१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

त्यो अल्केमिस्ट

१९८७ मा तीन साता लगाएर लेखेको 'द अल्केमिस्ट' १९८८ मा छापिएर बजारमा आइपुग्दा ब्राजिलमा कसैले पनि यो उपन्यासलाई देखेन वा कसैले पनि चासो दिएन । देशको उत्तरपूर्वी कुनाको एउटा पसलबाट किताब निस्केको पहिलो सातामा एक जना मानिसले किनेको थियो। अर्को प्रति बिक्री गर्न त्यो पसलेलाई थप छ महिना लाग्यो। जुन व्यक्तिले पहिलो किताब लगेको थियो, दोस्रो किताब किन्ने पनि त्यही व्यक्ति थियो। तेस्रो किताब बिक्न कति समय लाग्यो, कसले पो ख्याल गर्‍यो होला र!

किताब छापिएको एक वर्ष पुगिसक्दा पुस्तक बजारका सबैजसोलाई थाहा भइसकेको थियो, 'द अल्केमिस्ट' भन्ने फुच्चे उपन्यासले कुनै चमत्कार देखाउन सकेन। (लेखकबाहेक उपन्यासप्रति कसलाई पो विश्वास थियो होला र?) उपन्यास कसरी फ्लप भयो भने प्रकाशकले अर्को उपन्यासका लागि लेखक पाउलो कोएलोसँग गरेको सम्झौता पनि रद्द गर्‍यो। 'लैजाऊ तिम्रा ठाँडाहरू' भन्दै बिक्री नभएका प्रति जिम्मासमेत लगायो। निराशाको हदमा बाँचिरहेका लेखक त्यो बेला उमेरमा ४१ टेकिसकेका थिए। उनका अघिल्तिर कुनै भविष्य थिएन। उनका परिवार उनको रवैयाप्रति दुःखी थिए। हुन त २० वर्षकै उमेरमा तीन पटक पागलखानामा पुर्‍याउने अभिभावकले उनबाट के नै आशा राखेका थिए होलान् र!

बाउ चाहन्थे, छोरो आफूजस्तै इन्जिनियर होस्। त्यो बेला इन्जिनियर हुनु सफल जीवनको ग्यारेन्टी थियो, पैसाको अभाव हुन्थेन। एउटा आनन्दको जीवन उनले बाँच्न सक्थे। तर, उनले बाउआमालाई भनेका थिए, 'म लेखक हुन चाहन्छु, त्योबाहेक म केही चाहन्नँ।' लेखनीको त्यो बेला कुनै भविष्य थिएन। विरलै साहित्यकारले ब्राजिलमा लेखेर जीविका धानेका थिए। यस्तो अन्धकार भविष्य भएको पेसामा छोरो अडिने कुरा सुनेर बाउआमा दुःखी भइरहेका थिए।

बाउआमाको इच्छाविपरीत हिँड्न उनले घर छाडे। नाटक गरे, नाटक लेखे, अभिनय गरे। नाटकका अभिनेत्रीहरूसँग रोमान्स गरे। एउटी धनाढ्य महिलासँग प्रेम गरे र उसको जीवन बर्बाद पारे, आफू स्वयं पनि तनावको स्थितिमा पुगे। यस्तो अवस्थामा यो उपन्यासको उग्र सफलताको व्यग्र प्रतीक्षामा थिए उनी। यसअघि नै उनले 'हेल आर्काइभ', 'प्राक्टिकल म्यानुअल टु भेम्पायरिज्म' र 'पिलग्रिमेज' (१९८७) जस्ता कृति लेखिसकेका थिए। ती कृतिले उनलाई कुनै ख्याति दिलाएका थिएनन्। त्यसैले पनि प्रकाशकले मन नलागेरै पनि 'द अल्केमिस्ट' छापेका थिए। अघिल्ला कृतिको बलमा यो जाला भन्ने कुनै आशा नभएकाले पनि बल्लतल्ल ९ सय प्रति छापेर बजारमा पठाइएको थियो, त्यो पनि चलेन।

पाउलोको एउटा गुण थियो, जसै उनी कुनै कुरा गर्न बस्थे, अघिल्तिरको मानिस मख्ख पर्थ्यो। उनको प्रकाशकले पनि 'द अल्केमिस्ट' नपढी सीधै पाउलोले सुनाएको कथाबाट प्रभावित भएर छाप्न राजी भएको थियो। लेख्ने तयारी गरेको अर्को उपन्यास 'ब्रिडा'को कथानक पनि उनले सुनाइसकेका थिए र त्यसलाई छाप्न प्रकाशक राजी भइसकेका थिए। तर, जीवन सधैँ सोचेजस्तो कहाँ हुन्छ र? किताबले वर्षभरिमा कुनै चमत्कार नदेखाएपछि प्रकाशकले भइसकेको सम्झौता पनि रद्द गर्‍यो।

'मलाई किताबमाथिको विश्वास कहिल्यै कम भएन,' उनले किताब निस्केको २५ वर्ष पुगेको उपलक्ष्यमा भनेका छन्, 'मेरो कथा बुन्ने शैली आफैलाई रूचिकर लाग्थ्यो। आफू कहिल्यै असफल भएको छु भन्ने लाग्दै लाग्दैनथ्यो। एक किसिमको एकोहोरो व्यक्ति थिएँ म।'

यो उपन्यास लेख्न उनले आफ्नो मुटु र आत्मा लगाएको दाबी गर्थे। त्योभन्दा बढी उनी आफ्नो 'मेटाफोर' आफै बाँचिरहेको कथा हो भन्थे।

एउटा गोठालो कुनै यात्रामा निस्कन्छ। उसका आँखामा सुन्दर सपना छ र त्यो सपनामा चमत्कारी ठाउँ छ। ऊ एउटा अज्ञात गाढधनको खोजीमा निस्किएको छ। यात्राको अन्त्यसम्म आइपुग्दा त्यस गोठालोलाई महसुस हुन्छ, सधैँभरि, यात्राभरि, त्यो गाढधन त ऊसितै रै'छ! उसले आफूभित्र नखोजी, बाहिर खोजिहिँड्यो!

यस्तै व्यक्तिगत महानता बोकेर उनी स्वयं हिँडेका थिए। उनले आफ्नै कथालाई उनेका थिए। उनमा सधैँ लेख्न सक्छु र लेखेरै सबैथोक कमाउन सक्छु भन्ने विश्वास थियो।

जब तपाईं भित्रैबाट कुनै कुराको चाहना राख्नु हुन्छ, पूरा ब्रह्माण्डले तपाईंलाई सहयोग गर्छ– उनले 'द अल्केमिस्ट'मा लेखेका यी शब्द आज करोडौँ पाठकलाई सुम्सुम्याउने शब्द हुन्, ढाडस दिने शब्द हुन्। पहिलो प्रकाशकले किताब बिक्री नभएपछि पाउलोलाई सीधै भनिदियो, 'म तिम्रो अर्को उपन्यास छाप्न सक्तिनँ। हाम्रो सम्झौता आजैका दिनबाट सकियो।'

अस्वीकृत हुनु उनको नियति थियो। यसअघिका २० वर्ष उनले जीवनमा कैयौँ अस्वीकृति झेलिसकेका थिए। त्यसैले प्रकाशकले दिएको यो 'धक्का'ले उनलाई दुःख लागे पनि टुटाएन। उनलाई कथामा विश्वास थियो। त्यसैले उनी अन्य प्रकाशकको ढोकाढोका चहार्न थाले।

'द अल्केमिस्ट'को असफल संस्करणपछिको अर्को नयाँ संस्करण निकालिदिन ढोकाढोका चहारे पनि कसैले मानेनन्। यसअघि निस्किसकेर असफल घोषित उपन्यासलाई कसले पो निकाल्न चाहन्थ्यो र? तर, एउटा प्रकाशकले उनलाई पत्यायो। ऊ 'द अल्केमिस्ट'लाई अर्को मौका दिन तयार भयो। किताब निस्कियो, प्रकाशकले हल्ला गर्ने वातावरण बनायो। बिस्तारै एक कान–दुई कान–मैदान भनेजस्तै किताबको मौखिक प्रचार हुन थाल्यो। किताबले एकै पटक ३ हजार बिक्रीको कीर्तिमान बनायो, त्यसपछि ६ हजार हुँदै १० हजार नाघ्यो। एक वर्षमै यत्रोविधि त्यही 'फ्लप' किताब बिक्री भएको देख्दा उनी आफैले पत्याएनन्, तर किताबमाथिको विश्वास उनलाई छँदैथियो। अहिले पनि उनलाई घरिघरि लाग्छ– झन्नै त्यो किताबमाथिको विश्वास गुमाएँ!

किताब हिट भएको ८ महिनापछि एक जना अमेरिकी ब्राजिल घुम्न आउँदा 'द अल्केमिस्ट'को एक प्रति किन्यो। उसले किताब पढिसकेपछि पाउलोसँग भेटेर अंग्रेजी अनुवाद गर्न चाहेको बतायो र यो किताबलाई हार्पर कोलिन्सजस्तो चर्चित प्रकाशकले छाप्ने दाबी गर्‍यो। 'यस्तै किताब अमेरिकीले रूचाउँछन्,' उसले भनेको पाउलो सम्झन्छन्।

नभन्दै पोर्चुगाली भाषाबाट अंग्रेजीमा अनुदित पुस्तक अमेरिकी पाठकका लागि बजारमा आयो। प्रकाशकलाई किताबप्रति कति विश्वास थियो भने न्युयोर्क टाइम्स पत्रिकामा महँगो विज्ञापनसमेत छपाएको थियो। त्यतिमात्र होइन पाउलोको अन्तरवार्ता प्रभावशाली न्युज म्यागेजिन, रेडियो र टेलिभिजनमा समेत बजायो। तर, किताबले साँच्चिकै ख्याति कमाउन समय लाग्यो। कतिसम्म भने किताबको कथालाई मामुली ठानेर चर्चित पत्रिकाले समीक्षासमेत लेखेनन्। पहिलो समीक्षा अस्ट्रेलियाको पत्रिकाले लेख्यो। त्यसपछि बल्ल अरुले समीक्षा लेख्ने चासो देखाए।

ब्राजिलमा जस्तै बिस्तारै एक कान–दुई कान–मैदान हुन समय लाग्यो। एक दिन अचम्म भयो, बिल क्लिन्टन ह्वाइट हाउसमा बसिरहेका बेला उनको टेबुलमा 'द अल्केमिस्ट' किताब देखिएको तस्बिर सार्वजनिक भयो। भेनिटी फेयर पत्रिकामा चर्चित गायिका म्याडोनाले किताबका बारेमा खुलेर प्रशंसा गरिन्। काला जातिका एक जना गायकले ओपेरा विन्फ्रेको चर्चित टेलिभिजन कार्यक्रममा आत्महत्याको संघारमा पुगेका बेला किताबले दिएको ऊर्जाका बारेमा भने– 'यो उपन्यासले मेरो जीवन बदल्यो।'

त्यसपछि त यो उपन्यास हलिउडका कलाकारको पनि प्रिय किताब बन्यो भने हरेक कलेज विद्यार्थीका लागि त्यो अनिवार्य पाठ्यसामग्री बन्यो। हुँदाहुँदा घरमा फुर्सदिला आमाको पनि पढ्ने सूचीमा थपियो। यो किताब कति मन पराइयो भने न्युयोर्क टाइम्स बेस्ट सेलर सूचीमा ३ सय साताभन्दा बढी समयसम्म टिक्यो। कुनै पनि जिउँदो लेखकका लागि यो सपनाजस्तो अनुभूत हुने अवसर यो किताबले दिलायो। बेस्ट सेलर सूचीमा लामो समयसम्म टिकेको पुस्तकका रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भयो। त्यसपछि त संसारका ८० भन्दा बढी भाषामा यसको आधिकारिक अनुवाद भयो। कुनै पनि जीवित लेखकको किताबले यति धेरै भाषामा अनुदित हुने सौभाग्य पाएको छैन। नेपालजस्ता अन्य मुलुकमा समेत अनधिकृत अनुवाद भएर किताब हिट भयो। पाउलोका लागि सबैभन्दा सुखद् कुराचाहिँ विभिन्न सर्भेक्षणमा उनको यो सानो कृति २० औँ शताब्दीका उम्दा उपन्यासमध्ये सर्वोत्कृष्ट १० भित्रै गनिनुमा थियो।

अझै पनि पाउलोलाई धेरैले अनलाइनमार्फत् सोध्छन्, यो किताब यति धेरै सफल हुनुको कारण के हो? जवाफमा पाउलो भन्छन्, 'मलाई के थाहा? मैले कसरी थाहा पाउन सक्छु? जुन बेला म लेख्न बसेको थिएँ, मसँग एउटा मनोहर कथा थियो, जुन म हृदयबाट लेख्न चाहन्थेँ, दिमागबाट होइन। यो मेरो हृदयको कथा पनि थियो। म आफू गाढधन खोज्दै हिँडेको, मेरै कथा लेखिरहेको थिएँ तर यति सफल होला भन्ने कहिल्यै लागेको थिएन।'

द अल्केमिस्ट उपन्यास लेखेको तीस वर्ष पुगिसकेको छ। पाउलो यस उपन्यासलाई विगतको भावनात्मक गन्थन मात्र मान्दैनन्। बरु किताबमा अझै पनि जीवन्तता पाउँछन्। हरेक समयमा यो उपन्यास उत्तिकै जीवन्त हुनेमा उनी ढुक्क छन्। 'यसमा मेरो मुटु र आत्मा छ,' उनको दाबी छ, 'त्यसैले पनि यो कहिल्यै पुरानो हुँदैन। सधैँ ताजा र सधैँ जीवन्त छ यो उपन्यास।'

'यो उपन्यासमा मेरो मुटु र आत्मा गाँसिएको छ, मेरो मुटु र आत्मा भन्नु तपाईंको मुटु र आत्मा हो। म भेडा गोठालो सान्टियागो हुँ, म गाढधनको खोजीमा हिँडेको सान्टियागो हुँ। तपाईं पनि त केही न केहीको खोजीमा निस्कनु भएको सान्टियागो हुनुहुन्छ। उसो भए, तपाईं र ममा के फरक भयो र? म नै तपाईं हो र तपाईं नै म हुँ,' पाउलो किताबमाथि टिप्पणी गर्दै भन्छन्, 'एउटा व्यक्तिको कथा सबै व्यक्तिको कथा हो र एउटा मानिसको खोजी सबै मानव जातिको खोजी हो। त्यसैले पनि मलाई विश्वास छ, अल्केमिस्टले यति लामो समयसम्म पनि सबै वर्ग, समुदाय र क्षेत्रका मानिसलाई आकर्षित गर्न सक्यो। तिनको आत्मालाई, भावनालाई उत्तिकै बिना कुनै भेदभाव नराखी छुन सक्यो।'

पहिलो पटक पढ्दा जति सनसनी मच्चाउँथ्यो, दर्जनौँ पटक पढिसक्दा पनि उत्तिकै सनसनी मच्चाउने खुबी यो उपन्यासमा छ। यस्तै अनुभूति यसका लेखकलाई पनि हुन्छ। कहिलेकाहीँ किताब निकालेर पढ्दा लेख्दाका बेलाको सनसनी महसुस गर्छु भनी उनले लेखेका छन्। किताबका बारेमा उनी भन्छन्, 'यो किताब अरु कसैले पढिरहेको देख्दा मलाई साह्रै आनन्द आउँछ किनभने त्यसले द अल्केमिस्ट होइन, मेरा भावना पढिरहेको छ। तिनले मलाई र मेरो आत्मालाई बुझिरहेका छन्।'

एक दिन काठमाडौँको एउटा साहित्यिक भेलामा एक जना युवा पाठकले भनेको सुनेँ, 'द अल्केमिस्ट कुनै मूल्यवान् कृति होइन।' म मुसुक्क हाँसे किनभने उसले मूल्य नदेखेको साहित्यलाई कुनै लेखकले 'हर्ट एन्ड सोल' लगाएर लेखेको थियो। संसारभरिका करोडौँ मनमस्तिष्क झंकृत पार्ने उपन्यासको मूल्य ती पाठकले रत्तिभर देखेका थिएनन्। मलाई लाग्यो– यो उनको मनले बोलेको कुरा होइन, पक्कै मस्तिष्कले बोलेको हुनुपर्छ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित: २५ असार २०७३ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App