१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'नेपाली फिल्म हेर्न आतुर छ संसार'

दुईदिने फिल्म कार्यशालाका लागि नेपाल आएका फिल्म गुरु डभ सिमन्सले विश्वका दर्शक नेपाली फिल्म हेर्न उत्सुक रहेको बताएका छन्। आइतबार र सोमबार गरी दुई दिनसम्म फिल्म निर्माण र वितरणबारे कक्षा लिएका सिमन्सले नेपालको भूगोल अझै पनि पश्चिमाबीच कुतूहलको विषय रहेकाले नेपालबाट निर्माण हुने फिल्मबारे पनि उताका दर्शकको चासो रहने बताए।

सोमबार करिब डेढ सय विद्यार्थीबीच आफ्नै अनुभव सुनाउँदै उनले भने, 'मेरा साथीहरु जहिले पनि मलाई देखेपछि अब कुन देश जाँदैछस् भनेर सोध्छन्। यता आउनुअघि भेट भएको एउटा साथीले पनि सोही प्रश्न दोहोर्‍यायो। मैले नेपाल जाँदै छु भनेर जवाफ दिएँ। उसले नपत्याएर पाँचचोटि भन्दा बढी साँच्ची जान लागेको भनेर सोध्यो। अमेरिकन मात्र होइन, विश्वका धेरै देश नेपाल जान्न इच्छुक छन्। फिल्म सबैभन्दा उपयुक्त माध्यम हो।'

सिमन्सले आफूले नेपाली फिल्म नहेरेको भए पनि पाँचदिने नेपाल बसाइका क्रममा केही व्यक्तिसँगको अन्तर्क्रियामा नेपालसँग उत्कृष्ट कथाहरु रहेको तर कथालाई निर्देशकले राम्ररी पस्कन नसकेको अनभूत गरेको बताए।

'नेपालमा साँच्चिकै राम्रा फिल्म बन्ने कथा छन्। तर, यहाँका निर्माता निर्देशकले कथालाई चाख लाग्दो तरिकाले भन्न सकिरहेका छैनन्,' सिमन्सले भने।

काठमाडौं स्कुल अफ ल र अमेरिकन एम्बेसीको निमन्त्रणमा दुईदिने कक्षा सञ्चालन गर्न आएका सिमन्सले दुवै दिन कम बजेटमा कसरी फिल्म निर्माण गर्न सकिन्छ भनेर सिकाए। उनको कुरा सुन्न डकुमेन्ट्री निर्माता केसाङ छेतेन, नेपाली फिल्म निर्देशकहरु यादव भट्टराई, प्रचण्डमान श्रेष्ठ, निगम श्रेष्ठ, देवकुमार श्रेष्ठ, रक्षासिंह राणा, सिमोश सुनुवार, निलु डोल्मा शेर्पा आदि उपस्थित थिए। अभिनेत्रीहरु निशा अधिकारी, सृष्टि श्रेष्ठ, सुरभी जैनले पनि दुवै दिन सिमन्सको कक्षामा उपस्थिति जनाए।

ध्यानपूर्वक सिमन्सका कुरा सुनेकी सृष्टि श्रेष्ठले कार्यशालाले निर्देशक बन्न प्रेरित गरेको बताइन्। 'मैले कार्यशाला निर्देशनका लागि प्रेरित गर्ने खालको पाएँ। कार्यशालाको अर्को राम्रो पक्ष पटकथामा मेहनत गर्नुपर्छ भन्ने सन्देश हो। कलाकारको रुपमा धेरै कुरा जान्न पाएँ भन्ने महसुस भएको छ,' सृष्टिले भनिन्।

निर्देशक यादव भट्टराईले पनि सिमन्सको कार्यशाला र नेपाली फिल्मले हिँड्नुपर्ने बाटोबीच समानता भेटिएको बताए। 'हामीले ठूलो बजेटमा ग्ल्यामराइज फिल्म बनाउनेभन्दा पनि सानो बजेटमा रोचक कथा भन्ने प्रयास गर्नुपर्ने हो। झोलापछि म यही बाटोमा हिँड्नुपर्छ भन्ने लागेर हिँडिरहेको थिएँ। यो कार्यशालापछि मेरो इरादा झन् मजबुत भएको छ,' भट्टराईले भने।

बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर प्रवचन दिएका सिमन्सले आइतबार निर्देशन, पटकथा, सम्पादन र छायांकनका आधारभूत कुरा सिकाएका थिए भने दोस्रो दिन सोमबार नेपाली फिल्म कसरी अन्तर्राष्ट्रिय बजारमा जान सक्छ भनेर देखाएका थिए। उनले फिल्म फेस्टिभलमा छनोट हुँदैमा फिल्मले पैसा नकमाउने स्पष्ट पारे। 'धेरैलाई लाग्न सक्छ, विदेशी फिल्म फेस्टिभलमा छनोट हुनेबित्तिकै फिल्मले पैसा कमाउँछ,' उनले भने, '९५ प्रतिशतले कमाउँदैनन्। मुख्य फेस्टिभलमा छनोट भयो र कुनै एजेन्टले किन्यो भने मात्र फिल्मले पैसा कमाउने हो। नत्र धेरै फेस्टिभलमा जान निर्माता निर्देशक आफैँले टिकट काट्नुपर्छ।'

सिमन्सले फिल्म फेस्टिभल र फिल्म बजार फरक–फरक रहेको बताउँदै कुनै पनि फिल्म बजारले किन्यो भने मात्र पैसा उठ्ने सम्भावना रहेको बताए।

'विश्वमा कान्स, बर्लिन, टोरन्टो, सनडान्स, टेलुराइड फिल्म फेस्टिभलमा छनोट हुने फिल्मले क्रेता पाउने सम्भावना सबैभन्दा बढी रहन्छ। बाँकी फेस्टिभलमा सहभागी फिल्मले पाउन पनि सक्छन् नपाउन पनि। त्यसैले फेस्टिभलसँगै फिल्म मार्केटमा पनि निर्माताको पहुँच जरुरी हुन्छ,' सिमन्सले भने। सिमन्सले विश्वमा जम्मा ६ वटा विश्वभरिका फिल्म किन्ने एजेन्ट रहेको बताए। उनका अनुसार 'अमेरिकन फिल्म मार्केट', 'युरोपियन फिल्म मार्केट', 'कान्स डु मार्चे', 'हङकङ फिल्म आर्ट','सन्डान्स फिल्म फेस्टिभल', र 'टोरन्टो फिल्म फेस्टिभल' शीर्षकका फिल्म बजारमा गएर आफ्नो फिल्म किन्न अनुरोध गर्न सकिन्छ।

सिमन्सले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट हुन नेपाल जस्ता देशको सम्भावना बढी रहने बताए। उनले अन्तर्राष्ट्रिय भएपछि थुप्रै देशका फिल्म छनोट गर्नुपर्ने आयोजकको बाध्यता रहने भएकाले राम्रो कथामा निर्माण भएका फिल्म सजिलै फेस्टिभलमा छनोट हुने उनको कथन थियो। उनले भने, 'अमेरिकामा हुने फेस्टिभलमा छनोट हुन त्यहीँका अमेरिकी फिल्मले थुप्र्रै फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। किनकि त्यहाँ अमेरिकी फिल्मका लागि कोटा तोकिएको हुन्छ। तर, नेपाली फिल्मले नेपालबाट प्रतिनिधित्व गरे पुग्छ। मेरो विचारमा पछिल्लो समय विदेशी फेस्टिभलमा छनोट भएका फिल्म यही मान्यताबीच छनोट भएका हुन सक्छन्।'

नेपाली फिल्मको स्तरवृद्धिका लागि विभिन्न किसिमका प्रशिक्षण सञ्चालन गर्दै आएको 'दि काठमाडौं स्कुल अफ ल'ले चाँडै नै ६ महिने 'सुट क्याम्प' प्रशिक्षण सञ्चालन गर्ने जानकारी गराएको छ। स्कुलका नरेश केसीले नेपालमा पटकथा लेखनमा मुख्य कमजोरी रहँदै आएकाले चाँडै नै सिमन्सजस्तै अन्तर्राष्ट्रिय ख्याती प्राप्त पटकथा गुरुलाई नेपाल निम्त्याउने योजना रहेको बताए।

प्रकाशित: ११ माघ २०७३ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App