुका केही दिन सामान्यजस्तै लाग्यो,' काठमाडौस्थित एनआइसी कलेजमा सामाजिक सेवाअन्तर्गत स्नातक तह पहिलो वर्षमा अध्यनरत उनले भनिन्, 'जब म उहाँहरूसँग नजिकिएँ, तब आफ्नै हजुरबुबाजस्तै लाग्न थाल्यो।'

'जसकी आमा भए पनि माया उस्तै हुँदो रहेछ,' सरुले भनिन्, 'हामीले कपाल कोरिदिँदा उहाँहरूले कपालमा हात राखेर आशीष दिने गर्नुहुन्छ।'

उनी कलेजको पढाइको सिलसिलामा यहाँ आइपुगेकी हुन्। यहाँ उनले विद्यालय शिक्षासँगै व्यावहारिक शिक्षा हासिल गरेको बताइन्। यहाँ रहेका वृद्धवृद्धालाई उनी बुबाआमा भनेर सम्बोधन गर्छिन्। उनीहरू आयुषालाई नानी भन्छन्।

उनी आश्रमका वृद्धवृद्धाको सहयोगमा तरकारी काट्ने, कुचो लगाउने, लुगा धुने, कपाल कोरिदिने लगायत काम गर्छिन्। आश्रममा एक सय ९० वृद्धवृद्धा छन्।

उनी मात्र होइन, यहाँ हरेक दिनजसो विभिन्न कलेजबाट तथा स्वेच्छाले युवा पिँढी स्वयंसेवाका लागि आउने गरेका छन्। बाहिरी दुनियाँ छाडेर बूढापाकाको सेवा गर्दै गरेका उनीहरूले असली आनन्द यही रहेको सुनाए।

'सेवामा साँचो सन्तुष्टि मिल्दो रहेछ,' कमलपोखरीकी सरु भट्ट भन्छिन्,' यहाँ आएको दिन मन भित्रैबाट खुसी हुन्छ।' मूलघर नुवाकोट भएकी सरुकी हजुरआमा उतै गाउँमा हुनुहुन्छ। उनी आश्रममा रहेका वृद्धामा आफ्नी हजुरआमा देखिने गरेको बताउँछिन्। 'जसकी आमा भए पनि माया उस्तै हुँदो रहेछ,' उनले भनिन्, 'हामीले उहाँहरूको कपाल कोरिदिँदा उहाँहरूले कपालमा हात राखेर आशीष दिने गर्नुहुन्छ।'

कलेजका नानीहरूको हातबाट सेवा पाउँदा आश्रममा खुम्चिएका उनीहरूका आँखाका नानीहरू ठूला हुने गरेका छन्। वृद्धवृद्धा पनि नानीहरूमा आफ्ना सन्तानको झल्को भेटिने सुनाउँछन्।

यस्तै अनुभव सुनाउँछिन्, ओखलढुंगा मूल घर भएकी ६३ वर्षीय विद्या दाहाल। जिन्दगीमा विभिन्न ठक्कर खाँदै यहाँ आइपुगेकी उनले नानीहरूको मायाले नयाँ जीवन मिलेजस्तो लागेको सुनाइन्। 'यहाँ आएपछि आफू बाँचेको जस्तो लागेको छ,' उनले भनिन्, 'हामीलाई खुवाउनेभन्दा पनि हाम्रा कुरा सुन्ने मानिसको कमी थियो, त्यो यहाँ पूरा भएको छ।' पीडा पोख्दा मन हल्का हुने उनले सुनाइन्।

वृद्धवृद्धाको कुरा सुनेर आफूहरूले ज्ञान समेत बटुलेको स्वयंसेवामा खटिएकाको अनुभव छ। 'उनीहरूको आँसु र हाँसोमा धेरै कथा लुकेको छ,' सरु थप्छिन्, 'यसले हामीलाई जीवनका अफ्ठेरासँग जुध्न सक्ने शक्ति दिनेछ।'

कलेज ड्रेसमा सजिएर आएका नानीहरूले अफ्ठेरो नमानी सबै काम गरेको देख्दा आश्रममा उज्यालो छाएको छ। 'हाम्रो कपाल कोरिदिन्छन्, नङ काटिदिन्छन्,' ७५ वर्षीय सानुमैया जैशी भन्छिन्, 'अनि आमा भन्दै गोडामा तेल घसिदिन्छन्।'

स्वयंसेवीको मायाले बोल्न नसक्ने, देख्न नसक्नेको अनुहार पनि उज्यालिएको छ। ८४ वर्षीया दिलमाया लामा राम्रोसँग आँखा देख्दिनन्। तर नानीहरूको माया प्रस्ट देख्छिन्। उनीहरूको आवाज सुन्नेबित्तिकै रमाउँछिन्। 'हाम्रो सहारा बनेका छन्,' उनले भनिन्, 'उनीहरू बसुन्जेल हामी एक्लो महसुस गर्दैनौँ।'

किट्स कलेज पिसिएल नर्सिङमा अध्यनरत रास्ता राई वृद्धको घाउ सफा गर्दै थिइन्। वृद्ध बोल्न सक्दैनथे तर उनको अनुहारमा खुसीका रेखा देखिन्थे। राई १९ दिनको तालिमका लागि यहाँ आएकी हुन्। उनलाई भने यहाँ काम गर्ने रहर अरु बढेको छ। 'मलाई काम गर्ने रहर झनै बढेको छ,' उनले भनिन्, 'मैले यहाँ सेवा गरेकी मात्र हैन, जीवनप्रतिको शिक्षा पनि पाएको छु। यो सेवा गर्ने थलो मात्र हैन, जीवन सुधार्ने शिक्षालय पनि हो।' यहाँ सिकेका कुराले जीवन जिउन निकै सहज बनाएको उनले सुनाइन्। 'उहाँहरूसँग नजिक रहेर अनुभव सुन्दा जीवनको अफ्ठेरा सुल्भि्कएको महसुस हुन्छ।

सुष्मा कोइराला मेमोरियलबाट एक साताअगाडि आएकी सीमा क्षत्री पनि यहाँ आएर आफूले थुप्रै कुरा सिकेको सुनाउँछिन्। बूढापाकाको कुरा सुन्दा मन हल्का हुने उनले सुनाइन्। हामी जति नजिक बस्छौँ, उनीहरू झनै नजिक हुने उनको अनुभव छ। 'हजुरबा, हजुरआमाको नजिक बस्दा उहाँहरूलाई खुसी मिल्छ हामीलाई ज्ञान,' उनले भनिन्, 'चाहे त्यो घरमा होस् या आश्रममा।'

प्रकाशित: २६ चैत्र २०७३ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App