२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

पुनर्वास घटना अपसोचपूर्ण : भारतीय गृहमन्त्री

काठमाडौं- भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपालीको मृृत्यु भएको घटनाबारे समकक्षी सिंहको ध्यानाकर्षण गरेका थिए। जबाफमा सिंहले सो घटना अपसोचपूर्ण भएको बताएका थिए।

भेटमा गृहमन्त्री निधिले नेपाल–भारत सीमा विवाद सम्बन्धमा तीन वर्षदेखि काम गर्दै आएका तीनटा संयुक्त प्राविधिक टिममा २ वटा थपेर सीमास्तम्भ लगायत प्राविधिक कामलाई थप गति दिनुपर्ने प्रस्ताव गरेका थिए।

सिंहले प्राविधिक टिम थप्ने विषयमा आफू सकारात्मक रहेको बताएका थिए। भेटमा सुरक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिने र थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। निधिले संविधानसभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्वाचन आयोगलाई आवश्यक लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोग गर्न सिंहलाई आग्रह गरे। सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए।

प्रतिआतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँदिल्ली पुगेका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त छन्। उनले बिहीबार अपराह्न नै भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग पनि भेट गरे। निधि शुक्रबार स्वदेश फर्कंदै छन्।   

प्रकाशित: ४ चैत्र २०७३ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App