१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इन्जिनियरलाई खै अवसर

काठमाडौं- ललितपुरको नेसनल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रोनिक्स विषयमा इन्जिनियरिङ गरेका नुवाकोटका सीताराम बोहरा, पूरक ढकाल, अनिश बस्नेतलगायतको समूह मिलेर कलेज प्रोजेक्टअन्तर्गत जिएसएममा आधारित एलपी ग्यास मोनिटरिङ प्रणाली विकास गरे।

ग्यास चुहावटका कारणबाट हुने दुर्घटनाबाट बच्न बनाइएको उक्त प्रोजेक्ट एनडिएस सेन्सर प्रयोग गरी बनाइएको छ। प्रोपेन र ब्युटेन ग्यास लिक हुँदा 'एक्टिभ' हुने उक्त प्रविधिले ग्यास चुहिन थालेपछि घरको मुख्य पावर सप्लाई आफैं बन्द गरिदिन्छ। साथै चुहेको ग्यास उक्त प्रणालीमा जडान भएको पंखाले बाहिर निकाल्छ भने ग्यास रेगुलेटरमा लगाइएको स्टेपर मोटरले रेगुलेटर अफ गर्छ। यति मात्र होइन त्यहाँको स्थितिबारे घरधनीलाई सन्देश पठाउनेदेखि आगलागीको अवस्थामा नजिकैको दमकललाई खबर गरिदिन्छ।

चार जनाको समूह मिलेर बनाएको उक्त प्रोजेक्टलाई कलेजले स्वीकृत गर्‍यो। तर कलेजले त्यसलाई नियमित प्रोजेक्टका रूपमा मात्र लिएर फाइलमा राख्यो। आफ्नो प्रोजेक्टलाई व्यावहारमा प्रयोग गर्नसके ग्यासका कारण हुने ठूला दुर्घटना रोक्न सकिने अपेक्षा उनीहरूको छ।

उनीहरू व्यक्तिगत खर्चमा प्रोजेक्ट अगाडि बढाउन सक्ने अवस्थामा थिएनन्। कलेजले पनि आर्थिक सहयोग गरेन। निकै मेहनत गरेर तयार पारेको ग्यास मनिटरिङ सिस्टम कलेजको प्रोजेक्ट फाइलमै सीमित भएपछि उनीहरू निराश बने।

सोही कलेजमा अध्ययन पूरा गरेका पिटर कुमाल तथा मदन गिरीको समूहले पनि कलेज प्रोजेक्टअन्तर्गत होम अटोमेसन तथा सुरक्षासम्बन्धी प्रविधिको विकास गरे। उक्त प्रविधिको सहयोगले घरधनी बाहिर भएका बेला पनि मोबाइलबाटै घरको अवस्था जानकारी पाउन सकिन्छ। सेन्सर जडित उपकरणको सहयोगले घरमा जडान गरिएको विद्युतीय सामग्रीको अवस्थादेखि घर कोही प्रवेश गरेको सूचनासमेत मोबाइलमार्फत जानकारी प्राप्त गर्न सकिने कुमालको दाबी छ।  उक्त प्रविधिमा डोर लकलगायतका कयांै सुविधा स्वचालित रूपमा सञ्चालन हुने उनको भनाइ छ। उनीहरूले तयार पारेको उक्त प्रविधिलाई कलेजले स्वीकृत पनि गर्‍यो। त्यो पनि प्रोजेक्ट वर्कका रूपमा मात्र सीमित भयो। उक्त प्रोजेक्ट प्रयोगमा ल्याउन लाग्ने लागत र बजारीकरण गर्ने स्रोत नभेटेपछि त्यत्तिकै थन्कियो।

दुवै प्रविधिको विकास गरेका युवा इन्जिनियरहरू आफूले विकास गरेको प्रविधि अघि बढाउन सक्ने सम्भावना हुँदाहुँदै पनि कतैबाट सहयोग नपाएपछि उनीहरू निराश बनेका छन् । आफूहरूले विकास गरेको प्रविधिको महŒव कसैले नबुझेकोमा उनीहरू चिन्तित पनि छन्। युवाले नयाँनयाँ प्रविधिको विकास गरे पनि सम्बन्धित शैक्षिक संस्था तथा सरकारी निकायले महŒव नबुझेको भन्दै इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी बोहराले असन्तुष्टि व्यक्त गरे।

उनी भन्छन्, 'प्रत्येक वर्ष हामीजस्ता हजारौं विद्यार्थीले ठूलो लगानी तथा मेहनत लगाएर प्राविधिक शिक्षा अध्ययन गर्छौं। अध्ययन गरेको विषयमा केही नयाँ गर्ने कोसिस पनि गर्छौं तर कतैबाट सहयोग मिल्दैन।' बोहराले इन्जिनियरिङ अध्ययन गरेका अधिकांश विद्यार्थी अवसरका खोजीमा विदेश पलायन भइरहेको बताए।

होम अटोमेसनसम्बन्धी प्रविधिको विकास गरेका पिटर र मदनको पनि बोहराको जस्तै गुनासो छ। उनीहरू भन्छन्, 'नेपालमा अवसर नै छैन कसरी टिक्ने?' सरकारले वार्षिक हजारौं इन्जिनियर उत्पादन गरे पनि उनीहरूको भविष्यका बारेमा भने चिन्ता नलिएको उनीहरूको आरोप छ।

नेसनल कलेज अफ इन्जिनियरिङ ललितपुरका प्रोजेक्ट कोअर्डिनेटर मोहन महर्जन सरकारले इन्जिनियर खपतको माध्यम  नखोजी उत्पादनमात्र गरेकाले समस्या उत्पन्न भएको दाबी गर्छन्। विद्यार्थीले तयार पार्ने प्रोजेक्ट वर्क निकै उपयोगी भए पनि कतैबाट सहयोग नमल्दिा फाइलमै सीमित भइरहेको उनले बताए। उनले भने, 'विद्यार्थीले आफूले गरेको काम कलेजमा ल्याएर बुझाउँछन्, कलेजले त्यसलाई फाइल गरेर लाइबे्ररीमा राख्छ।' राष्ट्रिय स्तरबाट सहयोग नहुने भएकाले यस्ता प्रोजेक्ट अघि बढ्न नसकेको उनको भनाइ छ। उले भने, 'पाठ्यक्रम समयसापेक्ष परिमार्जन हुँदैन, अर्काेतर्फ विद्यार्थीलाई सहयोग गर्नुपर्ने बाध्यता कलेजको हुँदैन। सरकारी निकायले सहयोग गर्दैन।'

हाल कलेजको भूमिका इन्स्टिच्युटको जस्तै रहेकाले विद्यार्थीलाई सम्बन्धित विषयका बारेमा अनुभव प्राप्त गर्न पनि कठिन रहेको महर्जनको तर्क छ। उनका अनुसार सरकारले नीतिगत रूपमै सम्बोधन नगरेसम्म समस्या यथावत् रहिरहनेछ।

नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठ सरकारले इन्जिनियर उत्पादनका लागि कलेजलाई मान्यता दिइरहे पनि उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा गम्भीर नभएको जनाए।  हाल मुलुकका ४८ वटा क्याम्पसमा इन्जिनियरिङ विषय अध्ययन भइरहेको छ। इन्जिनियर खपतका लागि विकास निर्माणको काम द्रुत गतिमा हुनुपर्छ। राजनीतिक खिचातानीका कारण विकासका काम हुन नसकेको र यसको असर इन्जिनियरमा परेको श्रेष्ठको तर्क छ।

एसोसिएसनका अनुसार १३ देखि १४ हजार नेपाली इन्जिनियर विदेश पलायन भएको तथ्यांक छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. त्रिरत्न बज्राचार्य भने नेपालले ग्लोबल मार्केट हेरेर इन्जिनियर उत्पादन गर्ने गरेको दाबी गर्छन्। उनका अनुसार नेपालमा उत्पादन भएका इन्जिनियर स्तरीय भएकाले विश्वबजारमा उनीहरूको माग हुने गरेको छ।

नेपाल आफैंले किन इन्जिनियर खपत गर्न नसकेको भन्ने प्रश्नमा डा. बज्राचार्यले भने, 'नेपाल उदारवादमा प्रवेश गर्नुअघि राष्ट्रिय योजना आयोगको डकुमेन्टमै आवश्यक इन्जिनियरको माग हुने गर्थ्याे। बहुविश्वविद्यालयको अवधारणा आएपछि ग्लोबल मार्केट हेरेर दायरा बढेको हो।' बज्राचार्यले समयानुकूल पाठ्यक्रम परिमार्जन भइरहेको दाबी गरे।  कम्प्युटर, इलेक्ट्रोनिक्टलगायतका इन्जिनियरको माग उद्योग क्षेत्रमा बढी हुन्छ तर नेपालमा पर्याप्त उद्योग छैन। उनले संस्थानले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न इन्नोभेसन सेन्टरमार्फत अवसर प्रदान गरिरहेको जानकारी दिए।

त्रिविअन्तर्गतका १४ वटा क्याम्पसमा १० विषयमा इन्जिनियरिङको स्नातक तह अध्ययन हुन्छ। ती विषयमा वार्षिक तीन हजार पाँच सय विद्यार्थी उत्पादन हुन्छन्। यस्तै इन्जिनियरिङको स्नातकोत्तर तहमा वार्षिक चार सय ४० विद्यार्थी उत्तीर्ण हुने गरेका छन्।

प्रकाशित: २५ माघ २०७३ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App