१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

संकटा अन्तिम चारमा

धरान- सिएमजी क्लब संकटाले सोमबार उपाधिको दाबेदार एपिएफमाथि १–० को जित निकाल्दै धरानमा जारी १९औं बूढासुब्बा रेडबुल गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार संकटालाई जित दिलाउन ३९औं मिनेटमा राज पौडेलले गरेको एउटै गोल पर्याप्त भयो। सजिन थापाको क्रसमा राजले हेडमार्फत गोल गरेका थिए। जारी सिजनमा एपिएफविरुद्धको तेस्रो भेटमा संकटाले दोस्रो जित हासिल गरेको हो। झापा गोल्डकपमा दुई टिमबीच भेट हुँदा एपिएफ १–० ले विजयी भएको थियो भने सिमरा गोल्डकपमा संकटाले २–० को नतिजा निकाल्दै त्यसको बदला लिएको थियो। एपिएफमाथिको विजययात्रालाई दोस्रो खेलसम्म निरन्तरता दिएको संकटाले बिहीबार अन्तिम चारको खेलमा रूपन्देही ११ को सामना गर्नेछ।

प्रतिस्पर्धात्मक खेलमा संकटाले थुपै अवसर खेर फाल्दा फराकिलो अन्तरले जित पाउन सकेन। पहिलो हाफको १७औं मिनेटमा संकटाका सुशील केसीको कडा प्रहारलाई एपीएफका डिफेन्सले क्लियर गर्दै खतरा टारे भने ३०औं मिनेटमा मार्टिन अजयले डिबक्सभित्र पास दिएको बललाई नियन्त्रण गर्न नसक्दा सुशीलले मौका गुमाएका थिए। दोस्रो हाफको १४औं मिनेटमा पनि सजिन थापाको पासमा सुशीलले हेड गर्न भ्याएनन्। १७औं मिनेटमा भूषण सुब्बाको प्रहारलाई एपीएफको रक्षापंक्तिले क्लियर गरे पनि रिबाउन्डमा सुशीलले गरेको प्रहार पनि रक्षापंक्तिले असफल बनाइदियो। २२औं मिनेटमा लवल वललेकनको प्रहारलाई एपिएफका गोलकिपर राजु नगरकोटीले पन्च गरिदिए।

एपिएफले पनि थुप्रै अवसर खेर फाल्यो। पहिलो हाफको ३२आंै मिनेटमा अमृत अधिकारीको प्रहारले पोस्टको दिशा लिन सकेन भने ४१औं मिनेटमा अमृतकै प्रहारलाई संकटाका गोलकिपर विनय श्रेष्ठले समाते। ४३औं मिनेटमा नवीन लामाको पासमा तोप विष्टले वान भर्सेस वानमा गोल गर्न चुक्नु एपिएफको दुर्भाग्य बन्यो। उनको प्रहारलाई किपर विनयले असफल बनाइदिए। एक गोलले पछि परेपछि दोस्रो हाफमा एपिएफ आक्रामक शैलीमा उत्रिएको थियो। दोस्रो हाफको २५औं मिनेटमा श्याम नेपाली र तोप विष्टले लगातार आक्रमण गरे पनि सफल भएनन्। श्यामको पहिलो प्रहारलाई विनयले सुन्दर बचाउ गरे। राम्रोसँग क्लियर नभएको बललाई  श्यामले पुनः गोल गर्ने अवसर सृजना गरिदिए पनि तोप विष्ट वान भर्सेस वानमा चुके। उनको प्रहारलाई विनयले नै असफल बनाइदिए। दोस्रो हाफको इन्जुरी समयमा पनि वान भर्सेस वानमा तोप विष्ट गोल गर्न चुकेपछि एपिएफले पुनरागमन गर्ने मौका गुमायो। खेलको म्यान अफ दि म्याच एपिएफका रमेश दंगाल घोषित भए। उनले नगद ५ हजार थापे।

एपिएफका प्रशिक्षक कुमार थापाले तोप विष्टले पाएका तीनवटा अवसर गोलमा परिणत नगर्नु नै हारको मुख्य कारण भएको बताए। साथै, एउटा टिमले ३ जना मात्र विदेशी खेलाडी मैदानमा उतार्ने नियमविपरीत संकटाले धेरै खेलाडी खेलाउँदा खेलमा असर परेको बताए। 'खासमा क्लबमा ४ जना विदेशी खेलाडी हुन्छन् र ३ जना मात्र खेल्न पाउँछन्। यहाँ त जति थिए, सबै खेले'–उनले भने। संकटासँग ६ जना अफ्रिकन मूलका खेलाडी छन्। संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएको र एउटै मौकालाई गोलमा परिणत गरेपछि जित हासिल गरेको प्रतिक्रिया दिए। 'खेल बराबरी नै थियो, हामीले पाएका अवसरमध्ये एउटालाई सदुपयोग गरेर जित्यौं'–उनले भने। प्रतियोगितामा मंगलबार अन्तिम क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब र कञ्जनजंघा फुटबल क्लब दार्जिलिङबीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७३ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App