१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वदेश फर्किन चाहेनन् पर्यटक

पोखरा- हिमाली जिल्ला मुस्ताङको प्रशासनले शनिबार ५८ जना विदेशीलाई स्थलमार्गबाट काठमाडौं पठायो। मुस्ताङ प्रशासनको सम्पर्कमा आएका अरु १० जनाजति विदेशी भने स्वदेश फर्किन मानेनन्। स्वदेश फर्किन नचाहेका पर्यटक मुस्ताङकै विभिन्न होटलमा बसेका छन्। प्रशासनले सहजीकरण गर्दागर्दै पनि ती पर्यटक स्वदेश फर्किन चाहेनन्।

यस्तै पोखराका विभिन्न होटलमा पनि केही संख्यामा विदेशी पाहुना बसेका छन्। ती पाहुना पनि राजधानीसम्मको यातायातको व्यवस्था हुँदाहुँदै पनि जान चाहेनन्। शनिबार १ सय ३३ जना विदेशी पाहुना र ५१ जना नेपाली मजदुरलाई स्थलमार्ग र १३५ जना विदेशी पाहुनासहित १४१ जनालाई ३ वटा हवाई उडानमार्फत काठमाडौ पठाउँदा पनि होटलमा बसेका कतिपय पाहुना जान चाहेनन्। कारण–पोखराबाट जसोतसो राजधानी पुगेपनि स्वदेश फर्किन समस्या रहेको र यात्राको क्रममा कोरोना संक्रमण बढ्ने त्रासले ती पर्यटकले नेपालमै बस्न चाहेको बताएका छन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार पदयात्रा सकेर मुस्ताङ झरेका ती पाहुनाले स्वदेश फर्किन भन्दा नेपालमै रहँदा सुरक्षित ठानेका छन्। ‘अहिलेसम्म नेपालमा महामारीको रुप नदेखिएको भन्दै पर्यटक यतै बस्न चाहेका हुन्। उनीहरुको भिषा अवधि रहे वा सकिएपनि यो बेलाका लागि बसोबासमा समस्या छैन,’ अर्यालले भने, ‘त्यही भएर पर्यटक ढुक्कले बस्न चाहेका छन्। हामीले पनि उनीहरुलाई जवरजस्ती पठाउन सकेनौ। किनकी काठमाडौंदेखि उनीहरुलाई आफ्नो मुलुक पुग्न झनै समस्या छ।’ नेपालमा तत्कालै कोरोनाले महामारीको रुप नदेखाएकोले पनि पर्यटक फर्किन नमानेको हुनसक्ने उनले बताए। ‘ती पाहुनालाई आफ्नै मुलुक फर्किन पनि त्रास छ। बाटोमा यात्राको क्रममा संक्रमण फैलिने डर छ,’ उनले भने, ‘नेपालमा रहँदा सुरक्षित भइने भनेर उनीहरु यतै रोकिएका हुनसक्छन्।’

शनिबार पोखराबाट बस र हवाई जहाजमार्फत पठाउँदा पनि यहाँका होटलमा बसेका केही पाहुना स्वदेश फिर्न नचाहेको व्यावसायीले बताएका छन्। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार पोखराका होटलमा करिब दुई सय विदेशी पाहुना रहेको अनुमान छ। ती पर्यटकले पनि स्वदेश फर्किन भन्दा पोखरामै बस्न सुरक्षित ठानेको उनले बताए। ‘केही पर्यटकसँग मेरो पनि भेट भयो। उनीहरु स्वदेश फर्किदा भन्दा नेपालमै रहँदा सुरक्षित ठानेका छन्। अहिलेसम्म नेपालमा उत्तिसारो त्रास नरहेको पर्यटकले बताएका छन्,’ तुलाचनले भने, ‘हामीले पनि पाहुना बसेका होटललाई सेवा दिन भनेका छौ। पाहुनाले नियमित सेवा पाएका छन्।’

पोखरामा बस्न चाहेका पाहुनाका परिवारका सदस्यले समेत आफन्तलाई स्वदेश नफर्किन अनुरोध गरिरहेको अध्यक्ष तुलाचनले बताए। ‘भिषा अवधि हुनेलाई त समस्या छैन। भिषा सकिनेलाई पनि अप्ठेरो छैन,’ उनले भने, ‘होटलमा बसेका पाहुना बाहिर हिडडुल गर्न नपाएपनि होटलमै बसिरकेका छन्।’ विभिन्न पदयात्रामा रहेका पर्यटक बल्ल फर्किने बेला भएकोले अझै पनि पर्यटक थपिने सम्भावना रहेको उनले बताए। पदयात्रा पनि बन्द भएकोले पर्यटक पोखरा झर्ने क्रम रहेको उनले बताए।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष हरि भुजेलले पनि होटलमा बसेका पाहुना अझै केहीदिनका लागि पोखरा बस्न चाहेको बताए। ‘व्यक्तिगत रुपमा घुम्न आएका पाहुना स्वदेश फर्किन नचाहेका हुन्। उनीहरु पोखराका विभिन्न होटलमा बसेका छन,’ भूजेलले भने। यतिबेला पोखराका होटलमा बस्ने पाहुना समुहमा भित्रिएको नभई व्यक्तिगत रुपमा आएका बढी छन्।

व्यक्तिगत खर्च सकिएका पर्यटक मात्र छिटोगरि स्वदेश फर्किन चाहेपनि केही पाहुनाले भने पोखरामै अडिने बताएको भूजेलले जानकारी दिए। ‘हवाई उडानको झन्झट रहेको र यात्राको क्रममा संक्रमण बढ्न सक्ने भनेर कतिपय पर्यटक त्रसित पनि छन्,’ भूजेलले भने, ‘कतिपय मुलुकले त आफ्ना नागरिकका लागि जहाज नै चार्टर गरे। तर सबै मुलुकले त्यसो गरेका छैनन्। कतिपय पर्यटकले अहिलेसम्मका लागि आफ्नो मुलुक भन्दा नेपाल नै सुरक्षित ठानेका पनि छन्।’

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी पनि यतिबेला भिसा अवधि सकिएका विदेशीलाई नेपालमा बस्दा कुनै अप्ठेरो छैन। भिसा अवधि सकिएपनि यो संकट टरेपछि उनीहरुको भिसा स्वतः नवीकरण हुने तिवारीले बताए। ‘यो बेला भिसाा सकिएर नेपालमा बस्न पनि पर्यटकलाई समस्या छैन। त्यही भएर पनि कतिपय मुलुकका पाहुना स्वदेश फर्किन नचाहेका हुनसक्छन,’ तिवारीले भने।

 

प्रकाशित: १५ चैत्र २०७६ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App