१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अमेरिकाद्वारा नेपाललसहितका अल्पविकसित मुलुकका लागि जीएसपी सुविधा थप

वाशिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत वार्षिक उत्पादन समीक्षा (एनुअल प्रोडक्ट रिभ्यु) घोषणा गरेको छ। यसअन्तर्गत नेपाललगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेटजस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछूट सुविधा थपिएको छ।

नयाँ नियम अनुसार असार १७ गते (जुलाई १) देखि सुरु हुने गरी यी नयाँ उत्पादनहरू भन्सार छूट सुविधाका लागि योग्य बनेका छन्। सन् २०१५ मा अमेरिकाले करिब १० अर्ब डलर बराबरका यात्रा तथा लगेज सामग्रीहरू आयात गरेको थियो।

“नेपाली व्यापार व्यवसायहरूका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउनलाई यो ठूलो अवसर हो,” अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनिन्। “खुला बजार नीतिप्रति बलियो प्रतिबद्धता, सम्पत्तिसम्बन्धी अधिकारलाई सुरक्षित गर्ने स्थायी र पारदर्शी कानुनी वातावरण, गतिशील उद्यमशील क्रियाकलापलाई प्रोत्साहन गर्ने नीति र रणनीतिक पूर्वाधार लगानी भएमा नेपाललाई यस अवसरको भरपूर सदुपयोग गर्न मद्दत मिल्नेछ।”  

सन् २०१५ मा कम्बोडियापछि अमेरिकामा लगेज सामग्री निर्यात गर्ने अल्पविकसित मुलुकहरूमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो। सन् २०१४ यता नेपालका यस्ता उत्पादनहरूको निर्यातमा सात प्रतिशतले वृद्धि भई सन् २०१५ मा कुल १८ लाख अमेरिकी डलर पुगेको थियो। अमेरिकी ट्रेड प्रेफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रमहरूले विश्‍वका थुप्रै विपन्न मुलुकहरूलाई व्यापारको प्रयोगबाट आफ्नो अर्थतन्त्रलाई वृद्धि गर्दै गरिबीबाट मुक्त हुने अवसर प्रदान गर्दछन्। ४० वर्षको उक्त जीएसपी कार्यक्रम सबैभन्दा ठूलो र पुरानो अमेरिकी व्यापार ग्राह्यता कार्यक्रम हो।

जीएसपी कार्यक्रमअन्तर्गत अमेरिकाले लाभग्राही विकासोन्मुख मुलुकहरूबाट आयात गर्दा अनेक सामग्रीहरूलाई भन्सारछुट सुविधा उपलब्ध गराउँछ र अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूलाई थप सामग्री निर्यात गर्ने सुविधा दिन्छ।

जीएसपी कार्यक्रमअन्तर्गत ४३ अल्पविकसित मुलुक लगायत १२२ लाभग्राही विकासोन्मुख मुलुकमा उत्पादन हुने झन्डै ५ हजार सामग्रीहरू अमेरिकामा निर्यात हुँदा भन्सार छूट सुविधाका लागि योग्य भएका छन्। यीमध्ये झन्डै १ हजार ५०० सामग्रीहरूलाई अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकलाई मात्र प्रदान गरिने भन्सार छूट सुविधाका लागि छुट्याइएको जनाइएकाे छ।

प्रकाशित: २२ असार २०७३ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App