१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाँकेमा ब्युँझियो वाइसिएल

कार्ययोजना सार्वजनिक गर्दै वाइसिएल बाँकेका पदाधिकारी । तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्ज–‘अर्धशैन्य गतिविधी’ सञ्चालन गरेको आरोपमा चौतर्फी दवाव बढेपछि अस्तित्वमा नरहेको माओवादी निकट योङ कम्यूनिष्ट लिग (वाइसिएल) ले झण्डै एक दशकपछि बाँकेमा आफ्नो सक्रियता पुनः बढाएको छ ।

शान्ति प्रक्रियापछि २०६४ सालतिर वाइसिएलले विभिन्न ठाउँमा क्याम्प खडा गर्दै अर्धशैन्य गतिविधी सुरु गरेको थियो । शान्ति प्रक्रियापछि पनि युवा दस्तामार्फत अर्धशैन्य गतिविधी बढाएको चर्को दवाव खेपेको माओवादीले वाइसिएललाई विघटन गरी ‘जन स्वयं सेवक’ नाम दिदै आएको थियो ।

सत्तारुढ माओवादी केन्द्रले अहिले पुनः बाँकेमा वाइसिएललाई सक्रिय पारेको हो । माओवादीले सुरज गाहाको अध्यक्षतमा वाइसिएल बाँके पुर्नगठन गरेको छ । नेपालगन्जमा हालै चौथो जिल्ला सम्मेलन गरी वाइसिएललाई सक्रिय पारिएको हो । सम्मेलन उद्घाटनका साथै वाइसिएल कार्यकर्तालाई माओवादी केन्द्रका प्रभावशाली नेता एवम् प्रदेश नम्बर ५ का ईन्चार्ज वर्षमान पुनले गोप्य प्रशिक्षण दिएका थिए ।

वाइसिएल बाँकेले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै समाजमा मौलाउँदै गएको भ्रष्टाचार, तस्करी, कालोबजारी, विकृती विसंगति, गुण्डागर्दी विरुद्ध व्यापक युवा परिचालन गर्ने जनाएको छ । आसन्न तीन तहको निर्वाचनलाई वाइसिएलले आफ्नो पहिलो एजेण्डा बनाएको छ ।

नेपालगन्जमा बुधबार पत्रकार सम्मेल गर्दै वाइसिएलका केन्द्रिय सदस्य रतन शाहीले आसन्न चुनावलाई लक्षित गरी आफ्नो पार्टीले वाइसिएलको आवश्यकतालाई महसुस गरी सक्रिय बनाएको प्रष्ट्याए । ‘पहिलेको भन्दा अहिले वाइसिएल धेरै परिस्कृत भएर आएको छ,’ उनले भने ‘संविधानलाई कार्यान्वयन हुन नदिने तत्वलाई खबरदारी गर्ने र सामाजिक काममा लाग्ने हाम्रो उद्देश्य छ ।’

वाइसिएलले राज्यको कानुन हातमा नलिने जिकिर गर्दै भने, ‘सामाजमा भएका गलत क्रियाकलापविरुद्ध हामी राज्य संयन्त्रको सहयोगी बन्ने हो, संगठनको विधान विपरित कसैले गलत क्रियाकलाप गरेको पाइएमा कारबाही गर्नेछौं ।’ वाइसिएलका जिल्ला अध्यक्ष जागाले वाइसिएल सामाजिक काममा केन्द्रित हुने जिकिर गरे । विकास निर्माणमा युवाको निगरानी र सहभागितालाई व्यापक बनाउने बताए ।

प्रकाशित: १२ माघ २०७३ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App