१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति भेट्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण राजधानी बेइजिङबाट सुरु हुने भएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ताका लागि समय मिलेपछि उनको भ्रमण बेइजिङबाट सुरु हुने भएको हो। भ्रमणका बेला चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग उनले वार्ता गर्नेछन्। उनको चीन भ्रमण एक साताको हुने 'लगभग तय भएको' परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

'प्रधानमन्त्रीज्यूको चीन भ्रमण बेइजिङबाट सुरु हुने भएको छ। चिनियाँ राष्ट्रपतिसँगको भेटको तारतम्य मिलेपछि भ्रमण बेइजिङबाट सुरु हुने भएको हो,' स्रोतले भन्यो, 'भ्रमणका बेला नेपाल–चीनबीच महŒवपूर्ण बैठक र सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर समेत हुनेछ।'

आउँदो साता चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने 'बोआओ फोरम फर एसिया सम्मेलन' मा सहभागिताका लागि निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी सुरु गरेका थिए। चिनियाँ राष्ट्रपतिसँग भेटघाटको समय तय हुन नसक्दा यसअघि उनी सीधै बोआओ जाने कि बेइजिङ भन्ने टुंगो लागेको थिएन। चिनियाँ राष्ट्रपतिसँग भेटघाटको समय मिलेपछि भ्रमण बेइजिङबाट सुरु हुने भएको हो। प्रधानमन्त्री दाहाल आउँदो साता चीन प्रस्थान गर्नेछन्।

'प्रधानमन्त्रीज्यूको चीन भ्रमणका बेला अघिल्लो सरकारको पालामा नेपाल र चीनबीच सहमति हुन नसकेका अजेन्डालाई विशेष प्राथमिकताका साथ राखिनेछ,' स्रोतले भन्यो। बेइजिङमा महŒवपूर्ण राजनीतिक भेटघाटपछि उनी बोआओ सम्मेलनमा सहभागी भई सम्बोधन गर्नेछन्।

एसियाका २८ राष्ट्रका प्रतिनिधि सम्मिलित बोआओ फोरमको वार्षिक सम्मेलन चैत ९ देखि १३ गतेसम्म हुने भएको छ। प्रत्येक वर्ष चीनले बोआओ सम्मेलन आयोजना गर्नेगर्छ। चीनले प्रत्येक पटक नेपाललाई सहभागी हुन निमन्त्रणा पठाउने गरेको छ। सम्मेलनको यसपटकको थिम 'विश्वव्यापीकरण र खुला व्यापार' रहेको छ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको दाहाल नेतृत्वको सरकारप्रति चीन असन्तुष्ट रहँदै आएको थियो। ओलीको चीन भ्रमणका बेला भएका सम्झौता र सहमति अघि बढाउन वर्तमान सरकारले आनाकानी गरेको बुझाइ चीनको थियो। चीनले प्रस्ताव गरेको 'वान बेल्ट वान रोड (ओबिओआर)' प्रस्तावमा लामो समय नेपाल मौन बसेपछि चीन झनै चिढिएको थियो। पछिल्लो पटक सरकारले ओबिओआरलाई सकारात्मक रुपमा लिँदै चीनलाई साथ दिने जनाएपछि चीनले प्रधानमन्त्री दाहाललाई बोआओ सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको हो।

गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि बोआओ सम्मेलनमा सहभागी हुन चीन गएका थिए। ओली बेइजिङ हुँदै बोआओ पुगेका थिए। ओली बेइजिङमा रहँदा नेपाल र चीनबीच पारवहन तथा यातायातसहित १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। त्यति बेला अन्य २७ मुद्दामा पनि छलफल भएको थियो। बहुप्रतीक्षित इन्धन सम्झौतामा गत वर्ष नेपाल र चीनबीच सम्झौता हुने सकेको थिएन। चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्नेसम्बन्धी व्यापारिक सम्झौता सम्पन्न गर्न दुवै सरकार सहमत भने भएका थिए।

प्रकाशित: ५ चैत्र २०७३ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App