१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालबाट २६ देशमा रिट्ठा निर्यात

काठमाडौं– नेपालमा प्राकृतिक स्रोतका रुपमा वन जंगलमा पाइने रिट्ठा विदेशमा अत्यधिक माग हुने वस्तुमध्येमा परेको छ । देशमै व्यावसायिक उत्पादनका सम्भावना रहेको यो बनपैदावार अमेरिका, युरोप लगायत देशमा कच्चा पदार्थको रुपमा माग हुने गरेको हो । रिट्ठा साबुन, स्याम्पू, आयुर्वेदिक औषधि, कस्मेटिक लगायत सामग्री उत्पादन गर्न प्रयोग गरिन्छ ।
सरकारी तथ्यांक अनुसार देशबाट विश्वका विभिन्न मुलुकमा रिट्ठा निर्यात भइहरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७२÷०७३ मा नेपालबाट विश्वका १४ देशमा रिट्ठा निर्यात भएको छ । उक्त वर्ष ती देशमा २ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख १५ हजार ७ सय ८० किलो रिट्ठा निर्यात भएको छ ।

‘गत आर्थिक वर्षमा नेपालबाट २ करोड ३० लाख ३४ हजार ४ सय ६३ रुपैयाँको निर्यात भएको छ,’ केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले भने, ‘यी रिट्ठा विश्वका १४ देशमा पुगेको छ ।’ गत आर्थिक वर्षमा १४ देशमा मात्र निर्यात भए पनि तीन आर्थिक वर्षको तथ्यांक हेर्दा २६ देशमा पुगेको छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट बंगलादेश, क्यानडा, चीन, चेक रिपब्लिक, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, आयरल्यान्ड, इजरायल, जापान, लात्भिया, मलेसिया, नेदरल्यान्डस् र बेलायतमा रिट्ठा निर्यात भएको छ । सबैभन्दा धेरै छिमेकी देश भारतमा निकासी भएको छ । तथ्यांक अनुसार गत आर्थिक वर्षमा भारतमा १ करोड ५१ लाख ६१ हजार रुपैयाँको रिट्ठा निर्यात भएको छ ।
भारत बाहेक नेदरल्यान्डस्मा १८ लाख ८१ हजार, बेलायतमा १६ लाख ६४ हजार, फ्रान्समा १३ लाख ४४ हजार, हंगेरीमा ८ लाख, चेक रिपब्लिकमा ३ लाख, चीनमा २ लाखभन्दा धेरैका रिट्ठा निर्यात भएको छ ।
नेपालबाट अझ धेरै रिट्ठा निर्यात गर्ने सम्भावना रहेको बजगाईं बताउँछन् । व्यवस्थित रुपमा खेती गरेर निर्यातलाई प्राथमिकतामा राख्न सके रिट्ठा व्यवसायबाट स्थानीय स्तरका घरेलु तथा साना उद्योगीलाई टेवा पुग्ने उनी बताउँछन् । उच्चस्तरको प्रशोधन केन्द्र आवश्यक रहेको व्यवसायीले पनि बताउँदै आएका छन् ।    
निर्यात व्यवसायलाई उत्साह र साना उद्योगीलाई सहयोग नहँुदा गत आर्थिक वर्षमा रिट्ठा निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा ३ करोड ८६ लाख ८९ हजार रुपैयाँ मूल्यको १० लाख २५ हजार किलो रिट्ठा निर्यात भएको हो ।
आर्थिक वर्ष २०७०÷०७१ मा ३ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबरको ९ लाख ८६ हजार ३ सय २ किलो निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ ।
रिट्ठाबाट बन्ने पाउडरको बजारमा उच्च माग छ । रिट्ठा साबुन, स्याम्पू, आयुर्वेदिक औषधि र कस्मेटिक सामग्री लगायत वस्तु उत्पादनमा प्रयोग गरिन्छ । साबुन, स्याम्पू, कस्मेटिक सामग्री तथा आयुर्वेदिक औषधिको लागि यो अन्यन्तै राम्रो कच्चा पदार्थ मानिन्छ ।
देशमा विभिन्न जिल्लामा रिट्ठा उत्पादन छ । कतिपय जिल्लामा वनजंगलमै प्रशस्त भेटिन्छ । कतिपय जिल्लामा व्यावसायिक रुपमै खेती सुरु भएको छ । नेपालको पश्चिम, सुदूरपश्चिम, पहाड र हिमाली क्षेत्रमा रिट्ठा लगायतका जडीबुटी धेरै पाइन्छ ।
पश्चिमको बैतडीमा रिट्ठा प्रशोधन उद्योग खोल्ने तयारी समेत भइरहेको छ । केही समयअघि त्यहाँ गरिएको एक अध्ययनले जिल्लामा प्रशस्त रिट्ठा उत्पादन हुने देखाएको थियो । अध्ययन अनुसार जिल्लामा वार्षिक ४ सय ४० टन रिट्ठा उत्पादन हुन्छ । देशका अन्य जिल्लामा पनि रिट्ठा फल्छ ।
रिट्ठा जस्तै नेपालबाट वार्षिक १ अर्बभन्दा धेरैको जडीबुटी निर्यात हँुदै आएको छ । गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँको जडीबुटी निर्यात भएको छ । त्यसभन्दा अघिल्लो वर्ष १ अर्ब ६२ करोडभन्दा धेरैको निर्यात भएको थियो ।
नेपालमा विभिन्न किसिमका जडीबुटी पाइने भए पनि राम्रो प्रशोधनको व्यवस्था नहँुदा त्यत्तिकै खेर जाने गरेको छ भने विदेशमा सस्तो मूल्यमा निर्यात हुने गरेको छ । व्यवसायीका अनुसार नेपालमा राम्रो प्रशोधन केन्द्र, दक्ष जनशक्ति र नयाँ प्रविधि हुने हो भने जडीबुटीबाट धेरै फाइदा लिन सकिन्छ । नयाँ स्रोत साधन र दक्ष जनशक्ति नहँुदा जडीबुटी बिनाप्रशोधन सस्तोमा विदेश निर्यात हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा जस्ता कैयौं जडीबुटी महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

आर्थिक वर्ष          रिट्ठा निर्यात मूल्य
२०७०÷०७१–         ३३४६६०५९
२०७१÷०७२–            ३८६८९६०२
२०७२÷०७३–         २३०३४४६३

प्रकाशित: ३ माघ २०७३ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App