राजुबाबु श्रेष्ठ
नांगाहरूको जुलुस
यसपालि
मेरो देशमा
नांगाहरूको जुलुस देखेँ मैले
नांगाहरूको जुलुसमा
लाज हराएका मान्छेहरू
गर्वका साथ नांगिरहेका छन्
सबै नांगाको कुरा एउटै छ
सबै नांगाको नारा एउटै छ
हाम्रो प्रजातन्त्रमा
हामीले नांगिन पाउनुपर्छ
नांगिएपछि त सबै उस्तै देखिँदा रहेछन्।
नांगाहरूको जुलुसमा
किसिम किसिमले नांगिरहेका छन् मान्छेहरू
सर्ट फालेर नांगिने पनि छन्
पाइन्ट खोलेर नांगिने पनि छन्
धोती कुर्ता च्यातेर नांगिनेहरू पनि छन्
साडी फुकाएर नांगिनेहरू पनि छन्
सबै नांगो भएपछि
लुगा नहुनुको कुनै अर्थ हुदोरहेनछ।
नांगाहरूको जुलुसमा
नांगाहरू लुगा लगाउनेहरूलाई खिसी गर्दै छन्
नांगाहरू लुगा लगाउनेलाई ढुंगा हान्दै छन्
कोही अरुलाई समातेर नंग्याउँदै छन्
कोही निर्लज्ज आफैँ नांगिदै छन्
सबै नांगिएपछि लाज आफैँ हराउँदो रहेछ।
यसपालि
मेरो देशमा
नांगाहरूको जुलुस देखेँ मैले
नांगाहरूको जुलुसमा
नांगाहरू देखेर
आँखा छोप्दै छन् लुगा लगाउनेहरू
नांगाहरूको डरले
भाग्दै छन् लुगा लगाउनेहरू
सबै नांगाहरू मिलेर
मेरो देशलाई नंग्याउन खोज्दै छन्
मेरो सहरलाई नंग्याउन खोज्दै छन्
तर जति गर्दा पनि
मेरो देश
पटक्कै नांगो देखिएको छैन
मेरो सहर
पटक्कै नांगो देखिएको छैन।
म भने नांगाहरूको बीचमा बसेर
नांगाहरूको लाज छोप्न
एक धर्को लुगा खोजिरहेको छु।
जंगेपिलर र मेरो गाउँ
सरकार!
म रामभरोस चमार
वर्ष ६५
वंशजले नेपाली
तर अझैसम्म छैन मसँग
मेरो देशको नागरिकता।
जंगेपिलरसँगै छ मेरो घर
बच्चैदेखि जंगेपिलरसँग खेल्दै
हुर्किएको हुँ म
जंगेपिलर जोगाउन
बाबुको दुईपटक खुट्टा भाँचियो
बाबुसँगै मैले पनि
धेरै युद्ध लडे सिमानामा
जंगेपिलर बचाउन
मेरो गाउँ जोगाउन।
सरकार!
मर्ने बेला बुवाले भन्नुहुन्थ्यो
जंगेपिलर हराए
हाम्रो गाउँ हराउँछ
हाम्रो पहिचान हराउँछ
हाम्रो देश हराउँछ।
बुबाको शेषपछि
जब गाउँमा बाढी आउँथ्यो
म बुवालाई सम्झन्थेँ
घरको टाटीको प्वालबाट
हेरिरहन्थे जंगेपिलर
सधैँ डर लागिरहन्थ्यो
कतै बाढीले
बगाउने हो कि जंगेपिलर
र हराउने हो कि मेरो सानो गाउँ
मेरो सानो झुपडी।
सरकार!
मैले सिमानामा बगाएको
रगत र पसिनाको हिसाब छ त तिमीसँग?
मैले गाउँ जोगाउन
लडेको युद्धको अभिलेख छ त तिमीसँग?
मैले बुझेदेखि
मेरो माटोका लागि
लडिरहेछु म
ज्यान हत्केलामा राखेर
मिच्न दिएको छैन सिमाना
तर पनि तिमी काठमाडौं बसेर
हेपिरहन्छौँ मलाई
कहिले मेरो छालाको कालो रंग हेरेर हेप्छौ
कहिले मेरो धोती, कुर्ता र गम्छा देखेर हेप्छौ
तर खोई कहिले देख्यौ त
मेरो भाँचिएको खुट्टा
मेरो दुखेको मन।
सरकार!
मसँग सिमानामा लड्नेहरू नै
मेरो सामुन्ने आएर
मेरो देशको
नागरिकता देखाउँछन् मलाई
तर मसँग उसलाई देखाउने
कुनै प्रमाण छैन
मैले हेर्दाहेर्दै
धेरै गैरनागरिक नागरिक भए
म अझै अनागरिक छु
कहिले दिन्छौ त मलाई
यो देशको नागरिक हो भन्ने
प्रमाणपत्र?
के मैले पनि मेरो बाबुले जस्तै
अनागरिक मर्नुपर्ने हो?
सरकार!
मन दुख्छ साह्रै दुख्छ
आफ्नै दैलो अगाडि
ती नागरिकता बोकेका गैरनागरिकले
नेपाली हुँ भन्दै
मेरै छोरी चेली जिस्क्याएपछि
मेरै खेत खलियान कब्जा गरेपछि
तैपनि तिमी मौन छौ
तर म चुप रहन सक्दिनँ
मेरा पुर्खाको
रगत र पसिनाले भिजेको माटोमा
भतुवाको राज सहन सक्दिनँ
तिमीले नागरिकता
दिए पनि नदिए पनि
तिमीले नेपाली भने पनि
नभने पनि
दुई थोपा रगत छउन्जेल
म मेरो माटोका लागि लडिरहनेछु
जंगेपिलरको सुरक्षा गरिरहनेछु।
सरकार!
तिमीलाई थाहा छ/छैन
म त वंशजले नेपाली हुँ
म त रगतले नेपाली हुँ
तिमीलाई भन्दा बढी
सिमानाको चिन्ता छ मलाई
तिमीलाई भन्दा बढी
यो देशको माया छ मलाई
त्यसैले मेरो छोराछोरीलाई
बाचुन्जेल सुनाइरहने छु म
जंगेपिलरको कथा
जंगेपिलर हरायो भने
हाम्रो गाउँ हराउँछ
हाम्रो पहिचान हराउँछ
हाम्रो देश हराउँछ।
देउतासँग
म मन्दिरको ढोकामा उभिएको छु
मन्दिरबाहिर लामबद्ध छन् भक्तहरू
मन्दिरभित्र पस्ने आतुरता छ सबैको आँखामा
देउता भेट्ने लालसा छ सबैको मनमा।
धर्मको नाममा
कोही फूल चढाइरहेछन् देउतालाई
कोही बली चढाइरहेछन् देउतालाई
मलाई थाहा छैन
फूल चढाउनेले धर्म कमाए कि
वली चढाउनेले।
म मन्दिरको ढोकामा उभिएर हेरिरहेको छु
बोका डोर्याएर बसेका भक्तहरू
पूजाको थाली बोकेर उभिएका भक्तहरू
बोका देखेर प्रफुल्लित पुजारीका आँखाहरू।
मन्दिरको प्रांगणमा रगतको आहाल बनेको छ
रगतमा डुबेका छन् फूलहरू
रगतमा मुछिएका छन् अक्षता
मलाई रगतमा फूल लतपतिएको
पटक्कै मन परेको छैन
मलाई रगतमा अक्षता मुछिएको
पटक्कै मन परेको छैन।
धर्मको नाममा
यी सब हेर्न विवश छु म
पुण्यको आशमा
यी सब सहन बाध्य छु म।
मलाई थाहा छैन
मन्दिरभित्र
देउता भेटे कि भेटेनन् भक्तहरूले
मलाई थाहा छैन
मन्दिरभित्र
देउता देखे कि देखेनन् भक्तहरूले
तर मैले आजसम्म
देउता देखेको छैन
देउता भेटेको छैन
यदि भेटे भने
म अवश्य सोध्नेछु
भगवान!
तिमीलाई फूलको सुवास मन पर्यो कि
रगतको गन्ध?
प्रकाशित: २२ माघ २०७३ ०५:२३ शनिबार