१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्यास उद्योग ‘अटोमेसन’मा जाने

काठमाडौं-परम्परागत रुपमा ग्यास सिलिन्डर ‘रिफिलिङ’ गर्दै आएका ग्यास उद्योगहरु अटामेसन पद्धतिमा जाने भएका छन् । नयाँ प्रविधि प्रयोगमा गर्दै समयसापेक्ष रुपमा एलपी ग्यास उद्योगहरुलाई ‘फुल अटोमेसन’(पूर्ण स्वचालित प्रणाली) मा जाने निर्णय गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। ‘केही उद्योग अटोमेसनमा गइसकेका छन्,’ संघका अध्यक्ष शिव घिमिरेले भने, ‘अब सबै उद्योगलाई म्यानुअलबाट अटोमेसनमा लैजाने निर्णयमा पुगेका छौं ।’
नेपाल, कोसी, नारायणी, श्रीराम, जानकी, गृहलक्ष्मी, एभरेस्ट लगायत करिब एक दर्जन उद्योगहरु यसअघिनै अटोमेसनमा गएको संघले जनाएको छ । पूरै अटोमेटिकमा गएपछि सुरक्षाको लागि राम्रो हुने नेपाल ग्यासका प्रबन्धक राजेन्द्र दंगालले बताए । ‘सिलिन्डरमा सेफ्टी क्याप लगाइन्छ,’ खनालले भने, ‘यो प्रविधिमा कम तौल हुने, ग्यास लिकेज हुने सम्भावना हुँदैन ।’
अहिले नेपालमा ५३ ग्यास उद्योग छन् । अटोमेसनसहित उद्योगले भण्डारण क्षमतासमेत बढाउने भएका छन् । पाँच सय मेट्रिक टनभन्दा कम कोटा भएका उद्योगले न्यूनतम तीन सय मेट्रिक टन स्टोरेज (भण्डारण) क्षमता पु¥याउने, पाँच सयदेखि हजार मेट्रिक टन कोटा भएकाले पाँच सय मेट्रिक टन र हजारमाथि कोटा पाएका उद्योगले हजार टन अतिरिक्त भण्डारण गर्नुपर्ने निर्णय गरेको संघले जनाएको छ । ‘सिलिन्डर, उद्योगमा भएका प्लान्टका अतिरिक्त भण्डारण क्षमता बढाउन लागेका हौं,’ घिमिरेले भने ।
ग्यास उद्योगीले भण्डारण क्षमतासँगै उत्पादन क्षमता पनि बढाएका छन् । नेपाल ग्यासले करिब ५० करोड रुपैयाँको लगानीमा हजार टन पु¥याउन लागेको छ । अहिले दैनिक पाँच हजार सिलिन्डर भर्दै आएकोमा ६ गुणा बढाएर करिब ३५ हजार सिलिन्डर भर्न सक्ने बनाउन लागेको हो ।  स्वचालित फिलिङ प्रविधि ल्याएपछि अब एकै दिनमा ३६ हजार ग्यास सिलिन्डर भर्न सक्ने दंगालले बताए ।
ग्यास उद्योगले करिब चार हजार मेट्रिक टन क्षमता बढाउँदै छन् । करिब ६ हजार मेट्रिक टनबाट बढाएर १० हजार पाँच सय मेट्रिक टन पु¥याउन लागेको संघका घिमिरेले बताए । ‘ग्यास उद्योगले फिलिङ र भण्डारण क्षमता बढाइसकेका छन्,’ घिमिरेले भने, ‘उद्योगले धमाधम पूर्वाधारसहित भण्डारण वृद्धिको काम गरिरहेका छन् ।’
ग्यास उदोगमा करिब साढे ६ हजार भण्डारण क्षमता रहेको नेपाल आयल निगमले जनाएको छ । जाडो सिजनमा करिब २७ देखि ३० हजार मेट्रिक टनसम्म टन ग्यास खपत हुने गरेको छ । यता ग्यास बिक्रेताले भने ग्यास उद्योगीले सेफ्टी क्याप, सिलिन्डरको भल्व मर्मत लगायतमा ध्यान नदिएको बताएका छन् । ‘ग्यास सिलिन्डरमा सेफ्टी नहुँदा दुर्घटनाको जोखिम छ,’ ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने, ‘अधिकांश उद्योगहरु सुरक्षा मापदण्ड अपनाएका छैनन् ।’
इन्धन खपत तीन गुणा पुग्ने
नेपाल आयल निगमले आउने १० वर्षमा पेट्रोलियम इन्धनको खपत हालको तुलनामा तीन गुणा हुने प्रक्षेपण गरेको छ । जनसंख्या वृद्धिसहित सवारी साधनको बढ्दो प्रयोगले इन्धन खपत बढाउने उसको निष्कर्ष छ । अहिले पेट्रोल खपत वार्षिक १२ प्रतिशत र डिजेलको नौ प्रतिशतले बढिरहेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।
पेट्रोलियम पदार्थ खपत वृद्धिले वायु प्रदूषण र व्यापार घाटा बढाउन योगदान गर्छ । आर्थिक वर्ष ०७२÷७३ मा वार्षिक तीन लाख २४ हजार आठ किलोलिटर डिजेल खपत भएकोमा अबको १० वर्षपछि आर्थिक वर्ष ०८२÷८३ मा १० लाख आठ हजार सात सय ६९ किलोलिटर पुग्ने निगमले जनाएको छ । गत आर्थिक वर्षमा दुई लाख ९३ हजार आठ सय मेट्रिक टन ग्यास खपत भएकोमा १० वर्षपछि नौ लाख ९७ हजार तीन सय २४ टन पुग्ने प्रक्षेपण गरेको छ ।
त्यसैगरी गत वर्ष १० लाख दुई हजार आठ सय किलोलिटर रहेको पेट्रोल खपत एक दशकपछि  २३ लाख ७३ हजार नौ सय ९२ किलोलिटर पुग्ने, हवाई इन्धन एक लाख ५६ हजार पाँच सय १० किलोलिटरबाट चार लाख ४४ हजार तीन सय ९८ किलोलिटर पुग्ने निगमले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ ।  
मट्टीतेल खपत भने एक दशकको अवधिमा करिब १२ गुणाले घटेको छ । आर्थिक वर्ष ०६३÷६४ मा एक लाख ९२ हजार पाँच सय ७६ किलोलिटर खपत भएकोमा आर्थिक वर्ष ०७२÷७३ मा १४ हजार दुई सय ६ किलोलिटर बिक्री भएको निगमको वितरण विभाग प्रमुख सीताराम पोख्रेलले बताए । ‘मट्टीतेल बाहेकका सबै पेट्रोलियम पदार्थको माग बढ्दै गएको छ,’ उनले भने, ‘सवारी साधनको वृद्धि र विकास निर्माणको कामले माग बढेको हो ।’

 

प्रकाशित: २४ माघ २०७३ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App