१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कौशल देखाउँदै कलिला कलाकार

काठमाडौं- एक दिन विमलकी फुपूले गाउँबाट आमाबाबु नभएको बालक भोला लिएर सहर आउँछिन्। भोलालाई देखेर विमल र एउटी बैनीले निकै जिस्काउँछन्। तर, सानी बैनी भने भोलालाई माया गर्छिन्। घरमा विमलका बाबु विजयले पनि भोलालाई निको मान्दैनन्। उनले घरमा आएकी दिदी र त्यो मैलो लुगा लाएको भोलाप्रति रुखो व्यवहार देखाउँछन्। दिदीले भोलाको पढाइका लागि आग्रह गर्छिन्। 'यत्रो कमाउँछस् भाइ, यो आमाबुबा नभएको अनाथ भोलालाई पढाइदे, धर्म लाग्छ,’ दिदीले आग्रह गर्छिन्। विजयले रुखो जवाफ दिन्छ, 'मलाई धर्म कमाउने रहर छैन। सहरमा थुप्रै बालगृह छन्, त्यही लगिदिनुस् यसलाई, बरु म भनिदिउँला।’ यसरी भोला एकपछि अर्को गर्दै संघसंस्थाको ढोका चहार्न पुग्छ। तर, उसले बास र पढ्ने ठाउँ पाउँदैन।

आइतबार प्रज्ञाकुञ्ज स्कुलमा विद्यार्थीले देखाएको नाटक 'भोला'को कथासार हो, माथिको अनुच्छेद। प्रज्ञाकुञ्ज स्कुल बानेश्वरमा तीन कक्षामा पढ्ने बालबालिकाले आइतबार देखाएको नाटकले भोलाको कथामार्फत सहर र गाउँ, धनी र गरिबबीचको भेदभावलाई देखाएको छ।  भोलाको सडकमा मृत्यु भएसँगै नाटक सकिन्छ। स्कुल विद्यार्थीलाई नाटकमा सहभागी गराउने उद्देश्यले आयोजना भएको मोबाइल थिएटरअन्तर्गत बिहीबारबाट काठमाडौंको प्रज्ञाकुञ्ज स्कुलमा बालबालिकाले नाटक देखाउन सुरु गरेका हुन्।

बिहीबार कक्षा ५ का विद्यार्थीले तयार गरेको नाटक 'पहेँलो बस' मञ्चन गरिएको थियो। नाटकमा पढ्न चाहने बालिकाको मनोदशालाई चित्रण गरिएको थियो। शुक्रबार भने गौतम बुद्धको जीवनीमा आधारित 'उज्यालोतिर' नाटक कक्षा चारका विद्यार्थीले प्रस्तुत गरे। जसमा सिद्धार्थ गौतमले ज्ञान आर्जन गर्दाका विविध संघर्ष उतारिएको थियो।

साना बालबालिकामा अभिनय मनोविज्ञान तिखार्न यसरी नाटकमा अभिनय गराइएको स्कुलकी प्राचार्य सुनिता पौडेलले बताइन्। 'हामीले पाठ्यक्रममै नाटक समावेश गरेका छौँ,' उनले भनिन्, 'अंग्रेजी/नेपाली दुवै भाषामा नाटक सिकाउँछौँ,' उनले भनिन्।  

प्रज्ञाकुञ्जले अघिल्लो साल पनि 'शिशिर वसन्त', भीमनिधि तिवारीले लेखेको 'माटोको माया' मञ्चन गरेको  थियो। यसपटक भने घुम्ती रंगमञ्च नै स्कुलमा पुर्‍याएर कलिला कलाकारलाई मञ्चमा उतारिएको निर्देशक टंक चौलागाईंले बताए।

राजकुमार पुडासैनीले वाल्मीकि क्याम्पसबाट सुरु गरेको मोबाइल थिएटर देशका अन्य क्षेत्रमा समेत पुगेको थियो। हरेक नाटकको पहिलो, दोस्रो र तेस्रो गरी दिनमा तीनपटक प्रदर्शनी गरिन्छ। जसमा पहिला दुई प्रदर्शनी विद्यार्थी र शिक्षकका लागि, अन्तिम प्रदर्शनी अभिभावका लागि गरिएको थियो।

शिक्षक र विद्यार्थीले मात्र हैन, घरका अभिभावकले पनि आफ्ना छोराछोरीका अभिनय कला प्रत्यक्ष देख्न पाउने चौलागाईंले बताए। सोमबार अन्तिम दिन 'ब्युटी इज द बिस्ट' शीर्षकको नाटक मञ्चन भएसँगै मोबाइल थिएटरको समापन भएको छ।  

प्रकाशित: २५ माघ २०७३ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App