coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौँदेखि सप्तरीसम्म पैदल हिँड्नेको लर्को

काठमाडौदेखि सप्तरीसम्मको पैदल यात्रा गर्ने लक्ष्यसहित हिडेर १ सय ६० किलोमिटर दुरी पार गरि विपी राजमार्गस्थित सिन्धुली सदरमुकाममा आइपुगेका मजदुर । तस्बिर : अनिल/नागरिक

सिन्धुली- सप्तरी जिल्लास्थित हनुमान नगरका पप्पु मण्डल विपी राजमार्गको शान्तिनगरमा हिँड्दै गरेका भेटिए। उनी चार दिनदेखि निरन्तर हिँडिरहेका थिए। काठमाडौमा मजदुरी गर्ने मण्डल चार दिन हिँडेर सिन्धुली आइपुगेका थिए।

देश लकडाउन भएसँगै यातायातसहित सबै क्षेत्र ठप्प हुँदा विपी राजमार्ग हुँदै उनी पैदलै यात्रा गरि सप्तरी पुग्ने तय गरेर काठमाडौबाट चार दिनमा सिन्धुली सरदमुकाम आएका हुन्। विल्डिङ बनाएको स्थानमा हामी लेबर काम गर्छौ, लकडाउनसँगै ठेकेदार बेपत्ता भएपछि खान नपाएर विजोग भएकाले आफ्नै ठाँउ फर्कन हिडेका हौ, उनले नागरिकसँग भने। मण्डलसँगै करिब पन्ध्र जना पैदलनै हिडेर सिन्धुली आइपुगेका थिए।

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले देश लकडाउन गरेसँगै काठमाडौमा अलपत्र परेका सिन्धुलीसहित विभिन्न जिल्लाका यात्रु पैदलनै यात्रा गरेर गन्तव्यमा पुग्न थालेका छन्। पैदल नै यात्रा गरेका महोत्तरीका रामसिंह यादव श्रमिकलाई बढी मर्का परेको बताउँछन्। कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनले आफूहरु प्रभावित भएको प्रदलयात्री मजदुरहरुले गुनासो गरे। काठमाडौमा दैनिक मजदुरी गरेर पेट पाल्दै आएका हामी लकडाउनसँगै भोकै परेपछि हिडेरै गन्तव्यसम्म जादै छौ, उनले भने। बाटोमा सवारी नपाए जति दिन लागेपनि सप्तरीसम्मै हिड्ने लक्ष्य पैदलयात्री मजदुरले राखेका हुन्छन्।

काठमाडौबाट झन्डै एक सय ६० किलोमिटरमा सिन्धुली आइपुगिन्छ। विपी राजमार्ग हुँदै हुलका हुल काठमाडौबाट हिडेरै तराईतर्फ जाने दैनिक यात्रु भेटिन्छन्। सिन्धुलीको बाटो हुँदै दैनिक पचास भन्दा बढी हिडेरै तराईका जिल्लातिर गएका देखिन्छन्, जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले भने, हाम्रो प्रहरी कार्यालय प्रमुखको अगुवाईमा दैनिक पैदल हिड्नेलाई पानी विस्कुट समेत वितरण भएको छ। उनले गाडीमा हिड्नेको मात्रै तथ्याङक आफूहरुसँग भएको र पैदल यात्रुको नराखिएको बताए।

काठमाडौबाट हिडेरै तराईका विभिन्न जिल्लामा पुग्ने लक्ष्य राखेर १ सय ६० किलोमिटर भन्दा बढी हिडेर सिन्धुली आएका कतिपय यात्रुलाई भने गाउँपालिका, प्रहरी तथा प्रशासनकै रोहबरमा गाडी खोजेर गन्तव्यसम्म पुर्‍याउने काम समेत भएको प्रहरीले जनाएको छ। 'हिजो भर्खरै पनि गाडी खोजेर सप्तरी पठाएका छौ,' डिएसपी खत्रीले भने, 'काठमाडौमा मजदुरी गर्ने मजदुरहरु हिडेरै गन्तव्यतर्फ गइरहेका छन्।' प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले दैनिकजसो काठमाडौका यात्रु सिन्धुलीको बाटो पैदल यात्रा गरेको जनाए। यति लामो बाटो आएका हुन्छन्, त्यसैले केहि यात्रुलाई गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाएका हौ, उनले भने, काभ्रेबाटै चेकजाँचमा कडाई गरिदिए हामीलाई समस्या पर्दैन थियो। उनले विपी राजमार्गको बाटो पैदल यात्रा गर्नेलाई समेत छोटो दुरीको हुने भएकाले तराईका यात्रुहरुले सिन्धुलीको बाटो प्रयोग गरेको बताए।

दैनिकजसो हुलका हुल पैदल नै आएका हुन्छन्, कतिलाई गाडीको व्यवस्था गर्ने, उनले भने, सिन्धुली बीचमा पर्ने जिल्ला भएकाले समस्या भएको छ। यहाँको सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिका प्रमुखहरुको रोहबरमा समेत गाडीको व्यवस्था गरि तराईका विभिन्न जिल्लामा यात्रु पठाउने काम भएको छ। काठमाडौबाट आएका यात्रु सुनकोसी गाउँपालिकाको नेपालथोकदेखि नै पैदल यात्रीको लर्को लागेर हिड्ने गरेका छन्। पैदलयात्रीहरु रुखको छहारी तथा सडकमै रात विताउदै उज्यालो भएसँगै पैदल यात्रा गर्दै गन्तव्यसम्म पुग्ने लक्ष्य बनाउन थालेका हुन्।
 

प्रकाशित: २३ चैत्र २०७६ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App