१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रेलवेलाई प्रधानमन्त्री कप उपाधि

नेपालगन्ज- रेलवे टिम इन्डियाले लगातार दोस्रो पटक प्रधानमन्त्री कप चौथो महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। लगातार दोस्रोपटक च्याम्पियन बन्दा रेलवेले नेपालको विभागीय टोली एपिएफलाई नै हराएको हो।

। बुधबार नेपालगन्ज रंगशालाको कभर्ड हलमा भारतीय राष्ट्रिय टोलीका दुई खेलाडी सम्मिलित साबिक विजेता रेलवेले एपिएफलाई २७–२५, २५–१७, २५–२२ ले हरायो।

एपिएफले सुरुआती सेटमा २५–२५ को बराबरी गर्दै रेलवेलाई दबाब दिएको थियो। तर लगातार दुई सेट गुमाएपछि एपिएफले फाइनल खेलकै प्रतिस्पर्धात्मक सेट गुमायो। पहिलो सेटमा हारको सामना गरेपछि एपिएफले अन्य सेटमा रेलवेलाई कडा चुनौती दिन सकेन। एपिएफ प्रतियोगिताको चौथो संस्करणमा गत वर्षको हारको बदला लिने लक्ष्यसहित नेपालगन्ज आएको थियो। तर टोलीले अर्को पटक पनि रेलवे टिमसँग फाइनलमा निराश भएर फर्कनुपर्‍यो। एपिएफबाट राष्ट्रिय टोलीकी स्पाइकर सरस्वती चौधरी, नेविका चौधरी, रेश्मा विष्ट, उषा विष्ट र कप्तान विनीता बुढाथोकीले खेल्ने गर्छन्। टोलीका अन्य खेलाडी घरेलु भलिबलको अनुभवी खेलाडीको रूपमा चिनिन्छन्। रेलवे टिममा भारतीय टोलीकी स्पाइकर प्रीति सिंह र अनुश्री घोषले प्रतिनिधित्व गर्छन्। रेलवेकी प्रशिक्षक दीप्ति घोष भारतीय महिला टोलीकी पूर्वखेलाडी पनि हुन्। उनले भारतीय टोलीको कप्तानको जिम्मेवारी पनि सम्हालिसकेकी छिन्। घोषले नेपाली टिमसँग खेल्दा सधैं कडा चुनौतीको सामना गर्नुपरेको बताइन्। उनले भनिन्, …नेपाली खेलाडीमा क्षमता नभएको होइन। उनीहरू प्रतिभाशाली  भए पनि स्तर अझै माथि आउन जरुरी छ। हामीलाई नेपाली टोलीसँग खेल्दा राम्रो लाग्छ। एपिएफको टिम समन्वय राम्रो छ।'

तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१८, २०–२५, २५–१५, २५–२३ ले पराजित गर्‍यो। नेपाल पुलिस क्लब प्रतियोगिताको पहिलो संस्करणको विजेता  हो।

 रेलवेकी अनुश्रीले प्रतियोगिताको उत्कृष्ट खेलाडीको ट्रफी जितिन्। उनले नगद १० हजार रुपैयाँ पाएकी थिइन्। प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपिएफकै उषा विष्ट उत्कृष्ट ब्लकर, एपिएफकै नेविका चौधरी उत्कृष्ट सर्भर, रेलवेकी रिचु म्यारी उत्कृष्ट सेटर र उत्कृष्ट रक्षकको रूपमा रेलवेकी पिरोस्मिता बापरी पुरस्कृत भए।  विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, सदस्यद्वय विनोद मैनाली, शान्ति सिंह, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर गुरुङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन, मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली र आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस  ठकुरीले पुरस्कृत गरे।

लिगकम नकआउटको आधारमा फागुन १४ देखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ, आर्मी, आयोजक मध्यपश्चिम भलिबल टोलीसहित भारतका दुई टोली रेलवे र बर्सात् एसोसिएसन क्लबले प्रतिस्पर्धा गरेका थिए।

विजेता रेलवेले १ लाख ११ हजार, उपविजेता एपिएफले ५५ हजार र तेस्रो भएको पुलिसले ३५ हजार प्राप्त गरे।

प्रकाशित: १९ फाल्गुन २०७३ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App