१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता सक्रियता बढ्यो

पोखरा- स्याङ्जा सेतीदोभानकी पार्वती पनेरुको परिवार एक वर्षअघि पोखरा रत्नचोकमा बसाइँ सर्‍यो। बसाइँ सरे पनि पनेरु परिवारले मतदाता नामावली पोखरामा सार्न बेलैमा हेक्का राखेन। समयमै नामावली सार्न गरेको ढिलाइले पनेरु परिवार आगामी निर्वाचनमा मतदान गर्न स्याङजा पुग्नुपर्नेछ। पोखरामै नाम सारिदिन अनुरोध गर्दै पनेरु केही दिनअघि निर्वाचन कार्यालय पुगेकी थिइन्।

–स्याङजा पुतलीबजार–९ का यादव गिरीको मतदाता नामावलीमा नाम छ। तर, श्रीमती लक्ष्मी कार्की (गिरी) को नाम मतदाता सूचीमा छैन। मतदाता सूचीमा श्रीमतीको नाम छुटेपछि अब दर्ता गर्न मिल्छ वा मिल्दैन भनेर गिरीले सोधखोज गर्न थालेका छन्।

सरकारले वेैशाख ३१ गते स्थानीय तह निर्वाचन घोषणा गरिसकेपछि मतदातामा आएको सक्रियताका यी दुई उदाहरण हुन्। करिब दुुई दशकसम्म स्थानीय निर्वाचन नहुँदा निराश रहेका सर्वसाधारण वैशाखमा निर्वाचन हुने घोषणाले खुसी र उत्साही देखिएका छन्। निर्वाचनमा भोट हाल्न आफ्नो नाम मतदाता सूचीमा भए/नभएको वा सार्न मिल्ने/नमिल्ने भनेर मतदाताले सोधखोज सुरु गर्न थालेका छन्।

'लामो समयपछि मुलुक निर्वाचनमा होमिएकाले होला, यसपटक मतदाता निकै सचेत देखिएका छन्। उनीहरूमा सक्रियता पनि बढेको छ,' क्षेत्रीय निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी गंगालाल सुवेदी भन्छन्, 'अब मतदान गर्न पाइन्छ भनेर मतदातामा खुसीयाली छाएको छ। त्यसैले होला, मतदाता सूचीमा छुटेका नाम दर्ता गर्न र सार्न भन्दै निर्वाचन कार्यालय धाइरहेका छन्।' बेला घर्किसकेकोले नयाँ दर्ता गर्न र सार्न नमिल्ने भए पनि मतदातामा व्यक्तिगत चासो निकै बढेको उनले बताए। 'ढिलै भए पनि नामावलीमा आफ्नो नाम भए नभएको खोज्दैछन्,' उनले भने।

नयाँ मतदाताको नाम दर्ता र सार्न निर्वाचन घोषणासँगै बन्द भए पनि मतदाता आफूलाई जानकारी नभएको भन्दै 'सकेसम्म मिलाइदिनु' भन्दै निर्वाचन कार्यालय पुग्ने गरेका छन्। 'चुनावमा भोट हाल्न स्याङ्जा पुग्नै सकिन्नँ, त्यही भएर जसोतसो मिलाइदिनु,' निर्वाचन अधिकारीसमक्ष बसाइँ सरेको कागजात देखाउँदै स्याङजाबाट पोखरामा मतदाता नामावली सार्न चाहेकी पनेरु भन्दै थिइन, 'यस्तो अप्ठेरो आइपर्छ भन्ने थाहा पाएको भए बेलैमा सार्ने थिए। ढिला भए पनि पोखरामै सार्न पाइन्छ भनेर बेवास्ता गरियो, आखिर दुःख पाइने भो।'

बसाइँसराइको कागजात बोकेरै निर्वाचन कार्यालय पुगे पनि बेला घर्किसकेकाले नामावली सार्न नमिल्ने जबाफ पाउँदा मतदान नै गर्न पो नपाउने हो कि भन्ने चिन्ता लागेको उनले बताइन्। 'निर्वाचन कार्यालयबाट नजिकै घर भएर पनि बेलैमा होश नपुर्‍याउँदा मतदान गर्नबाट बञ्चित हुनुपर्ने हो कि भन्ने डर छ,' उनले भनिन, 'अघिल्लो दिन स्याङ्जा गएर भए पनि भोट त दिनुपर्ला। तर, सकेसम्म पोखरामै सार्न पाए राम्रो हुन्थ्यो। नत्र त घरपायकको मतदान केन्द्र छाडेर स्याङरजा धाउनुपर्ने भयो।'

अर्का मतदाता गिरी पनि बेलैमा मतदाता नामावलीमा परिवारका सदस्यको नाम दर्ता गर्न ध्यान नपुगेको बताउँछन्। 'बेलाबेला चुनाव भएको भए बल्ल नाम दर्ता गर्न चासो हुन्थ्यो। लामो समयपछि बल्ल चुनाव हुँदैछ, त्यही भएर छुट्यो,' उनले भने, 'हामीले यसबारे हेक्का कम राखेकै पनि हौं।' राजनीति सही बाटोमा नहुँदा निर्वाचन हुने वा नहुने भन्ने दोधार रहेकाले पनि मतदाता सूचीमा नाम दर्ता गर्न ध्यान नपुगेको गिरी बताउँछन्। 'स्थानीय तह निर्वाचन होला र भन्नेमा आशंका थियो। घोषणा भयो, त्यसले बल्ल हामीमा सक्रियता पलायो,' गिरीले थपे, 'हाम्रो सक्रियतामा अझैं ढिला भएछ।'

निर्वाचन अधिकारी सुवेदीका अनुसार मतदाता नामावली ऐनमा चुनाव घोषणा भएकै दिनदेखि नयाँ मतदाता दर्ता र सरुवा बन्द गर्ने उल्लेख छ। त्यसले गर्दा अब कोही नयाँ मतदाता थपिने छैनन् र नामसारी पनि हुने छैन। नयाँ दर्ता र सार्नका लागि संसद्ले ऐन नै परिवर्तन गर्नुपर्ने भएकाले सम्भव नरहेको सुवेदीको भनाइ छ। 'अघिल्ला निर्वाचनमा निर्वाचन आयोगले केहीदिन म्याद थपेर दर्ता गर्ने समय दिने गरेको थियो तर, अहिले ऐनमै व्यवस्था भएकाले अब  नयाँ थपिने र सार्ने सम्भावना छैन,' उनले भने, 'दिनहुँ कार्यालयमा नयाँ दर्ता र सार्न भन्दै आउँछन्। तर, मिल्दैन भनेर पठाउनुपरेको छ।'

उनका अनुसार ग्रामीणभन्दा सहरी क्षेत्रका मतदाताले नाम दर्ता गर्न छुटाएका छन्। सहरी व्यस्तता, मतदाताकै बेवास्ता, वडासचिवको पहिचान कम, राजनीतिक दलको बेवास्ताले सहरी क्षेत्रका धैरै मतदाता छुटेको उनले बताए। 'गाउँमा को छुट्यो भन्ने सबैले थाहा पाउँछन् तर, सहरमा वडाका कर्मचारीले सबैलाई चिन्दैनन्। मतदाता पनि बेवास्ता गर्छन,  अनि राजनीतिमा कम चासो दिन्छन,' उनले भने, 'निर्वाचन हुन्छ भन्ने धेरैलाई पत्यार थिएन, त्यही भएर पनि मतदाताले बेवास्ता गरेका थिए। त्यही बेवास्ताको परिणाम भोट हाल्नै छुटने अवस्था आयो।'

पछिल्लो समय राजनीतिक माहोल चुनावमा जाने अवस्था देखिनासाथ मतदाताले बल्ल सोधखोज गर्न थालेको  सुवेदीको अनुभव छ। 'चुनाव घोषणा गर्ने भन्ने सुनेपछि मतदाता बढी सक्रिय थिए। अब पक्का हुने भयो भनेपछि अधिकार खोज्न निकै सक्रिय बने,' उनले भने, 'चुनावी माहोल बढ्नासाथ मतदाता सक्रिय भएका छन्।'

राजनीतिक दल पनि मतदातामा यतिबेला निर्वाचनको चासो निकै ने बढेको बताउँछन्। 'मतदाता निकै सक्रिय भएका छन्। त्यही भएर होला बसाइँसराइको कागज बोकेर निर्वाचन कार्यालय पुगेका छन्,' कास्की कांग्रेस जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सेनाले भने, 'चुनाव हुने निश्चितता देखेरै मतदाता सक्रिय बनेका हुन्।' उनले मतदातालाई बेलैमा नाम दर्ता गर्न आग्रह गरे पनि केहीको बेवास्ताले छुटेको हुनसक्ने बताए।

एमाले कास्की जिल्ला कमिटी सचिवालय सदस्य तेजनारायण अधिकारी पनि मतदातामा सक्रियता बढेको बताउँछन्। 'लामो समयपछि हुन थालेको चुनावमा मतदाताले आफ्नो अधिकार खोज्दैछन्। त्यही भएर भोट हाल्न पाइन्छ वा पाइन्न भनेर सोधखोज बढेको हो,' उनले भने, 'यसलाई सकारात्मक मान्नुपर्छ।'

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App