१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भारतबाट फर्केका आफन्तसँगको त्रास घट्दै

दिपायलस्थित सेतीसभाहलको क्वारेन्टाइनमा राखिएका भारतबाट फर्किएका नागरिकहरु । तस्बिरः अरूण/नागरिक

डोटी- जस्तै दिनहरु बित्दैछन्, त्यसैगरी बोगटान फुड्सील गाउँपालिका–७ का वुद्धीसिँह विष्टको मनको बोझ कम हुँदै गएको छ । चैतको पहिलो सातादेखि भारतमा रहेका नेपाली धमाधम गाउँ पुग्न थाले । अरुबेला यसरी भारतबाट आफन्त आउन खुसी हुने उनको मन यसपटक भने चिन्ताले भरिदै गयो ।

‘भारतका हाम्रा दाजुभाई काम गर्ने सहरमा कोरोना भएको खबर सुन्दै थियौ,’ उनले आफ्नो मनोभाव सुनाउदै भने,‘यस्तोमा उनीहरुसंगै कोरोना गाउँमा पुग्छ की ! भन्ने डर थियो ।’ अहिले यस्तो डर विस्तारै सेलाउँदै गएको उनी सुनाउछन् । ‘बढीमा १४/१५मा संक्रमण देखिईहाल्छ भन्ने सुनिन्छ । दिनहरु पनि अब करिब–करिब त्यती नै पुग्नथाले । अहिलेसम्म समस्या देखिएको छैन,’ उनले सुनाए ।

शिखर नगरपालिकाले वडा नम्बर–१० वानेडुग्रीसैनमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा भारतबाट आएका स्थानीयलाई ‘क्वारेन्टाईन’मा राख्न खोज्दा स्थानीयले सुरुमा अवरोध गरेका थिए । ‘गाउँ नजिकै रहेको विद्यालयमा भारतबाट आएकाहरुसंग कोभिड–१९ आएको हुन सक्ने र त्यसले जोखिम बढाउने भन्दै’ त्रसित स्थानीयले अवरोध गरेका थिए । यद्यपी पछि राखियो । दिनहरु वित्दै गएपछि त्यहाँका स्थानीयहरुमा उत्पन्न त्रास कम भएको छ ।

विश्वव्यापी महामारी निम्त्याईरहेको नोवेल कोरोना भाइरस(कोभिड–१९)को प्रभाव देखिनथालेसंगै भारतले चैतको पहिलोसातादेखी होटल, कलकारखाना बजार बन्द गर्न शुरुगरेको थियो । त्यसपछि त्यहाँ काम गर्ने नेपालीहरु धमाधम घर फर्कनथालेका थिए । यसरी फर्कनेहरुसंगै कोरोना आउने त्रास गाउँगाउँमा बढेको थियो÷ छ । एकै गाउँका सयौ युवा भारतमा काम गर्छन् । तीमध्ये अधिकांश अहिले गाउँ पुगेका छन् । उनीहरुको उपस्थिती जिल्लाका गाउँमा बाक्लो छ । यद्यपी करिब दुई साता बित्नैलाग्दा उनीहरुमा संक्रमणको प्रभाव देखिएको छैन । जसले जनस्तरमा भारतबाट आएका आफन्तसँगको त्रास घट्दै गएको हो ।

जनस्तरमा मात्रै होईन, दिनप्रतिदिन सरोकारवालाहरुमा भारतबाट आउने नेपालीहरुसंगको त्रास पनि घट्दै जान थालेको छ । ‘हामीलाई मुख्य चुनौती भनेकै भारतबाट आउने नेपालीहरु थिए र हुन्,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी भन्छन्,‘अगाडी आउनेहरुको करिब–करिब ‘ईक्यूवेशन पिरियड’(१४) दिन पार हुदैछ । पछि आउने चार सय जति क्वारेन्टाइनमा छन् ।’

शंकास्पद बिरामीको आउने दरपनि निकै कम छ । जिल्ला अस्पताल डोटीमा हालसम्म चार जना विरामी कोभिड–१९ को आशंकामा भर्र्ना भएका छन् । जनमध्ये तीन जनाको स्वाब परीक्षणमा ‘नेगेटिभ’ नतिजा आईसकेको छ । एकजनाको आउन बाँकी छ । उनी जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन् ।

यसबाहेक जिल्लाका अन्य क्षेत्रमा र क्वारेन्टाइनमा हालसम्म कुनैपनि आशंकाको खबर छैन । ‘गाउँबस्ती र क्वारेन्टाइनमा थप एकहप्ता  नदेखिए र थप आउनेहरुलाई निगरानीमा राख्नसके तत्काल ठूलो जोखिम उत्पन्न नहोला,’ प्रमुख मलासीले भने । निगरानीका लागि स्थानीय तह, महिला स्वास्थ्य स्वयम सेविकासम्मको स्वास्थ्य संयन्त्र सबै चनाखो भएर जुटेको उनले बताए

‘लकडाउन’का दशदिन बित्दै जाँदा समस्या नदेखिएपछि जोखिम व्यवस्थापन सहज महशुस भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ‘गाउँघरमा पनि खास्सै समस्या देखिएको छैन, क्वारेन्टाइनमा पनि हालसम्म देखिएन । यसले हामीलाई सहज महशुस गराएको छ ।’ अझै केही दिन सबैले संयमता अपनाए जोखिम नरहने उनले बताए ।

चार सय ३४ क्वारेन्टाइनमा
भारतबाट फर्किएका चार सय भन्दा बढी डोटीका बासिन्दालाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य कार्यालय डोटीका अनुसार चारसय ३४ जनालाई स्थानीय तहको व्यवस्थापनमा क्वारेन्टाइनमा राखिएको छ । नौवटा स्थानीय तहले जिल्लाका २४ स्थानमा क्वारेन्टाइन स्थापना गरेका छन् । जहाँ पाँच सय १७ शैड्ढया छन् ।

बोगटान फुड्सील गाउँपालिकामा पाँचवटा क्वारेन्टाइन एक सय ३० जना रहेका छन् । आदर्श गाउँपालिकामा ८१ जना, बडीकेदार गाउँपालिकामा ४५, जोरायल गाउँपालिकामा सात, पूर्वीचौकी गाउँपालिकामा दुर्ई, केआईसिंह गाउँपालिकामा १३, सायल गाउँपालिकामा ४६, शिखर नगरपालिकामा ७६ र दिपायल सिलगढी नगरपालिकामा ३४ जना क्वारेन्टाइनमा छन् ।

चैत ११ गतेबाट सरकारले लकडाउन गरेपछि सीमामा रोकिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । त्यसअघिका सबै घरमै बसेका छन् ।

 

 

प्रकाशित: २० चैत्र २०७६ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App